कारभन्दा कृषियन्त्रको व्याजदर दोव्वर महँगो

This post has already been read 213 times!

काठमाडौं, फागुन १६ । उत्पादन बढाउन यान्त्रीकरणमार्फत कृषिको व्यावसायिक करणको बहस चलिरहेको बेला बैंक तथा वित्तीय संस्थाले भने कार, ट्रक र बसको तुलनामा कृषियन्त्रको कर्जामा दोब्बर ब्याज असुल्ने गरेको तथ्य पत्ता लागेको छ ।

Mechanijmnewsagrocom

कम जोखिममा जसरी पनि नाफा कमाउन अग्रसर बैंक तथा वित्तीय संस्थाहरूले अटोलोन अन्तर्गत कारगालगायत निजी सवारीसाधनमा लागि ९ प्रतिशत ब्याज लिने गरेका छन् भने टयाक्टरलगायत कृषि यान्त्रीकरण १७ प्रतिशतसम्म ब्याज लिने गरेका छन् । त्यतिमात्रै होइन, निजी प्रयोजनको कारलाई कार धितोमै ८० प्रतिशतसम्म कर्जा उपलब्ध गराउने तर कृषि यान्त्रीकरणमा भने धितोबाहेकको आयास्रोतसमेत खोज्ने गरेको यान्त्रीकरण व्यवसायीले गुनासो गरेका छन् । वीरगञ्जस्थित द हबी अटो टेडिङ प्रालिका प्रबन्ध निर्देशक उमेश नाथ मानन्धरले यस्तो गुनासो गरेका हुन् ।

 
विगत २० वर्षदेखि नेपालमा टयाक्टरलगायत विभिन्न कृषियन्त्रको कारोबार गर्दै आएको द हबी अटो टेडिङ प्रालिका प्रबन्ध निर्देशक मानन्धरले हालसम्म नेपालका विभिन्न क्षेत्रमा ५ हजारभन्दा बढी किसानलाई ट्याक्टर बिक्री गरिसकेका छन् । कतिपय बैंक तथा वित्तीय संस्थाहरूले कृषि यान्त्रीकरण कर्जाका ग्राहकलाई वास्तै नगर्ने उनले बताए ।

 

उनले भने, ‘कुनै व्यक्ति निजी कार खरिदका लागि बैंक तथा वित्तीय संस्थामा गयो भने उनीहरूको व्यवहार सौहाद्र्रपूर्ण हुन्छ, छिटो छरितो रूपमा कर्जा भुक्तानी दिन्छन् तर कृषियन्त्र व्यवसायीलाई बैंकमा छिर्नै दिँदैनन् । त्यतिमात्रै होइन, त्यस्ता सेवाग्राहीलाई अटोलोन अन्तरर्गत ९–१० प्रतिशत ब्याजदरमा कर्जा दिन्छन्, ट्याक्टरलगायत कृषि उपकरणमा १७ प्रतिशतसम्म ब्याज असुल्छन् । कृषि उपकरणको व्यावसायिक कारोबार गर्ने व्यवसायीले नै यस्तो समस्य खेप्नुपर्ने अवस्था रहेकोमा सर्वसाधारण किसानले किसानले त बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिनै नसक्ने अवस्था रहेको उनको भनाइ छ ।

 

सोही कारण किसानहरू कृषि क्षेत्रबाट पलयान हुँदै गएको पनि उनले बताए । तर सरकारले बैंक तथा वित्तीय संस्थाले १० प्रतिशतसम्म कृषि कर्जा अनिवार्य गरेपछि केही सहज भएको उनको भनाइ छ । अन्य बैंक तथा वित्तीय संस्थाको तुलनामा कृषि विकास बैंकमा भने त्यस्तो समस्या नरहेको पनि उनले बताए । हालै एक भारतीय व्यवसायीले नेपालका विभिन्न बैंकबाट ३० करोड रुपैयाँ नतिरी भारततर्फ फरार भएको घटना स्मरण गर्दै उनले भने, ‘नेपालका बैंक तथा वित्तीय संस्थाहरू नेपाली व्यवसायीलाई विश्वास गर्दैनन्, विदेशीलाई बढी विश्वास गर्छन्, यो त्यसैको परिणाम हो । किसानलाई उक्त रकम लगानी गरेको भए यस्तो अवस्था आउँदैनथ्यो ।’ उनले उक्त भारतीय व्यवसायीबाट असुल्न सरकारलाई चुनौतीसमेत दिएका छन् ।

 
अनुत्पादक सवारीसाधनमा बैंक तथा वित्तीय संस्थाहरूले १० प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराए कृषि यन्त्रमा ५ प्रतिशतको सरल ब्याजदर हुनुपर्ने उनको माग छ । उनले भने, ‘ट्रक बसलगायत सवारीसाधनभन्दा ट्याक्टर उत्पादक छ, ट्याक्टरलाई किसानले वर्षभरि प्रयोग गर्छन् ।’ कृषि क्षेत्रलाई सरकारले उपेक्षा गरेकै कारण बैंक तथा वित्तीय क्षेत्रलेसमेत उपेक्षा गर्दै आएको उनले बताए ।

 

अर्का कृषि यान्त्रीकरण व्यवसायी दुर्गा सापकोटाले कृषियन्त्रमा सहुलियत ब्याजदरका साथै किसानले खरिद गरेको कृषियन्त्रको बीमाको समेत व्यवस्था हुनुपर्ने बताएका छन् । हालै गठित कृषि यान्त्रीकरण एसोसिएसनले पनि उल्लेखित एजेण्डामा सरकारसँग लविङ गर्ने जनाएको छ ।
एसोसिएसनका अध्यक्ष महेन्द्र कँडेलले नेपालभर छरिएर रहेको कृषि यान्त्रीकरण व्यवसायीलाई संगठित गर्दै कृषिमा यान्त्रीकरण अभियानलाई किसानसँग मिलेर अगाडि बढाउने बताएका छन् । यान्त्रीकरण व्यवसायी र किसानका पीडा उस्तै रहेको पनि उनको भनाइ थियो ।