रोजगारीको प्रमुख आधार बन्दै डेरी उद्योग

यो समाचार 235 पटक पढिएको

  • दुग्ध उत्पादनमा १५ अर्बको लगानी
  • उद्योगमा मात्र १५ हजारको प्रत्यक्ष रोजगारी
  • साढे ४ लाख कृषकको प्रत्यक्ष आम्दानीका स्रोत

सञ्जय थापा
काठमाडौं, १० चैत / दैनिक सहरबाट पैसा गाउँ जाने क्षेत्रको रुपमा लिइन्छ दुग्ध उत्पादनको क्षेत्र । कृषकले दुध वेचेर तत्काल आम्दानी गर्न सक्ने र गरिरहेको यो क्षेत्रमा पछिल्लो समयमा लगानी वृद्धि भएको छ भने रोजगारीको समेत प्रमुख आधारको रुपमाा समेत दुग्ध क्षेत्र विकासित हुन थालेको छ ।
Milk IndustriesNewsagrocomदुग्ध उद्योगमा मात्र करिव १५ अर्वको प्रत्यक्ष लगानी रहेको डेरी एसोसिएसनको तथ्यांक छ । दुध उत्पादन, प्रशोधनल र वितरण लगाएतको क्षेत्रमा मात्र देशभर करिब १५ हजार नेपालीले प्रत्यक्ष रोजगारी पाएको एसोसिएसनका अध्यक्ष मेघराज भण्डारी बताए । प्रति परिवार ४ जनाले मात्र हिसाब गर्दा पनि दुग्ध उत्पादनको क्षेत्रसँग मात्र प्रत्यक्ष अप्रत्यक्ष रुपमा ६० हजारको रोजिरोटीसँग सम्बन्धित छ यो क्षेत्र ।

 
माथिको तथ्य त उद्योगसँग सम्बन्धीत तथ्यांक मात्र हो । यसका अलावा कृषकहरुको रोजगारीको समेत दुग्ध क्षेत्र आधार बन्दै गएको छ । साढे ४ लाख कृषकहरु दुग्ध उत्पादनको क्षेत्रमा संलग्न रहेको तथ्यांक केन्द्रीय दुग्ध सहकारी संघको छ । यो तथ्यांक अनुसारका कृषकहरुले दैनिक रुपमा दुध वेचेर प्रत्यक्ष आम्दानी गरिरहेका छन् । यद्यपी कति कृषक दुधलाई आम्दानीको पहिलो आधार मानेका छन् र कतिले सहायक भन्ने भने थप अनुसन्धानको विषय बनेको छ ।

 
संघका अनुसार देशभर दुग्ध उत्पादनसँग सम्बन्धीत सहकारीको संख्या मात्र १ हजार ८ सय छन् । यसकारण पनि दुग्ध उत्पादन देखि बजारीकरणसम्म हेर्नेहो भने लाखौंको रोजगारी र करोडौंको कारोबार गर्ने क्षेत्रको रुपमा डेरी उद्योग स्थापित भएको छ । पछिल्लो समयमा विदेश गएर फर्कने नेपालीहरु समेत गाई र भैसी पालन गरेर दुग्ध उत्पादनसँग जोडिन थालेका छन् । सरकारले उचित नीति तथा कार्यक्रम तय गरेमा अझै लाखौं युवा रोजगारीको लागि समेत दुग्ध उत्पादनको क्षेत्र बन्न सक्ने देखिन्छ ।

 
दैनिक ५ लाख लिटर त तरल दुध मात्र खपत हुन्छ नेपालमा । यसका अलावा आइसक्रिम, खुवा, पेडा लगाएतका अन्य दुग्ध पदार्थ समेतको उत्पादन पछि बढ्दै गइरहेको छ । मानिसको दुध र दुग्ध्जन्य पदार्थ उपभोग गर्ने बानीमा परिवर्तन भएका कारण दुधको खपत वर्षेनी बढ्दै गएको राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक बाबुकाजी पन्त बताउँछन् । “वर्षेनी दुग्ध उत्पादन बढेको छ तर उपभोग पनि बढेकाले अझै पनि नेपालका लागि थप उत्पादन आवश्यक छ,” उनले भने ।

 
दुध स्वास्थ्यको लागि समेत त्यत्तिकै महत्वपूर्ण वस्तु हो । संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन (एफएओ) को सर्बेक्षण अनुसार प्रत्यक व्यक्तिले बर्षमा १४६ के .जी दुध उपभोग गर्नुपर्ने देखाएको छ । तर नेपालमा प्रतिव्यत्ति ५० के .जी उपलब्ध छ । यसअर्थ नेपालमा थप दुग्ध उत्पादन तथा उपभोगको खाँचो छ । सरकारले आवश्यक सहयोग गरेमा आवश्यक दुग्ध उत्पादन नेपालमै सम्भव रहेको दुग्ध उत्पादक कृषकहरुको भनाइ छ । “यहाँ उत्पादनको प्रसस्त सम्भावना छ, सरकारले थोरै मात्र प्रोत्साहन गरे हामी यहाँ खपत हुने मात्र नभइ निर्यातसम्म गर्ने दुध उत्पादन गर्न सक्षम छौं,” अग्रज दुग्ध उत्पादक कृषक माधव कोइरालाले भने ।

 
दुग्ध उत्पादनमा सम्भावनासँग चुनौति पनि प्रसस्त छन् । खासगरी दुधको गुणस्तर, बजारीकरण र उत्पादन लागत ्जस्ता विषयसँग जोडिएर समस्याहरु वेलाबेलामा बाहिर आँछछन् । कृषकलाई सहुलियत ऋण, घाँस उत्पादन तथा पशु खरिदमा सहुलियत, बीमाको व्यवस्था, उपकरण खरिदमा सहुलियत, कृषकलाई आवश्यक तालिम, दक्ष प्राविधिकको उपलब्धताजस्ता विषयमा सरकारले ठोस कदम अगाडी बढाउन कृषक तथा दुग्ध उद्योगीले अनुरोध गर्दै आएका छन् । समस्याहरुमध्येको दुधको मूल्य निर्धारणको विषयसमेत वर्षेनी विवादमा पर्ने गर्छ ।
उत्पादन लागत अनुसारको मूल्य नपाएपछि कृषकहरु आन्दोलनमा उत्रिएपछि सरकारले हालै मात्र दुधको मूल्यमा वृद्धि समेत गरेको छ । तर दुधको मूल्य निर्धारणको लागि वैज्ञानिक आधार तय गर्नुपर्ने र दुधको मूल्य दुग्ध विकास संस्थानले कलौटी रुपमा निर्णय गरेर मात्र बढाइरहेकोमा नीजि डेरी, कृषक र उपभोक्ता समेतको प्रतिनिधित्व हुने गरी मूल्य वृद्धि गर्ने छुट्टै निकायको समेत माग गरिएको छ । (प्रशिक्षार्थी)

रचनात्मक प्रतिक्रिया दिनुहोस् :