कृषिजन्य वस्तु निर्यातमा फड्कोे

This post has already been read 223 times!

गतवर्ष पौने २१ अर्बको निर्यात

  • जानकी ज्ञवाली

काठमाडौं, ११ चैत/  सरकारले कृषिजन्य वस्तु आयातलाई प्रतिस्थापन गर्न नसकिए पनि निर्यातमा भने निकै नै सुधार भएको देखिएको छ । गतवर्ष मात्र २० अर्व ७५ करोड रुपयाँ बराबरको कृषि जन्य उत्पादन विभिन्न देशमा निर्यात भएको छ । यो अघिल्लो वर्षको तुलनामा दोब्बर हो भने पछिल्ला केही वर्षयताा कृषि वस्तु निर्यातको दर हेर्दा वर्षेनी दोब्बरले वृद्धि हुँदै आएको पाइएको छ ।

ginger 2 Newsagrocom

आव ०६८/६९ मा ११ अर्ब ९५ करोड मूल्य बराबरको वस्तु निर्यात भएकोमा गतवर्ष यसको दोब्बरले वृद्धि हुनु आफैमा सकारात्मक छ । त्यति मात्र होइन विगत चार वर्षयताको तथ्यांक हेर्दा नेपालबाट निर्यात हुने कृषिजन्य वस्तु हरेक वर्ष वृद्धि हुँदै आएको तथ्यांक छ । नेपालबाट मुख्यगरी कफी, चिया, अलैची, अदुवा बढी निर्यात हुन्छन् भने घ्यु, दालजन्य उत्पादन, गहुँ, मकै, ताजा तरकारी, सुकेको च्याउलगायत पनि निर्यात हुन्छन् ।

 

 

नेपालबाट कफी निर्यात हुने देशहरुमा जापान, कोरिया, नेदरल्यान्ड, हङकङ, अमेरिका, जर्मनी, फ्रान्स, रुसलगायत छन् । खासगरी चिया, कफी, अदुवा, अलैची लगाएतका वस्तु अत्यधिक रुपमा निर्यात हुने गरेको कृषि विकास मन्त्रालय तथा वाणिज्य मन्त्रालय अन्तर्गतको व्यापार प्रवर्धन तथा निकासी केन्द्रको तथ्यांक छ । गतवर्ष मात्र भारत, भुटान, चीन, नेदरल्यान्ड, इन्डोनेसिया, रुसलगायत १५ देशमा मात्र करिब २ अर्ब मूल्यबराबरको तयारी चिया निर्यात भएको छ ।
केन्द्रका अनुसार गत वर्ष साढे ६ अर्ब मूल्यबराबरको तयारी खाद्य वस्तु तथा सुर्तीजन्य उत्पादन निर्यात गरिएको छ । यो अघिल्लो वर्षभन्दा १ अर्बले बढी हो । सुन्तला, स्याउ, जुनारलगायतका फलफूल तथा जुस, तयारी सुर्ती, आलु चिप्स, चिनीलगायत वस्तु निर्यात गरिएको छ । भारत, चीन, जापान, भुटान, मलेसिया, सिंगापुर, अमेरिका, बेलायत, हङकङलगायत मुलुकमा कुनै न कुनै मात्रामा यस्ता वस्तु निर्यात गरिँदै आएको छ । गत वर्ष जिउँदो पशु र पशुजन्य उत्पादनमात्र साढे १ अर्बको र तेलजन्य उत्पादन १५ करोडबराबरको निर्यात भएको छ ।

 

 

विगतमा कृषिउपज निर्यातको वृद्धि प्रतिवर्ष ५० करोडदेखि बढीमा २ अर्बसम्म रुपैयाँ हुने गरेको केन्द्रले जनाएको छ । गत वर्ष भने अघिल्लो वर्षको तुलनामा करिब १० अर्ब बढीको निर्यात भएको छ । डलरको मूल्य बढ्नु, सरकारले निर्यातलाई प्रोत्साहन गर्नु, कृषिउपज उत्पादन बढ्नु, निर्यातयोग्य मूल्य बढ्नुलगायत कारणले निर्यातमा सुधार देखिएको विज्ञ बताउँछन् ।

 
प्रधानमन्त्री सुशील कोइरालाका आर्थिक सल्लाहकार डा. चीरञ्जीवी नेपालले  चिया, कफी, अदुवा, मसुरो, फलफूलजस्ता उत्पादन निर्यातको पर्याप्त सम्भावना रहेको बताए । “यी वस्तुको मात्र होइन, खाडी मुलुकतिर फलफूलको समेत निकै माग छ,” उनले भने, “कतिपय वस्तुको उत्पादनमा वृद्धि हुनु, वस्तुको मूल्य बढ्नु र डलर बढ्नुले पनि निर्यात बढेको देखिएको छ ।” निर्यात बढे पनि आयातमा कमी नहुनुले व्यापार घाटा बेहोर्नुपरेको उनले बताए ।

(प्रशिक्षार्थी)

 

विगत ४ वर्षमा कृषि वस्तु निर्यातको अवस्था

निर्यात वर्ष                         आव ०६६/६७                आव ०६७/६८                 आव ०६८/६९               आव ०६९/७०

निर्यात परिमाण (रु.मा)    ९,८८०,५६६,८२९           ११,३०४८६६२३५             ११९४४४०९६७०            २०७४५४६८४५०

स्रोतः व्यापार प्रवद्र्धन तथा निकासी केन्द्र

 

आव ०६९/७० मा कृषि वस्तु निर्यातको अवस्था

कृषि वस्तु                                                                    मात्रा (रु.मा)

जिउँदो पशु, पशुजन्य उत्पादन                                  १५१८५२४३९९
तरकारीजन्य वस्तु                                                     १२४७५४९३००३
तेलजन्य उत्पादन                                                       १५६४६८०४७
तयारी खाद्य वस्तु तथा सुर्तीजन्य                           ६५९५९८३००१
जम्मा                                                                          २०७४५४६८४५०

स्रोतः कृषि विकास मन्त्रालय