सम्वृद्धिको आधार : कृषिको व्यवसायीकरण

यो समाचार 237 पटक पढिएको

देश विकासकाका ठूला-ठूला ‘कुरा’ धेरै भए। तर काम भएको छैन। किनकि के गर्ने, कसरी गर्ने, कसले गर्ने भन्ने निधो भएको छैन। अझ अगाडि बढेर भन्दा किन गर्ने भन्नेमा पनि अलमल छ। जस्तै जसलाई सजिलै खानलाउन पुगेको छ उसले गर्नै पर्दैन र गर्दैगर्दैन। जसलाई खानलाउनको दुःख छ उसले यति धेरै सोच्नै भ्याउँदैन। किनकि उसलाई बिहान बेलुकीको समस्या छ।GoruNewsagrocom
आज सम्पन्न एवं विकसित भएका देश र समाज एकाएक सम्पन्न भएका होइनन्। उनीहरूले निकै हण्डर खाएपछि आएको अक्कलले काम गरेको देखिन्छ। हामीले खोइ हण्डर नै कम खायौं कि कसो हो हाम्रो अक्कल अहिलेसम्म ठीकठाक देखिएको छैन। समाजको अध्ययन गर्दा के देखिन्छ, पाइन्छ भने विगतमा राम्रै आर्थिक तथा सामाजिक हैसियत भएका कतिपय परिवारसँग राम्रो अवसर भए पनि उनीहरूले त्यसलाई उपयोग गरेर जति गर्नुपथ्यो वा गर्न सक्थे त्यो गरेको देखिँदैन। तर जसले थोरै अवसर पाए उनीहरूले नै बरु केही गरेको देखिन्छ।

 

विश्वमा पनि यो नियम लागू भएको देखिन्छ। आजको अतिविकसित मुलुक जापानसँग प्राकृतिक स्रोत त्यति धेरै छैन। भूकम्पले दुःख दिइरहन्छ। तर ऊ विकसित छ। अरुलाई सहयोग गर्न सक्षम छ। युरोपको डेनमार्क, न्युजील्याण्ड जस्ता मुलुकमा जाडो धेरै हुन्छ। हिउँ पर्छ। तर पशु पालेरै धनी भएका छन्। स्वीजरल्याण्ड नेपालजस्तै भूपरिवेष्ठित मुलुक हो। ७०।७५ वर्ष अगाडिसम्म हामीजस्तै गरिब मुलुक थियो। तर घडी बनाएर र बेचेर नै संसारमा धनी हुन सक्यो। एशियाका सिँगापुर, मलेशिया, दुर्वईले पछिल्ला ३०।४० वर्षमै चमच्कार देखाए। दुर्वई र सिँगापुरले पूर्व र पश्चिमको व्यापारिक केन्द्रको रूपमा आफूलाई विकसित गरे। मलेशियाले औद्योगिक उत्पादन, पेट्रोलियम र कृषिकै माध्यमबाट विकासको फड्को मारिरहेको छ।

 

जापानले वरिपरि सागर हुनुको फाइदा देख्यो र अरु मुलुकबाट कच्चा पदार्थ विशेष गरिकन धातुको आयात गरेर मोटर अन्य इलोक्ट्रोनिक उत्पादन गरेर संसारलाई बेचेर धनी हुने सपना दख्यो र त्यो पूरा गर्‍यो। स्वीजरल्याण्ड भूपरिवेष्ठित मुलुक भएकाले ठूलोठूलो समान आयात निर्यात गर्न धेरै लागत लाग्ने र विश्व बजारमा प्रतिस्पर्धा गर्न नसक्ने देखेर सानोसानो घडी बनाएर सजिलै विश्व बजारमा पुर्‍याउने र धनी हुने सपना देख्यो। त्यो उसले पूरा गर्‍यो। न्युजील्याण्ड र डेनमार्कले भेडा र गाई पालेर त्यसबाट हुने उत्पादन दुनियाँलाई बेचेर धनी हुने सपना देखे र त्यो पूरा गरे।

 

दुनियाँमा विकासको मोडल, तरिका र साधन एकै हुनुपर्छ भन्ने रहेन। अरुका अनुभवबाट सिक्ने र आफ्नो सन्दर्भमा के उपयुक्त हुन्छ आफैले निर्णय गरी लागू गर्नुपर्छ। हाम्रो हकमा अथवा नेपालको हकमा विकासको प्राथमिकता र आधार के हो ? के हुन सक्छ ? के गर्नु पर्छ ? कसकसले गर्ने ? के के गर्ने ? किन गर्ने ? यस्ता प्रश्नमा कुरा धेरै भए पनि राष्ट्रिय प्राथमिकतामा ठोस योजना परेको छैन। बरु चुपचाप कमिशन खाएर व्यक्तिगत धनी हुने अभियानमा देश बनाउनुपर्नेहरू दौडेको हेर्न पाइन्छ।

 

हाम्रो पहुँच देश बनाउनेसम्म पुगेन भने पनि आफ्नै क्षेत्र, अञ्चल, जिल्ला, गाउँ/नगर बनाउने सम्म सोच्ने हो कि ? यस बारेमा चिन्तन गर्दा के फरक पर्ला त ? के सम्भावना छ ? हाम्रो क्षेत्रमा जसले धेरैभन्दा धेरैलाई रोजगारी दिन र आम्दानी बढाउन सहयोग पुर्‍याउन सकोस्। हाम्रो देशमा धेरै मानिस संलग्न भएको क्षेत्र कृषि नै हो। तराई अन्नको भण्डार हो। पहाडी भूभाग नगदे बालीका लागि उपयुक्त छ भने हिमाली क्षेत्र बहुमूल्य जडीबुटीका लागि।

 

 
यहाँको माटो, हावापानी, मौसम, कृषिका लागि अति नै उत्तम छ। अलैची, चिया, कफी, मह र हिमाली भेगमा गर्न सकिने जडीबुटीको खेतीले देशमा मनग्य उत्पादन बढाउन सकिने र विदेशमा सजिलै बजार पाउने यस क्षेत्रका उच्चमुल्य भएका नगदे बाली हुन्। तराईमा व्यवसायिक रूपमा अन्न उत्पादनका लागि राज्यले अलिकति सहयोग गरिदिने हो भने देशलाई चाहिने मात्रै होइन निर्यात गर्न सकिने अन्नको उत्पादन गर्न सकिन्छ। मौसमी-बेमौसमी तरकारी, फलफूल, माछा, मासु, दूध उत्पादनको योजना बनाएर लाग्ने हो भने युवाले रोजगारी खोज्न विदेश जानुपर्ने र देशले वर्षेनी एक खर्ब बढीको खाद्य वस्तु आयात गर्नुपर्ने अवस्थाको अन्त्य गर्न सकिन्छ।

 
हाम्रो हकमा चाँडै प्रतिफल दिने र तुरुन्तै बजार पाइने भनेकै कृषि पैदावारमा हो। यसका साथै हामी र हाम्रो जनशक्तिले गर्न सक्ने भनेको र धेरै मानिसलाई रोजगारी दिने भनेको पनि कृषि नै हो।

 

 

हामी भूपरिवेष्ठित देश भएकाले औद्योगिक विकास गरेर विश्व बजारमा हाम्रा उत्पादनलाई प्रतिस्पर्धी बनाउन सजिलो छैन। अर्को तिर औधोगिक विकासको लागि पूँजी, प्रविधि, जनशक्ति, व्यवस्थापकीय क्षमता, उर्जा, कच्चा पदार्थ, विश्व बजारमा पहुँच, पूर्वाधारको रूपमा रहेको सडक मार्ग, रेल मार्ग आदिको अभावमा देशले औधोगिक विकास गरेर अगाडि जाने सम्भावना ज्यादै न्यून छ। देशभित्रै खपत गर्न सकिने र केही छिमेकी मुलुकमा पुर्‍याउन सकिने खालका केही सााधारण उद्योगको विकास त गर्न सकिएला तर त्यसले धेरै मानिसलाई रोजगारी दिन सक्ने अवस्था छैन।

 

 

हाम्रो जीविकाको मुख्य साधन र स्रोत भनेको जमिन हो। हामीले परम्परादेखि गर्दै आएको व्यवसाय पनि खेती नै हो। हाम्रो युवा पुस्तालाई यो व्यवसायमा आकषिर्त गर्न राज्यको सहयोग पूँजी र प्रविधिमा हुने हो भने थोरै लगानी -अरु व्यवसायको तुलनामा) मा सीप र दक्षताको विकास गर्न सकिन्छ। केही वर्षमै यसका नतिजाहरू देख्न सकिन्छ। खाद्यन्न, नगदे बाली, माछामासु, दूध, फलफूल, तरकारीजस्ता उत्पादनको पहिलो बजार स्थानीय ठाउँ र देशभित्रै खोज्न सकिन्छ। किनकि देशले यिनै वस्तु वाषिर्क एक खर्ब र प्रतिवर्ष ३० प्रतिशत जतिको वृद्धिमा आयात गर्नुपरिरहेको छ। अकोर्तिर हामी यो उत्पादनलाई बंगलादेशमा निर्यात गर्न सक्छौं।

 

 

 

मध्यपूर्वका देशमा यसको माग छ। यदि चर्चामा भएजस्तो निजगडमा अन्तर्राष्ट्रिय विमान स्थल बन्ने हो भने पूर्वी नेपालका कृषि पैदावार र कृषि जन्य वस्तुलाई सोझैं मध्यपूर्वका देशहरूमा पठाउन सकिन्छ। त्यसैगरी लुम्बुनीमा अर्को अन्तर्राष्ट्रिय विमानस्थल बनाउन सक्दा पक्षिमका उत्पादनलाई विदेशमा पठाउन सकिन्छ। मासुको उत्पादन बढाउन सके प्रशोधन गरेर चाइना र भारतमा मात्रै पठाउन सक्ता नै प्रयाप्त हुन्छ। फलफूलको उत्पादन बढाउन सके जुस र वाइन बनाएर विदेश निर्यात गर्न सकिन्छ। यसका लागि कृषि अनुसन्धान केन्द्र, कृषि प्रयोगशाला र कृषि पाठशालाको स्थापना, विषादीरहित उत्पादनमा जोड, युवालाई प्रोत्साहन र कृषि उत्पादनमा राज्यको योजनाबद्ध सहयोग हुने हो भने हामीले छोटो समयमा प्रतिफल दिने र धेरैलाई रोजगारी बनाउन सक्ने क्षेत्र भनेको कृषि नै हो।

 

 

इजरायलले जहाजमा माटो ओसारेर र थोपा सिँचाईं गरेर कृषिको विकास गरिरहेको छ। न्युजील्याण्ड र डेनमार्कले पशुपालन मात्रै गरेर पनि आफ्नो देशलाई विकसित देशको कोटीमा पुर्‍याउन सक्छन् भने हामी त योभन्दा धेरै गर्न सक्छौं र प्राकृतिक हिसाबले त्यो भन्दा धेरै अनुकूलता हामीसँग छ। त्यसैले देशको विकासको पहिलो आधार कृषिलाई बनाउँ। कृषि पेशामा लाग्नेको सम्मान गरौं।

रामचन्द्र उप्रेती

रचनात्मक प्रतिक्रिया दिनुहोस् :