विदेशी युवाको गाउँमोह

This post has already been read 146 times!

इलाम, १३ फागुन /विकासोन्मुख मुलुकको ग्रामीण परिवेश हेर्न आएका विदेशी विद्यार्थीले इलामलाई पर्या–पर्यटनमा विकास गरिनुपर्ने बताएका छन् । भिन्न मुलुक र संस्कृतिमा रमाएका विदेशी तन्नेरीलाई बरबोटे अर्गानिक फर्मले ग्रामीण क्षेत्रको अवलोकनका लागि इलाम आमन्त्रण गरेको थियो ।ilamnewsagrocom
अमेरिकाको अल्फ्रेड युनिभर्सिटीका इन्जिनियरिङ छात्र कैन रिचर्डसन बरबोटेको ओख्रेका घरमा गाईको गोबर सोहोर्दै थिए । सँगै रहेका श्रीलंकाली अहमत इजज फरुक बाख्रालाई घाँस खुवाउँदै रमाएका थिए । सदरमुकामबाट करिब १० किलोमिटरको भित्री गाउँमा विदेशी विद्यार्थीका क्रियाकलाप अनौठो देखिन्छन् ।

 

गाउँ नदेखेका २० वर्षमुनिका यी युवक कहिले अम्लिसोको कुचो थुत्ने, कहिले घाँस काटेर गाई र बाख्रालाई दिन व्यस्त थिए । ‘हामीले कहिल्यै गाउँ देख्न पाएनौँ,’ फरुकले भने, ‘विकासोन्मुख मुलुकको ग्रामीण परिवेश हेर्न आएका हौँ ।’ संयुक्त अरब इमिरेट (दुबई)को अमेरिकन युनिभर्सिटी अफ सहर्जामा इन्जिनियरिङमा अध्ययनरत फरुक गाउँलेको व्यवहार र सत्कारले मख्ख थिए ।

 

 

अमेरिकाको जीवनशैलीमा हुर्केका १८ वर्षीय कैन दुई युवाभन्दा बढी सक्रिय देखिन्थे । बिहान उठेदेखि गाईबाख्राको चाकरसँगै बारीमा पानी लगाउन पुग्ने उनी नेपाल बसाइँ लम्ब्याउने प्रयासमा छन् । एक साताअघि इलाम आएका फरुक शनिबार बसमा काठमाडौं गइसकेका छन् । कैन अरू केही साता ओख्रे गाउँमा ग्रामीण परिवेश अध्ययनका लागि बसेका छन् ।

 

 

गाईपालनलाई प्राथमिकता दिँदै सिंगो गाउँलाई अर्गानिक बनाउने उद्देश्यले पाँच वर्षअघि खुलेको फर्ममा यतिखेर नियमित आउने विदेशीले किसानको उत्साह बढाउन थालेका छन् ।

 

 
गाउँमा जथाभावी प्लास्टिक फाल्नेदेखि खेती प्रणालीमा रासायनिक मल र विषादी प्रयोग बन्द भइसकेको छ । सोही कारण सुविधासम्पन्न विदेशी मुलुकबाट आएका तन्नेरी युवा गाउँ पुगेपछि खाने, बस्ने र शौचालयको मात्र व्यवस्था हुँदा पनि मख्ख छन् । ‘यहाँ सिकेको कुरा मेरो करिअरमा लागू गर्न सक्दिनँ होला,’ कैन भन्छन्, ‘तर, मलाई नेपाली गाउँको न्यानोपन र जीवनशैलीले जीवनभर प्रभाव पार्नेछ ।’खसी र माछाबाहेक अन्य मासु गाउँमा निषेध छ ।

 

 

 

‘फर्म दर्ता गरेपछि ग्रामीण जनजीवनमा घुलमिल हुँदै अहोरात्र खट्नेमा पाँच सयभन्दा धेरै विदेशी पुगे होलान्,’ अध्यक्ष सूर्य अधिकारी भन्छन् ।फर्म अवलोकन गर्नेमा अमेरिका, चीन, श्रीलंका र धेरै युरोपियन मुलुकका युवा बढी रहेको उनी बताउँछन् । पेइङ गेस्ट व्यवस्था गरिएको गाउँमा उनीहरू होमस्टेमा बसेर ग्रामीण जनजीवनलाई नजिकबाट नियाल्छन् ।

 

 

नियमित रूपमा विदेशी आउने गरेकाले होमस्टे व्यवस्थापनमा सक्रिय पर्यटन बोर्डअन्तर्गतको तारा गाउँ विकास समितिले तालिम प्रदान गरेको छ । विदेशीको संख्या नियमित भएपछि फर्मलाई व्यवस्थित गर्नु स्थानीयमा चुनौती थपिएको छ ।

 

 

‘सानो र व्यवस्थित फर्म चलाउँदै आगन्तुकका लागि गाउँले शैलीका कटेज बनाउने तयारी थालेका छौँ,’ स्थानीय दामोदर अधिकारीले भने । अर्गानिक खेती प्रणाली अवधारणासँगै दर्जनौँ घर रहेको गाउँमा विषादी प्रयोग बन्द भएको छ । त्यस्तै, वातावरणमा असर पुर्‍याउने पोलिथिन झोला पूर्ण रूपमा निषेध छ ।अर्गानिक उत्पादनमा लागेका चिया बगान र कारखाना अवलोकन गर्न पश्चिमा मुलुकबाट आउनेको संख्या बाक्लो हुन थालेको छ । आफैँ कृषक, मजदुर र मालिक रहेका गाउँलेको खेती प्रणाली अवलोकनमा विदेशीको अवलोकन आकर्षण बढेको अधिकारीको दाबी छ ।