जङ्गलको सिस्नु पाँचतारेदेखि यूरोपसम्म

यो समाचार 184 पटक पढिएको

वीरेन्द्रनगर, १३ फागुन  । जङ्गलमा पाइने सिस्नु पाँचतारे होटलमा समेत खपत हुन्छ भन्दा तपार्इंलाई पत्यार नलाग्ला । तर, दैलेख र सुर्खेतका अधिकांश जङ्गलमा उत्पादन हुने सिस्नु राजधानी काठमाडौंका तारे होटलदेखि यूरोपसम्म पुग्ने गरेको छ । सिस्नुलाई यहाँका लघु उद्यमीहरूले प्रशोधन गरी यूरोपसम्म पठाउने गरेको बताएका छन् ।sisnunewsagrocom

सुर्खेतको नेटा गाविसमा प्रशोधन भएको सिस्नु राजधानीको सौगात माइक्रो प्रमोशन प्रालिमार्फत देशका विभिन्न तारेहोटलदेखि यूरोपेली मुलुकहरूमा समेत निर्यात गर्ने गरेको जिल्ला लघु उद्यमी समूह सङ्घ, सुर्खेतका व्यवसाय विकास परामर्शदाता ललित सारूले जानकारी दिए ।

 

 
लघु उद्यम विकास कार्यक्रम (मेडेप)ले लघु उद्यमीहरूलाई तालीम दिई सिस्नु प्रशोधन औजार वितरण गरेपछि स्थानीयवासी पनि यसको सङ्कलनतर्फ आकर्षित भएका हुन् । दैलेखको नारायण नगरपालिका र भवानी गाविसबाट पनि सिस्नु राजधानीका विभिन्न तारे होटलदेखि विदेशसम्म निर्यात गर्ने गरेको छ ।

 

 

जिल्लाबाट वार्षिक २ क्वीण्टल सिस्नुको धूलो राजधानी काठामाडौं जाने गरेको छ । त्यति नै मात्रामा हङकङ, बेलायत, कोरियादेखि विभिन्न यूरोपेली मुलुकमा निर्यात हुने गरेको सुर्खेतको नेटास्थित सिस्नु सङ्कलन तथा प्रशोधन गर्दै आएकी लघु उद्यमी कर्णकली पुनले बताइन् । प्रतिकिलो सिस्नुको मूल्य रू. ३ सयदेखि ४ सय ५० सम्म पर्ने गरेको उनको भनाइ छ ।

 

केही समयअघि सुर्खेतमा सम्पन्न नेपाल पर्यटन तथा व्यापार मेलामा समेत आफूले १२ हजार रुपैयाँबराबरको सिस्नु विक्री गरेको उनले बताइन् । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले प्रशोधित सिस्नुको परीक्षण गरेपछि मात्र त्यसलाई जिल्लाबाहिर पठाउने गरिएको जिल्ला लघु उद्यमी समूह, सुर्खेतका जिल्ला कार्यक्रम संयोजक ओमप्रकाश थापाले बताए ।

 

 

समुद्री सतहदेखि करीब ९ सयदेखि २ हजार ५ सय मिटरसम्मको उचाइमा पाइने सिस्नुमा भिटामिन ए, आइरन, क्याल्सियम, मिनरल्स पाइन्छ । साथै, बाथ, मधुमेह, पत्थरी, हातखुट्टा दुख्ने, ज्वरो, क्षयरोग, ग्याष्ट्रिक, रक्तचाप, बायोगोलासम्बन्धी बिरामीलाई यो उपयोगी हुने विशेषज्ञहरूको भनाइ छ ।
– विनोद लम्साल

रचनात्मक प्रतिक्रिया दिनुहोस् :