ब्रान्ड मात्रै जनकपुर

यो समाचार 71 पटक पढिएको

“साहूजी, माछा कहाँको हो ?”
“जनकपुरको।”
“तपाईंको घर कहाँ नि ?”
“जनकपुर नै हो।”

 

काठमाडौँ,  १३ फागुन / खिचापोखरीमा एक दशकयता माछा बिक्री गर्दै आएका विल्टु रावत नेपालसँग आफूले जनकपुरबाटै माछा मगाएर बेच्ने गरेको दाबी गररिहेका थिए। दिनको पाँच सय किलोसम्म माछा बेच्ने दाबी गर्ने विल्टु मात्र होइन, अधिकांश विक्रेता आफूहरूले जनकपुरकै माछा बेचिरहेको दाबी गर्छन्। तर, माघको तेस्रो साता जनकपुर पुुग्दा स्थानीय बजारमै पर्याप्त माछा थिएनन्। अधिकांश पोखरी खाली थिए। कारण, एउटै थियो, अफ सिजन।

 

 

कतिसम्म भने, झन्डै एक सयवटा साना-ठूला पोखरी रहेको जनकपुरस्थित मत्स्य विकास तालिम केन्द्रका प्रायः पोखरी रत्तिा थिए। केहीमा अनुसन्धानका लागि राखिएका माछा थिए भने केहीमा स-साना भुरा मात्र । जनकपुरका माछा राजधानीमा पाउन मुस्किलै हुने दाबी गर्छन्, केन्द्रका प्रमुख रविलाल शर्मा।

 

अफ सिजन त के, सिजनमा समेत जनकपुरका माछा राजधानीसम्म पुग्न मुस्किल छ। किनभने, जति माछा जनकपुर वा धनुषा जिल्लामा उत्पादन हुन्छ, त्यतिले धनुषा र वरपरको माछाको माग नै धान्दैन। शर्मा भन्छन्, “नजिकै राम्रो बजार र मूल्य पाउँदा पाउँदै राजधानीसम्म यहाँका माछा पुग्छन् भन्नु हास्यास्पद हो।” कुनै व्यापारीले जनकपुरका माछा राजधानीसम्म पुर्‍याए पनि लागतका हिसाबले महँगो हुने शर्माको भनाइ छ।

 

हुन पनि, धनुषाका जनकपुर, ढल्केवरलगायत क्षेत्रमा रोहु जातका माछा प्रतिकिलो साढे दुई सयदेखि तीन सय रुपियाँमा बिकिरहँदा राजधानीमा समेत माछा उति नै मूल्यमा बिकिरहेको थियो। नेपालमै उत्पादन हुने माछा भारतबाट आयात हुने माछाको तुलनामा अलि महँगै पर्ने एक व्यवसायी सुनाउँछन्। माछापालनको लागत पनि भारतमा सस्तो छ। तर, नेपालमा उत्पादित माछा भारतबाट आयात हुनेभन्दा गुणस्तरीय मानिन्छ। तर, ढुवानी खर्च, व्यवसायीहरूको मुनाफा सब जोड्ने हो भने माछा भित्र्याउनुपर्ने जिल्लाहरूलाई भने नेपालमा उत्पादित माछा महँगो पर्छ।

 

खास गरी जाडो मौसममा माछाको वृद्धि त्यति राम्रो हुँदैन। केन्द्रका अनुसार प्रायः कृषकले पुस र माघ महिनालाई माछा राख्ने तयारी गर्ने समयका रूपमा उपयोग गर्छन्। फागुनमा माछाका भुरा छाडिन्छन्। र, १० महिनाको अवधिमा ती माछा बिक्रीका लागि तयार हुन्छन्। राम्रो तौल भएका माछा भने त्यसअघि पनि निकालेर बिक्री गरिन्छन्।

 

जिल्ला कृषि कार्यालय, धनुषाका अनुसार प्रत्येक वर्ष जिल्लामा करबि पाँच हजार मेटि्रक टन माछा उत्पादन हुन्छ। झन्डै दुई हजार पोखरीमा माछापालन भइरहेका छन्। तर, उत्पादनका हिसाबले यति माछा धनुषा र आसपासका जिल्लाकै लागि ठिक्क हुने केन्द्रका प्रमुख शर्मा बताउँछन्।

 

मत्स्य विकास निर्देशनालयको तथ्यांक हेर्दा मुलुकमा वाषिर्क माछा उत्पादन करबि ५६ हजार मेटि्रक टन मात्र छ, जुन कुल मागको करबि १० प्रतिशत मात्र हो। यस हिसाबले धनुषा जिल्लाको माछा उत्पादन मुलुकको उत्पादनको करबि १० प्रतिशत मात्र हो भने कुल मागको करबि एक प्रतिशतको हाराहारी। यही तथ्यांकलाई आधार मान्दा पनि जनकपुर (धनुषा जिल्ला)को माछा सबैतिर प्रशस्त मात्रामा पाउन मुस्किलै छ। केन्द्रका प्रमुख शर्मा भन्छन्, “जनकपुरको माछा ब्रान्डजस्तो बनेको हो तर जहाँ पनि यहाँको माछा पाइन्छ भन्नु हावादारी कुरा हो।”

 

धनुषामा माछाको माग कस्तो छ भने कृषकहरूले बिक्रीका लागि माछा लिएर बजारसम्म जानै पर्दैन। माछा निकाल्ने दिनमा व्यापारीहरू आफैँ पोखरीसम्म आइपुग्छन्। धनुषाका मत्स्य विकास अधिकृत शशिकुमार मिश्रका भनाइमा पोखरीको डिलमै रोहु जातको माछा प्रतिकिलो साढे दुई सयदेखि तीन सय रुपियाँसम्ममा बिक्री हुन्छ। अझ कार्प जातका माछा त साढे तीन सयदेखि चार सय रुपियाँसम्ममा पोखरीमै बिक्री हुन्छ। जुन धनुषा र आसपासका जिल्ला र बजारमै खपत हुन्छ। मिश्र भन्छन्, “यहाँ डिलमै जति मूल्यमा बिक्री भइरहेका छन्, त्यसभन्दा सस्तो मूल्यमा राजधानीमा कसरी पाइन्छ ?”

 

खासमा नेपाल माछाका लागि भारतमा निर्भर छ। ९० प्रतिशत मागको पूर्ति आयातित माछाबाटै हुन्छ। हुन त तराईका २५ जिल्लामा व्यवस्थित रूपमै माछापालन विस्तार भइसकेको छ। राजधानी आसपासका धादिङ, चितवनमा पनि मत्स्यपालन विस्तार भइरहेको छ। तर, पछिल्लो समयमा जुन अनुपातमा माछाको माग बढेको छ, त्यस अनुपातमा उत्पादन बढ्न सकेको छैन।

 

निर्देशनालयका अनुसार मुलुकका पोखरीमा झन्डै ३४ हजार ५ सय मेटि्रक टन र प्राकृतिक जलाशयमा लगभग २१ हजार ५ सय मेटि्रक टन माछा उत्पादन हुन्छन्। माछा बढी आयात हुने भने भारतको आन्ध्र प्रदेशबाट हो। बिहार र बंगालबाट पनि माछा आयात हुन्छ। शर्माका भनाइमा आधुनिक उत्पादन प्रणाली र व्यवस्थित मार्केटिङ्का कारण उताको माछा सस्तो पर्छ। त्यसैले व्यवसायीहरू पनि मुनाफाका हिसाबले त्यतैका माछा रोज्छन्।

 

यद्यपि, स्वास्थ्यका हिसाबले मुलुकमै उत्पादित माछा बढी भरपर्दो हुने व्यवसायीहरू सुनाउँछन्। माग उच्च भएकाले तत्काल आसपासका क्षेत्रमै बिक्री भइहाल्ने भएकाले स्थानीय माछा धेरै दिन रहन पाउँदैन। केही घन्टाको दूरीमा पठाउनु छ भने बरफमा राखेर पठाइन्छ। तर, भारतदेखि माछा ल्याउँदा कुहिन नदिन बरफ मात्र पर्याप्त नहुने मत्स्य विकास अधिकृत मिश्र सुनाउँछन्। किनभने, भारतका विभिन्न स्थानबाट राजधानी वा आसपासका जिल्लासम्म माछा आइपुग्दा झन्डै एक साता लाग्छ।

 

जस्तो ः भारतको आन्ध्र प्रदेश काठमाडौँबाट झन्डै १ हजार ८ सय किलोमिटर टाढा छ। र, त्यति टाढाबाट माछा ल्याउँदा कुहिन नदिनका लागि स्वास्थ्यका लागि निकै प्रतिकूल मानिने फर्मालिनजस्ता रसायन मिसाइन्छ। उसो त हानिकारक रसायन मिसाइएका माछा निर्बाध नेपाल भित्रिएको र त्यसले स्थानीय उत्पादनलाई नकारात्मक असर परेको भन्दै कृषकहरू आन्दोलित नभएका पनि होइनन्। जस्तो ः गत असोजमा मत्स्य व्यवसायी संघ, चितवनले फर्मालिनयुक्त माछा भारतबाट आयात भइरहेको भन्दै सरकारलाई गम्भीर हुन आग्रह गरेको थियो।

 

 

 

 

यिनै कारणले गर्दा पनि व्यवसायीहरू माछा नेपालकै भएको भन्न रुचाउँछन्। खास गरी ब्रान्डकै रूप लिएकाले पनि जनकपुरका माछा भन्नासाथ उपभोक्ताले सहजै विश्वास गर्ने एक व्यवसायी सुनाउँछन्। नेपाल संवाददाताले ज्यादै केरकार गरेपछि राजधानीको खिचापोखरीमा माछा बिक्री गर्दै आएका एक व्यवसायी मुख खोल्न बाध्य भए, “भारतका माछा भन्यो भने त किन्नै मान्दैनन्, जति विश्वास छ, स्वदेशी उत्पादनमै छ।”

रचनात्मक प्रतिक्रिया दिनुहोस् :