डिडिसीले दूधको उपभोक्ता मूल्य बढायो

यो समाचार 176 पटक पढिएको

काठमाडौं, २८ फागुन । दुग्ध विकास संस्थान(डिडिसी) ले उपभोक्ताको ढाड सेक्ने गरी दूधको मूल्यमा बृद्धि गरेको छ । उपभोक्ताको ढाड सुके पनि डिडिसीलाई नाफा हुने दावी गर्दै मूल्य बढाइएको हो । डिडिसीले बुधबारदेखि लागु हुने गरी निलो प्याकेट भएको स्टाण्डर्ड दूधमा प्रति लिटर छ र हरियो प्याकेट भएको क्रिम दूधमा आठ रुपैयां बृद्धि गरेको छ ।

धरासायी बन्दै गरेको संस्थानलाई जोखिमबाट बचाउन उपभोक्ता मूल्यमा बृद्धि गरिएको डिडिसीले दावी गरेको छ । “संस्थानलाई जोखिमबाट बचाउन उपभोक्ता मूल्यमा बृद्धि गर्ने निर्णय गरिएको हो,” डिडिसीका प्रवक्ता गिरिधर बज्राचार्यले भने, “उपभोक्ताको मूल्यमा बृद्धि नगरेर बजारको स्थलगत अध्ययन गरेर सरकारले निर्णय गरेपछि उपभोक्ता मूल्य बढाइएको हो । अहिले बृद्धि भएको मूल्यबाट किसानले पनि पर्याप्त लागत मूल्य पाउने भएका छन् ।” प्रवक्ता वज्राचार्यकाअनुसार प्रति लिटरमा किसानले ६९ प्रतिशत रुपैयां र बाँंकी डिडिसीले पाउने छ ।

उनका अनुसार ५० रुपैयांमा उपलब्ध हुँंदै आएको प्रति लिटर स्टाण्डर्ड दूधको अहिले उपभोक्ता मूल्य ५६ रुपैयां कायम गरिएको छ । यसैगरी ६० रुपैयांमा बिक्रि हुंदै आएको प्रति लिटर क्रिम दूधको ६८ रुपैयां कायम गरिएको छ ।

दूधको बजार मूल्य समायोजन गर्ने सम्बन्धी एक महिना अघि राष्ट्रिय दुग्ध विकास बोर्डले पांच विकास क्षेत्रका शहरी क्षेत्रको स्थलगत निरिक्षण गरेर कृषि विकास मन्त्रालयलाई प्रतिवेदन बुझाएको थियो । सोही प्रतिवेदनको आधारमा मन्त्रालयले मंगलबार मूल्य बृद्धि गर्ने निर्णय गरेको थियो ।

सरकारी स्वामित्वको डिडिसीले मूल्य बढाएपछि निजी डेरी उद्योगहरुले पनि बढाउने तयारी गरेका छन् । निजी डेरी उद्योग संघका अध्यक्ष एवं काठमाण्डौ डेरीका सञ्चालक प्रदीप महर्जनले निजी डेरीले पनि विहिबार बाट डिडिसीकै सरह मूल्यवृद्धि गर्ने बताए ।

नीजि क्षेत्रकै नेपाल डेरी एशोसिएसनले पनि सोहीदिनदेखि दूधको मूल्यमा बृद्धि गर्ने निर्णय गरेको छ । एशोसिएसनका महासचिब प्रहलाद दाहालका अनुसार प्रति लिटर साधारण दूध(निलो प्याकेट) को ५६ रुपैयाँं कायम गर्ने निर्णय गरिएको छ । एशोसिएसनले पनिर, घिउ, चिजजस्ता दूग्धजन्य पदार्थको मूल्यमा पनि बृद्धि गर्नुपर्ने माग गरेका छन् ।

दूधको लागत मूल्यअनुसार मुनाफा नपाएकोमा दूग्ध उत्पादक किसानहरुले आन्दोलन गरेका थिए । उनीहरुले माघ १९ गते तत्कालीन मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीलाई ज्ञापनपत्र बुझाएपनि सुनुवाइ भएको थिएन । तर सुशील कोइराला नेतृत्वको सरकारले किसानको गुनासो सुनुवाइ गर्ने वाचा गरेपछि उनीहरुले आन्दोलन रोकेका थिए । अहिले सरकारी वाचाअनुसार नै मूल्यवृद्धि भएको मन्त्रिपरिषद् कार्यालयका सचिव कृष्णहरि बास्कोटाले बताएका छन् ।

केन्द्रिय दुग्ध सहकारी संघका अध्यक्ष बाबुराम अधिकारीका अनुसार बृद्धि भएको मूल्यबाट किसानलाई केही राहत भएपनि उपभोक्तालाई भने चर्को महंगीको मार परेको छ ।

उपभोक्ता मूल्य प्रति लिटरमा
पहिले अहिले
निलो प्याकेट दूध(स्टाण्डर्ड) ५० रुपैयां ५६ रुपैयां
हरियो प्याकेट दूध( क्रिमसहितको) ६० रुपैयां ६८ रुपैयां