इनर्जी ड्रिंक्समा मुटुरोग लगाउने तत्त्व

यो समाचार 294 पटक पढिएको

काठमाडौं,   नेपालमा बिक्री भइरहेका शक्तिवर्द्धक पेय ९इनर्जी ड्रिंक्स० मा मधुमेह, मुटु र मिर्गौलासम्बन्धी रोग लाग्ने तत्त्व अधिक मात्रामा भेटिएको छ।बजारमा बिक्ने प्रमुख १० ब्रान्डका इनर्जी ड्रिंक्सका नमुना संकलन गरी प्रयोगशालामा परीक्षण गर्दा स्वास्थ्यलाई हानि गर्ने तत्त्व अधिक मात्रामा भेटिएको हो। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को सहयोगमा उपभोक्ता हित संरक्षण मञ्चले गरेको अध्ययनले यस्ता पेयमा जनस्वास्थ्यमा गम्भीर असर पार्ने खालका तत्त्व भेटिएको देखाएको छ।Drink

‘हामीले प्रयोगशाला परीक्षण गर्दा इनर्जी ड्रिंक्स कम्पनी आफैंले घोषणा गरेको भन्दा दोब्बर मात्रामा क्याफिन भेटिएको छ’, मञ्चका कोषाध्यक्ष बाबुराम हुमागाईंले भने, ‘सोडिएम कन्टेन्टलगायत शून्य हुनुपर्ने तत्त्व पनि भेटियो’। बजारमा बिक्री भइरहेका इनर्जी ड्रिंक्सको प्रयोगशाला परीक्षणका क्रममा कम्पनीले सम्मिश्रण ९कम्पोजिसन० मा उल्लेख गरेका बाहेकका तत्त्वसमेत भेटिएको हुमागाईंले बताए। उनका अनुसार सम्म्रिश्रणमा उल्लेख गरिएका तत्त्वभन्दा अन्य तत्त्वसमेत भेटिनुले इनर्जी ड्रिंक्स स्वास्थका लागि उपयुक्त छैन।

प्रयोगशाला परीक्षण प्रतिवेदनअनुसार कम्पनीहरूले आफ्नो सम्मिश्रणमा दाबी गरेका र शरीरलाई तागत दिने खालका तत्त्व भने दाबीभन्दा कम पाइएको छ। ‘जुन तत्त्वले शक्ति दिन्छ र शरीरलाई कम हानि गर्छ, त्यस्तो तत्त्वचाहिँ कम छ’, औषधि व्यवस्था विभागको पूर्वनिर्देशकसमेत रहेका उनले भने, ‘जुन तत्त्वले शरीरलाई बढी हानि गर्छ, त्यस्ता तत्त्व उच्च मात्रामा पाइएको छ।’ डब्लूएचओको सहयोगमा मञ्चले प्यासिफिक इन्टरनेसनल नामक निजी कम्पनीको प्रयोगशालामा परीक्षण गरेको हो। यस्ता पेयमा स्वास्थ्यलाई हानि गर्ने तत्त्वको मात्रा रहेको साथै कम्पनीले दाबी गरेअनुसारको शक्तिवद्र्धक तत्त्व नभएको परीक्षणको निष्कर्ष छ।

‘उपभोक्तालाई कम्पनीले स्वास्थ्यमा हानि पुर्‍याउने र दाबी गरे अनुसार तत्त्व नराखी ठूलो रकम असुलेर समेत ठग्ने गरेको देखियो’, हुमागाईंले भने, ‘यस्तो कार्य गर्नेलाई कानुनी कारबाही हुनु जरुरी छ’। डब्लूएचओ नेपालका वातावरण तथा स्वास्थ्य सल्लाहकार टेरेन्स थम्सनले परीक्षणबाट इनर्जी ड्रिंक्समा भेटिएका तत्त्वले मानव स्वास्थ्यमा गम्भीर असर पार्ने बताए। ‘यस्ता तत्त्वले मुटु र मिर्गौलासम्बन्धी रोग एवं मधुमेहसमेत लगाउन सक्छन्’, उनले भने, ‘इनर्जी ड्रिंक्सको सही तरिकाबाट नियमन हुनु जरुरी छ’।

प्रयोगशाला प्रतिवेदनअनुसार यस्ता पेयको एक क्यानमा १५ ग्राम चिनीमा हुनेबराबरको क्यालोरी पाइने देखिएको छ। यसले उपभोक्तालाई कम्पनीहरुले कम शक्तिवद्र्धक वस्तुलाई बढी शक्तिवद्र्धक भन्दै बिक्री गरेको देखाउँछ। मञ्चले प्रयोगशाला परीक्षणसँगै इनर्जी ड्रिंक्सको बिक्री तथा प्रयोगका बारे समेत अध्ययन गरेको छ। यस्तो अध्ययनका क्रममा इनर्जी ड्रिंक्सका क्यानहरूमा कानुनले तोकेअनुसारका विवरण नभएको देखाएको छ। खाद्य ऐन र अन्य नियमहरूले तोकेको परिधिमा रहेर मात्र आयात गर्नुपर्नेमा त्यस्तो नगरिएको अध्ययनको निष्कर्ष छ।

मञ्चले उपत्यकाका दुई सय ग्राहकको अन्तर्वार्ता लिएर गरेको अध्ययनका क्रममा अधिकांश प्रयोगकर्ताले यस्ता पेयमा भएको सम्मिश्रणबारे जानकारी नभई पिउने गरेको बताएका छन्। शिक्षित वर्गले यस्ता पेयको उपभोग बढी गर्ने गरेको देखिए पनि यसले गर्ने हानिका बारे धेरै अनभिज्ञ रहेको पाइएको छ।यसको प्रयोग भने बर्सेनि बढिरहेको अध्ययनले देखाएको छ। व्यापार तथा निकासी केन्द्रका अनुसार गत वर्ष मात्र नेपालमा एक अर्बभन्दा बढीको इनर्जी ड्रिंक्स आयात भएको छ। नेपालमा बर्सेनि यस्ता पेयको आयात र प्रयोग बढिरहेको छ।

‘नियमन आवश्यक’

नेपालमा इनर्जी ड्रिंक्सको आयात र प्रयोग बढिरहेकाले यसलाई कडा निगरानीमा राखेर नियमन गर्न जरुरी रहेको सरोकारवालाले बताएका छन्। उपभोक्ता हित संरक्षण मञ्च र विश्व स्वास्थ्य संगठनले संयुक्त रूपमा बुधबार राजधानीमा गरेको कार्यक्रममा सरोकारवालाले यस्तो धारणा राखेका हुन्। ‘भइरहेका कानुन संशोधन गरेर यस्ता वस्तुको नियमन र निगरानी गर्न जरुरी छ’, कार्यक्रममा कृषिमन्त्री टेकबहादुर थापाले भने, ‘कानुनविपरीत कार्य गर्नेलाई कारबाही गर्न पछि हट्नुहुँदैन।’ उनले नीति बनाउन समय लाग्ने भएकाले अहिले खाद्य एेन परिमार्जन गरेर इनर्जी ड्रिंक्सलाई नियमन गर्नुपर्ने बताए।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी महानिर्देशक जीवनप्रभा लामाले विभागले गैरकानुनी रूपमा आयात भएका इनर्जी ड्रिंक्सलाई कारबाही गरिएको जानकारी दिइन्। यसलाई नियमन गर्न मापदण्ड बनाइने उनले बताइन्। सबै निकायको सहकार्यमा इनर्जी ड्रिंक्सको नियमन गर्नुपर्नेमा उनको जोड थियो। कार्यक्रममा मञ्चका महासचिव ज्योति बानियाँले मानव स्वास्थ्यमा हानि गर्ने इनर्जी ड्रिंक्सलाई तत्काल नियमनको दायरामा ल्याउनुपर्ने बताए।

 अन्नपूर्णबाट

रचनात्मक प्रतिक्रिया दिनुहोस् :