बीउ बजार व्यवस्थित नहुँदा समस्या

यो समाचार 180 पटक पढिएको

काठमाडौं, इलाम, ११ चैत/ नेपालमा बीउ बजार व्यवस्थित नहुँदा कृषि व्यवसायीकरणमा समस्या भएको बीउ उत्पादकहरुले आरोप लगाएका छन् । कृषि उत्पादन अभिवृद्धि गर्न गुणस्तरीय बीउबिजनको मुख्य भूमिका रहने भन्दै उनीहरुले राज्यले आफैं बीउ उत्पादन नगर्ने अनि निजी क्षेत्रलाई पनि प्रोत्साहन गर्नुको साटो उल्टै घाँटी निमोठ्ने काम गरेको आरोप लगाए ।


seedबीउ व्यवसायी संघ (सीयान) को साधारणसभाका सहभागीले सरकारी कदमबाट आफूहरु हतोत्साहित भएको बताए । सरकार र राजनीतिक दलहरु जवाफदेही नभएका कारण बीउ व्यवसायले गति नलिएको सीयानका महासचिव दुर्गा भण्डारीले बताए । प्रोत्साहन गर्ने सरकारी नीति तथा कार्यक्रम नभएका कारण बीउ उत्पादनमा ठूलो लगानी नभएको र भएका लगानीकर्ता पनि पलायनको मानसिकतामा रहेको उनको भनाइ छ । “बिजबिजनको बजार व्यवस्थित नगरेर कृषि व्यवसायीकरण सम्भव छैन । तर, सरकारी अधिकारीहरुलाई वास्ता नै छैन,” भण्डारीले भने, “सरकारले नै हामीलाई निराश बनाएको छ, अझै पनि केही नभए बीउ उत्पादन क्षेत्रबाट बाहिरिन बाध्य हुनुपर्ने अवस्था छ ।”

 
नेपालमा वार्षिक ३ अर्बबराबरको बीउबिजन कारोबार हुन्छ भने कुल कारोबारको एकतिहाइ बीउबिजन आयात गर्नुपर्ने अवस्था छ । बीउबिजनको कारोबारमा साना एग्रो भेटदेखि ठूला उद्योगसम्म गरी ३ हजारभन्दा बढी कम्पनी तथा फर्म संलग्न छन् । पछिल्लो समयमा सरकारीभन्दा एग्रोभेटको सल्लाहअनुसार कृषकले खेतीपाती गर्ने भएकाले सरकारले निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपर्ने व्यवसायीको भनाइ छ ।
नेपाल विश्व व्यापार संगठनको सदस्य भएको सन्दर्भमा विश्वव्यापीकरणको मान्यताअनुसार बीउ बजारलाई खुला छाड्नुपर्ने सीयानका महासचिव भण्डारीको भनाइ छ । “आयातीत बीउमा आधारित भएर नेपालमा पछिल्लो समयमा बेमौसमी तरकारीखेती फस्टाएको छ,” उनले भने, “बरु सरकारले क्वारेन्टाइनमा कडाइ गरोस्, बीउको आयात–निर्यात वातावरण सहज बनाउन जरुरी छ ।”

 
बीउ व्यवसायीका चुनौती

  • बीउको जातीय विकासमा ठूलो लगानी लाग्ने
  • खुला सिमानाका कारण अनधिकृत बीउ भित्रिने क्रम बढ्दो ।
  • बीउको जातीय गुणस्तर खस्किँदै जानु
  • व्यवसायप्रति आकर्षण छैन
  • उत्पादन, प्रशोधन र मूल्य अभिवृद्धिमा ब्याज बढी छ
  • ऋण लगानी भएन
  • ठूलो मात्रामा उत्पादन छैन
  • सानो बजार, बहुर्राष्ट्रिय कम्पनीसँग प्रतिस्पर्धा गर्नुपर्ने बाध्यता
  • सरकारी अनुसन्धान निजी क्षेत्रमैत्री नहुनु
  • अनुसन्धान कृषकको मागमा आधारित नहुनु

रचनात्मक प्रतिक्रिया दिनुहोस् :