चल्ला समात्ने प्रहरीलाई पैसा खुवाउँदा कुखुरा व्यवसायी हैरान

This post has already been read 187 times!

काठमाण्डौ,  फागुन १६ गते  । भारतीय चल्ला अवैधरुपमा आउँदा नेपाल कुखुरा व्यवसायी मञ्चका पदाधिकारीहरु दोहोरो संकटमा परेका छन् । नियन्त्रण गर्न लगाउँदा प्रहरीलाई प्रोत्साहन रकम दिनुपर्ने, वास्ता नगर्दा आफ्नो व्यवसाय नै चौपट हुने । प्रोत्साहन रकम वितरणमा मञ्चको कोष नै रित्तिन थालेको व्यवसायीहरुको गुनासो छ ।Hachary

नेपाल कुखुरा व्यवसायी मञ्चका कार्यालय सचिव शिवप्रसाद बराल चालु आर्थिक वर्षको अहिलेसम्म १२ लाख रुपैंयाँ चल्ला समात्ने व्यक्तिहरुलाई प्रोत्साहनवापत दिइसकेको बताउँछन् । भारतबाट आयातित अवैध चल्लाको प्रति गोटा ५ रुपैंयाँ दिने गरेको उनी बताउँछन् । हाल नेपालभरिका १ सय २० ह्याचरी मञ्चमा आवद्ध रहेको र प्रत्येक ह्याचरीले प्रति प्यारेन्ट -प्रजननयोग्य भाले र माऊ कुखुरा) तीन रुपैंयाँ संकलन गर्ने गरिएको छ ।

 
मञ्चमा करिब १० लाख वटा प्यारेन्टको गरी करिब ३० लाख रुपैंयाँ संकलन भएको उनी बताउँछन् । तर मञ्चमा वचत सबै रकम चल्ला नियन्त्रणमै खर्च हुने गरेको संस्थागत क्रियाकलाप अवरोध भएको मञ्चका सदस्य एवं नेपाल अण्डा उत्पादक संघका वरिष्ठ सदस्य बलराम सापकोटा बताउँछन् ।

 
नेपालीभन्दा भारतीय चल्ला १५ रुपैंयाँसम्म सस्तोमा उपलव्ध हुने गर्दछ । भारतमा ह्याचरी उद्योगमा विजुली आपूर्ति, चल्लाको समर्थन मूल्य र कृषि अनुदानको कारण लागत घट्न गई चल्ला सस्तो हुने गर्दछ । साथै, भारतीय चल्लामा तापक्रम क्षमता अधिक हुने भएकोले नेपाली किसानको रोजाइमा पनि पर्ने गरेको छ ।

 
नेपालमा प्रचलित कब ५०० जातको चल्ला हो । तर भारतबाट आयात हुने धेरैसजसो कब १०० र कब ४०० छन् । ती चल्लाको उत्पादन लागत र रोग प्रतिरोधात्मक क्षमता बढी हुन्छ । तर बर्डफ्लूजस्ता महामारी प्रसार हुने भएकोले भारतबाट नेपालमा कुखुरा आयात प्रतिवन्ध लगाइएको छ ।

 
अहिले नेपालमा कुखुरा व्यवसायको सञ्चालन सकसपूर्ण भइरहेको छ । विजुली छैन । जेनेरेटरले लागत बढेको छ । जथाभावी औषधि आयात हुँदा रोग तथा महामारी नियन्त्रणमा समस्या आएको छ । एक ठाउँमा कुनै रोग वा महामारी फैलियो भने देशैभरि प्रभाव फैलिन्छ । सरकारले नियन्त्रणको नाममा सद्धे कुखुरा मारिदिन्छ । किसानको उठीबास हुन्छ । तर किसान उद्धार सरकारी प्राथमिकतामा खासै नपरेको गुनासो मञ्चमा आवद्ध कुखुरा उद्यमी एवं नेपाल मीट प्रोसेसिङ इण्डस्टि्रज, नवलपरासीका सञ्चालक बद्री खनाल बताउँछन् ।

 
कुुखुरा उद्यमी खनाल भारतीय चल्ला नियन्त्रणमा सरकारी चासो कम भएको टिप्पणी गर्छन् । त्यही भएर आफ्नो संस्थाले व्ययभार बोकेर भएपनि चल्ला नियन्त्रणमा प्रोत्साहन रकम वितरण नीति ल्याएको उनी बताउँछन् । यो रकमको कारण सुरक्षा निकाय र क्वारेन्टाइन चेकपोष्टका कर्मचारी पनि लोभिएको बताइन्छ ।

 
‘फागुन १३ गते नवलपरासीको महेशपुरमा प्रहरीले राति २ बजे चल्ला समातेर फोन गरे’ मञ्चका कार्यालय सचिव बराल भन्छन् ‘प्रोत्साहन भत्ताको प्रभाव हो यो ।’ गत वर्ष अवैध चल्ला समातेवापत प्रति चल्ला २ रुपैंयाँ दिँदै आएकोमा यो वर्षदेखि ५ रुपैंयाँ बनाइएको उनले बताए ।