पर्वतमा एक करोडको कफी उत्पादन

यो समाचार 194 पटक पढिएको

पर्वत, २८ फागुन । कफी खेतीको बिस्तारसँगै पर्वतमा यस वर्ष १ करोड बराबरको कफी उत्पादन भएको छ । आय आर्जनको प्रमुख बालीको रुपमा लिईने कफीखेतीबाट पर्वतमा यस वर्ष ९० लाखभन्दा बढि भित्रिने भएको हो । विगतका वर्षहरुमा भन्दा यस वर्ष कफीको उत्पादन बढ्नुका साथै विदेशमा समेत राम्रो मूल्य पाएकाले कफीको माग बढेर गएको छ ।

जिल्लाका विभिन्न गाविसबाट उत्पादित कफी विदेशिन थालेसँगै कफीको उत्पादन बढेको छ । कृषकहरुले राम्रो मूल्य समेत पाउन थालेका छन् । गत वर्षमात्रै १७ टन उत्पादन भएको कफीको उत्पादन बढेर यस वर्ष २५ टनसम्म पुग्ने र त्यसबाट जिल्लामा करिब १ करोड रकम भित्रिने जिल्ला कफी सहकारी संघ पर्वतका अध्यक्ष भवानी प्रसाद शर्माले बताए ।

‘गत वर्षको भन्दा २० प्रतिशत उत्पादन बढ्ने अनुमान गरिएको छ,’ उनले भने–‘यस वर्ष अनुकुल मौसम भएकाले उत्पादन बढेको हो । अहिले कफी टिप्ने समय भएको र गत वर्षका भन्दा बढि फल लागेकाले कृषकहरु समेत उत्साहित बनेका छन् ।

अहिले फ्रेस चेरी कफीको मूल्य ५० देखि ६० रुपयाँ रहेको र प्रशोधित कफीको मूल्य भने ३ सय ५० भन्दा माथि भएकाले कृषकहरुले राम्रो आम्दानी गर्ने देखिएको शर्माको भनाई छ । पर्वतमा विगत २ दशकदेखि व्यावसायिक रुपमा कफी खेती हुँदै आएको भएपनि पछिल्लो समयमा कफी खेती गर्ने कृषकहरुको संख्या बढेकाले उत्पादन समेत हरेक वर्ष बढ्दै गएको शर्माको भनाई छ ।

गत वर्ष ४० रुपीयाँमा विक्रि भएको ताजा कफीको मूल्य यस वर्ष बढेर ६० रुपीयाँ पुगेको र प्रशोधित पल्पिङ्ग कफीको २ सयबाट बढेर २ सय ७० सम्म पुगेपछि कृषकहरु उत्साहित भएका छन् ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :