विषादीमा विषालु खेल

यो समाचार 197 पटक पढिएको

तोयानाथ भट्टराई

इलाम, ११ चैत/ चिया, तरकारी, अलैंची, अदुवा तथा दुग्धजन्य उद्योगमा नाम कमाएको इलाम विषादीको अत्यधिक प्रयोगले पीडित हुन थालेको छ । इलाममा १३ सयभन्दा बढी विषादी प्रयोगमा छन् ।यीमध्ये ‘कार्सिनोजेनिक’ असर उत्पन्न गर्ने १५ किसिमका विषादी अत्यधिक प्रयोगमा छन् । यिनै विषादीका कारण इलाममा क्यान्सरबाट मर्ने र आत्महत्या गर्नेको संख्या बढ्दै गएको छ ।


pestiside 1पञ्चकन्या–२ का लावण्य सुब्बा (लाप्चा)लाई ४५ वर्षको उमेरमा लिभर क्यान्सर भयो । वैशाख ०६९ मा काठमाडौंको ओम अस्पतालले रोगको पहिचान गरेको ६ महिनामै उनको मृत्यु भयो । “उनलाई खान मन नलाग्ने, हातखुट्टा गल्ने समस्या थियो । त्यो विषादीबाट हुने लक्षण रहेछ । रोगको पहिचान हुँदासम्म अवस्था गम्भीर भइसकेको थियो । २५ लाख रुपैयाँ खर्च भयो । बचाउन सकिएन,” सुब्बाका परिवार भन्छन् ।
कन्याम–८ का केशव पौड्याल र कन्याम–९ की होमकुमारी कटुवाल पनि क्यान्सर रोगले बिते । पौडेललाई बोनम्यारो क्यान्सर र कटुवाललाई स्तन क्यान्सर भएको थियो । आइतबारेका मदन दास क्यान्सर रोग पहिचान भएको २ महिना पनि बाँच्न पाएनन् । लुगा सिउने पेसा गर्ने दासले उपचार गराउन सकेनन् । पञ्चकन्या—१ की कुमारी राई, पञ्चकन्या–३ की दिलमाया राई र पञ्चकन्या तीनघरे बजारका व्यापारी विष्णु प्रधान पनि क्यान्सरकै कारणले यसै वर्ष मरे ।
जिल्ला जनस्वाथ्य कार्यालय इलामका अनुसार ०६९/०७० मा इलामका २६ जनालाई क्यान्सर रोग देखियो । यो वर्षको साउनदेखि पुस २२ गतेसम्म थप १८ जनामा क्यान्सर देखिएको छ । पञ्चकन्या–४ की विष्णु भण्डारी क्यान्सरको उपचार गराइरहेकी छन् । धनबहादुर आचार्य ३ वर्षदेखि मुखको क्यान्सरले थलिएका छन् । “भरतपुर क्यान्सर अस्पतालमा ६ महिना उपचार गराउँदा ५ लाख सकियो । वर्षको ५० हजारको ओखती लाग्छ । अब त झिटी पनि सकियो, जीवन पनि सकिन लाग्योे,” आचार्यले दुखेसो गरे ।
इलामको कन्याम, पञ्चकन्या, फिक्कल र वरपरका गाउँमा क्यान्सरका रोगी बढ्ने क्रम रहेको इलाम जनस्वास्थ केन्द्रको तथ्यांकले देखाएको छ । विषादीका कारण बोनम्यारोमा क्यान्सर, स्तन क्यान्सर, ब्रेन ट्यूमर, छालाको क्यान्सर, ओठको क्यान्सर, श्वास नलीको क्यान्सर, पेटको क्यान्सर, मुत्रनलीको क्यान्सर आदि हुन्छ । विषादीको प्रभावले मृगौला र मुटुमा पनि खतरनाक रोग लाग्छ । गत वर्ष इलाममा मृगौलाका २१, मुटुका २३ र बोन म्यारोका १ रोगी थिए । यस वर्षको ६ महिनाभित्रै मृगौलाका ६, मुटुका ७ र ब्रेन ट्युमरका १ थपिएका छन् । खासगरी डीडीटी, मेन्कोजेब, क्याप्टान, पाइरेथ्रिन, फर्मलडिहाइड, ट्राइक्लोरफानलगायत विषादीलाई विज्ञहरुले क्यान्सरको कारक मानेका छन् ।
आत्महत्या पनि
०७० भदौ ७ गते इलामको चिसापानी–७ का पुष्पलाल दर्नालले चियाको बोटमा छर्कने सुपरकिलर विषादी सेवन गरेर आत्महत्या गरे । यस वर्ष इलाममा विषादी सेवन गरेर आत्महत्या गर्नेको संख्या ८ पुगिसकेको छ । आत्महत्या गर्नेका लागि तरकारी र चियामा प्रयोग हुने विषादी सजिलो उपाय बनेको जिल्ला प्रहरी कार्यालयको विश्लेषण छ ।  भदौ १५ गते महमाई–५की पवित्रा मगर (३३ वर्ष) ले इन्डोसील पिएर आत्महत्या गरिन् । चुलाचुली–१ का चन्द्रबहादुर राईले रोफोरीन विषादी खाएर आत्महत्या गरे । गत वर्ष विषादी सेवन गरेर आत्महत्या गर्ने ८ जना थिए । त्योभन्दा अघिल्लो वर्ष ७ जना । प्रहरीको रेकर्डमा आत्महत्या गर्नेले प्रतिबन्धित मेटासीड, थायोडिन र अन्य विषादी सेवन गरेको उल्लेख छ ।

 

 

विषको भण्डार
कृषि मन्त्रालय बाली संरक्षण निर्देशनालयका कार्यक्रम निर्देशक डिल्लीराम शर्माले ०७० मंसिर १८ मा विज्ञप्ति जारी गरेर नेपालमा १५ वटा प्रतिबन्धित विषादी प्रयोग भएकोमा चिन्ता प्रकट गरेका छन् । विज्ञप्ति अनुसार नेपालमा मनोक्रोटोफस, मिथायल पाराथियन, इन्डोसल्फाइन, मेटासीडलगायत १५ वटा प्रतिबन्धित छन् । तर, प्रयोगमा देखिएका छन् । “यो खतरनाक विषादी ठूलो मात्रामा रहेकाले २ वर्षभित्र भण्डार खाली गर्न व्यापारीलाई समय दिइएको छ । देशभर आयातीतमध्ये ८५ प्रतिशत बढी विषादी तरकारी बालीमा मात्र प्रयोग भएको छ,” शर्मा भन्छन् । निर्देशक शर्माका अनुसार गत वर्ष ३ सय ४५ मेट्रिक टन विषादी नेपाल भित्रियो । यसमा कीटनाशक, रोगनाशक, झारनासक  र अन्य विषादी पर्छन् ।

 

 

चियाबारीमा मनपरी विषादी
त्रिवेणी ग्रुप अफ कम्पनीले इलाम चिया विकास निगमअन्तर्गतका चिलिमकोट, कन्याम र इलाममा रहेका ३ वटा बगान सञ्चालन गरेको छ । यी चियाबगान शक्तिशाली व्यापारिक घराना सांघाइ परिवारले चलाएको हो । “चियाबारीमा झार मार्ने विषादीको प्रयोग गरिन्छ । स्थानीयले बगानको मुहानबाट खानेपानी लगेको हुनाले त्यसको असर देखिएको गुनासो आएको छ । अहिले पानीको मुहान नजिक विषादी छरिएको छैन,” चिलिमकोट चिया बगानका प्रबन्धक कमल सेखावत भन्छन् ।
यो बगानमा ‘२–४ डी’ नामक झार मार्ने विषादीको प्रयोग हुने गरेको छ । इलामका निजी चिया बगानमा पनि यही विषादी प्रयोग गर्ने गरेको पाइन्छ । फिक्कल–६ का लक्ष्मण प्रधानका अनुसार चिया कृषकले वर्षमा एकपटक झार मार्ने विषादीको प्रयोग गर्ने गरेका छन् । यी विषादी प्रतिबन्धित हैनन्, तर क्यान्सर रोगको कारक हुन् ।
दानाबारीको चिलिमकोट चिया कमानमा अत्यधिक विषादी प्रयोग गरेका कारण स्थानीय हात खुट्टामा खटिरा आउने र छाला चिलाउने रोगले ग्रस्त छन् । खासगरी दानाबारीको १,२,५ र ७ नम्बर वडामा यो समस्या छ । स्थानीय शिक्षक गोपाल घिमिरेका अनुसार दानाबारीको पानीमा विषादीको रासायनिक गन्ध आउँछ ।
झार मार्ने विषादीले छाला चिलाउने रोग र विभिन्न प्रकारको खटिरा र क्यान्सरसमेत उत्पन्न गराउँछ । अमेरिकाको मिसौरी विश्वविद्यालयको अध्ययन अनुसार झार मार्ने विषादीले  प्रोस्टेट क्यान्सर, घाँटीको क्यान्सर, स्नायु प्रणालीमा घाउ हुने र बालबालिकाको रगतमा नराम्रो असर उत्पन्न गर्छ । “हाम्रा विद्यार्थी संकटमा छन् । पटकपटक अनुरोध गर्दा पनि उद्योगले टेरेन । सीडीओ र एलडीओेलाई गुहार लगायौं, तर सुनिदिएनन्,” शिक्षक गोपाल घिमिरेले भने ।

 

 

विषादीबाट हुने असर
रासायनिक विषादीले शत्रुजीवलाई मात्र होइन, प्राकृतिक सन्तुलन ल्याउने मित्रजीव, परागसेचन गर्ने मौरी, पुतली, रेशम कीरा, खपटे कीरा, कुमालकोटी, माकुरा, चराचुरुंगी, गड्यौला, माछा, भ्यागुता, सर्प, छेपारोलगायत परजीवी कीरा, शिकारी कीरा र शिकारी सुलसुले आदिको पनि विनाश गर्छ । यसले मानिस र पशुपन्छीको स्वास्थ्यमा हानी गर्छ । जैविक स्रोतको क्षय गरी आनुवांशिक ह्रास गराउँछ । नदी–नाला, भूमिगत जल भण्डार, वायु र माटो प्रदुषण गर्छ । शत्रु जीवमा प्रतिरोधात्मक शक्तिको विकास गरेर फैलन मद्दत गर्छ ।

 

 

फलतः हानिकारक जीवको संख्या बढ्छ । प्रयोग भएका विषादी अन्ततः माटो र पानीमा नै जाने हुँदा प्रांगारिक पदार्थलाई सडाउने माटोमा उपलब्ध मित्रजीवलाई नष्ट गरिदिन्छ । माटो खुकुलो पार्ने आदि जीवाणुको काम निष्क्रिय हुन गई माटोको उर्वराशक्ति घटाइदिन्छ । विषादीको प्रभावबाट भारतमा ७६ हजार मानिसको मृत्यु भइसकेको सन् २००७ मा विश्व स्वास्थ्य संघले गरेको एक सर्वेक्षण प्रतिवेदनमा उल्लेख छ । बाली संरक्षण निर्देशनालयले जनाएअनुसार नेपालमा १ सय २१ प्रकारका विषादी दर्ता भई प्रयोगमा आएका छन् । व्यापारिक नाममा १३३१ विषादी बेचिन्छन् । नेपालमा आउने विषादीमध्ये ९० प्रतिशत अंश भारतबाट आयात गरिन्छ ।

(यो रिपोर्ट भट्टराईले खोज पत्रकारिता केन्द्रका लागि तयार पारेका हुन् ।)

रचनात्मक प्रतिक्रिया दिनुहोस् :