सरल कर्जा अन्तर्गत कृषकलाई एकै पटकमा १० लाख दिइने

यो समाचार 261 पटक पढिएको

काठमाडौं, १४ फागुन । कृषि विकास बैंकले देशभरका कृषकलाई एकै पटक १० लाख रूपैयाँको सरल कृषि कर्जा कार्यक्रम ल्याउन लागेको छ । बैंकले कृषकहरूलाई एउटै प्याकेज अन्तर्गत १० लाख रुपैयाँ बराबरको कर्जा प्रदान गर्ने उद्देश्यले सरल कृषि कर्जा कार्यक्रम ल्याउन लागेको हो ।
कृषि विकास बैंकका अनुसार तरकारी खेती,गाईभैंसी पालन, कुखुरा तथा बुंगुरपालन,बाख्रापालन र मत्स्यपालनमा सरल कृषि कर्जा अन्तर्गत एक मुष्ठ १० लाख रुपैयाँ कर्जा दिने तयारी गरिएको छ ।
agro bank

कृषि विकास बंकले कुल कर्जामध्ये करिब ३० प्रतिशत कृषि क्षेत्रमा लगानी गरेको छ । बैंकले कृषि क्षेत्रका करिब १७ अर्ब रुपैयाँ लगानी गरेको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई १० प्रतिशत कृषि क्षेत्रमा लगानी गर्न प्रोत्साहित गरेको छ । वैदेशिक रोजगारीको क्रममा विदेशबाट सिकेको उन्नत कृषि,प्रविधि,व्यावसायिक पशुपालनमा आकर्षित युवाहरूलाई सरल कृषि कर्जा कार्यक्रम अन्तर्गत एकमुष्ठ १० लाख रुपैयाँ दिने योजना रहेकोे बैंकका कर्जा विभागका प्रमुख चन्दनकुमार श्रेष्ठले बताए ।

 
विदेशमा काम गरेर फर्किएका युवाहरूले आफनै गाउँघरमा केही गर्न खोजेका कारण ग्रामीण तथा सहरी क्षेत्रमा कृषिको व्यावसायिक विकास र प्रवद्र्धन गर्न बैंकले यो योजना अघि सारेको बैंकका कर्जा प्रमुख श्रेष्ठले बताए ।

 

 

यो कर्जालाई प्रभावकारी रूपमा सञ्चालन गर्न सकेमा भारतबाट आयात भइरहेको ठूलो परिमाणको तरकारी तथा फलफूलको आयातलाई प्रतिस्थापन गर्न सक्ने बैंकले जनाएको छ । सरल कर्जा कार्यक्रम अन्तर्गत राजधानीमा स्थायी बसोवास नगर्नेहरूले पनि आफ्नो स्थायी ठेगाना भएका ठाउँको घर घडेरी राखेर कर्जा लिन सक्नेछन् ।

 

 

काठमाडौं उपत्यका र सडक यातायात पुगेका जिल्लाका कृषकहरूलाई व्यावसायिक कृषिमा आकर्षित गर्न बैंकले सरल कृषि कर्जा कार्यक्रम लागू गर्न लागेको बताउँदै कर्जा विभाग प्रमुख श्रेष्ठले यो कार्यक्रमले ग्रामीण क्षेत्रका कृषकको जीवनस्तर माथि उठ्न सहयोग पुग्ने बताए । यो कार्यक्रम अन्तर्गत कृषकले जुनसुकै कृषिको काम गर्न परे पनि कृषकहरूले एकै शीर्षकमा १० लाख रुपैयाँ पाउनेछन् ।

 

 

बैंकको सरल कर्जा कार्यक्रम अन्तर्गत अब कृषकहरूले तरकारी,पशुपालन,व्यावसायिक कृषिमा फरक–फरक कर्जा लिन नपर्ने भएको छ । कृषकहरूले अब देखि सरल कर्जा अन्तर्गत भैंसी पाल्न,तरकारी खेती र मत्स्यपालन जे गरे पनि एउटै प्याकेज अन्तर्गत कर्जा पाउने भएका छन् । ग्रामीण क्षेत्रका कृषकहरूले एकै प्याकेज अन्तर्गत सहज रूपमा कर्जा पाउनेछन् ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :