माछापालनका पोखरी चरन क्षेत्रमा परिणत

यो समाचार 79 पटक पढिएको

नेपालगन्ज, १४ फागुन । आर्थिक उन्नती र रोजगारी सिर्जना गर्न उद्देश्यले बाँकेको हिरमिनिया गाबिसमा निर्माण गरिएका एक सय वटा माछापोखरी स्थानीयको उदासिनताका कारण अहिले पशु चौपायाहरुको चरन क्षेत्र बनेका छन् । गैरसरकारी संस्था युएसएडले सामाजिक उन्नतीका लागि २०६४ सालमा माछा पालन गराउने उदेशयले निर्माण गरेका ती सय बढी पोखरी पशुचरन क्षेत्र बनेका हुन् ।
२५ वटा पोखरीका लागि एउटा समूह निर्माण गरी चार वटा समूहलाई १ सय पोखरीमा माछा पालन गराउने गरी कुल ८ विघा जग्गामा ती पोखरी निर्माण गरिएका थिए । स्थानीयहरुले आपसी खिचातानीका कारण पोखरीहरु जीर्ण भएको बताएका छन् । २ वर्ष सम्म माछा पालनबाट फाइदा भएकोे जनाउदै स्थानीय सहजाद खाँले पछि आर्थिक बाँडफाँडमा विवाद हुँदा काम ठप्प भएको बताए ।

 

 

पोखरी संचालन भएको ३ वर्ष पछि २०६७ सालमा स्थानीय महातरकारी सहकारी संस्थालाई हस्तान्तरण गरिए पनि पोखरी संचालन हुन सकेन । जिर्ण भएको पोखरी सुधारका लागि जिल्ला विकास समिति बाँकेले १ लाख ५० हजार, प्लान नेपालले ६० हजार, आरएनले ६० हजार, कृषि विकास कार्यालय बाँके ४० हजार र युएस एडले ३० हजार रुपैयाँ लगानी गरेपनि पोखरीको अवस्था नफेरिएको स्थानीवासीको गुनासो छ ।

 

 

महातरकारी सहकारीका अध्यक्ष निरन्जन सिंह सोडीले अझै लगानी कै अभाव रहेको बताए । ‘लगानी अभावका कारण ब्यवस्थित हुन सकेको छैन,’ सोडीले भने । स्थानीय स्तरमा समन्वयको समेत समस्या देखिएको बताउँदै उनले अझै पोखरीका मर्मतमा बजेट खर्चिनु पर्ने अवस्था रहेको जनाए ।
लाखौं लगानी भएको माछा पालन पोखरीबाट स्थानीयहरुले अपेक्षित लाभ नपाएको बताएका छन् । पोखरीबाट सिमित ब्यक्तिले लाभ लिन थालेपछि विवाद बढेर समस्या बढ्दै जाँदा माछापालन बन्द भएको स्थानीय दिनेश मौर्यले बताए । उनले विवादलाई समयमै सुल्टाउन नसक्दा लाखौंको लगानी बालुवामा पानी भएको जनाए ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :