कृषि यान्त्रिकरण प्रदर्शनीमा करोडौंको बुकिड

यो समाचार 178 पटक पढिएको

चितवन, फागुन १२ । चितवनमा जारी राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनीमा करोडौंको कृषि यन्त्र बृकिड भएको छ भने ३५ हजार बढीले अवलोकन गरेका छन् । नेपालका पूर्व मेचीदेखि पश्चिम महाकालिबाट आएका कृषकले समुहगतरुपमा मेलाको अवलोकन गर्नुका साथै दर्जनौ कृषि उपकरणको बुकिड गरेको व्यवसायीहरुले जानकारी दिएका छन् ।

anewsagrocom

मेलामा सबैभन्दा बढी मिनी टयाक्टर बुकिड भएको छ । पहाडी क्षेत्रमासमेत प्रयोग गर्न सकिने मिनी टयाक्टरको न्युनतम तौल ६० केजी हुने डोकोमै बोकेर किसानले ओसार पसार गर्न सक्ने भएकोले यसप्रति किसानको आकर्षण देखिएको बताइएको छ । यस्तो टयाक्टरको न्युनतम मूल्य ४२ हजार रुपैयाँ रहेको छ । डिजेल र पेटोलयुक्त साना टयाक्टर जोत्नवाहेक अन्य कार्यमा पनि प्रयोग गर्न सकिन्छ । पेटोलयुक्त टयाक्टरको तुलनामा डिजेलबाट चल्ने टयाक्टर केही महँगो हुने व्यवसायीले बताएका छन् ।

 

 

 

 

प्रदर्शनका लागि काठमाडौबाट आएको ओएनएस ट्रेडलिङक प्रालिबाट मात्रै लाखौं मुल्यका १५ वटा धान रोप्ने मेसिन , ४ वटा धान काट्ने मेसिन र ३ वटा उखु रोप्ने मेसिन बुक भएको संचालक नरेन्द्रसिंह भण्डारीले बताउनु भयो ।

 

 

 

cnewsagrocom
यस्तै श्रेष्ठ एग्री ईन पुट्सबाट लाखौं मुल्य पर्ने धान काट्ने मेसिन १२ वटा तथा ४ वटा ट्याक्टर वुक भएको प्रोपाईटर गोविन्दभक्त श्रेष्ठले बताउनु भयो । यस्तै विभिन्न स्टलबाट खेत जोत्ने, धान काट्ने , रोप्ने, गोड्ने, खेत सम्मयाउने , कफी छोडाउने, सिंचाइ गर्ने , मकै छोडाउने, तथा दूग्ध, फलफूल, मासु प्रशोधनसम्बन्धी नवीन प्रविधि तथा उपकरणहरु कृषकहरुले बुक गरेको मेला आयोजक समितिले जनाएको छ । कृषि ईन्जिनियरिङ्ग महाशाखाका निमित्त कार्यकारी निर्देशक मधुसुदनसिंह बस्नेतले भोली अझै दर्शकहरुको भिड बढ्ने बताउनु भयो ।

 

 

 

मेलामा आज अवलोकनकर्ताहरुको निक्कै भिड लागेको थियो । कृषिमा आधुनिक यन्त्रको प्रयोग गरी खाद्य सुरक्षामा टेवा पुर्याउने उद्धेश्यले यही फागुन ९ गतेदेखि चितवनको नारायणी नदी किनारमा पहिलो राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी आयोजना गरिएको हो ।

 

 
प्रदर्शनीमा आज तेस्रो दिनसम्म विभिन्न कृषक समुहले करोडौं मुल्य बराबरका कृषि यन्त्रहरु बुक गरेको मेला आयोजक समितिले जनाएको छ । मेलामा झापा , मोरङ नेपालगञ्ज , कञ्चनपुर , काभ्रे , चितवन , दाङ , मकवानपुर , सर्लाही , बझाङ, नवलपरासी लगायत जिल्लाका ग्रामिण क्षेत्रबाट कृषक समुह तथा सहकारीका प्रतिनिधिहरु आएका छन् । उनीहरुले करोडौंको आधुनिक कृषि यन्त्र र उपकरणहरु बुक गरेर गएको प्रदर्शनी संयोजक विरेन्द्र हमालले जानकारी दिनुभयो । यकिन तथ्यंक केही दिनमा आउने उहाँले बताउनु भयो । प्रदर्शनीमा १६ देशका करिव ५ सय कृषि उपकरण तथा प्रविधि प्रदर्शनीमा छ ।

 

 

 

bnewsagrocom
कृषि विभागको कृषि इन्जिनियरिङ निर्देशनालय, नेपाल कृषि अनुसन्धान परिषद्, कृषि उद्यम केन्द्र आयोजक रहेको प्रदर्शनीको सहआयोजकमा जिल्ला कृषि कार्यालय चितवन , जिल्ला पशुसेवा , राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रम र उद्योग वाणिज्य संघ चितवन रहेको छ ।

 
प्रदर्शनी अन्तरगत आजपनि कृषकहरु विच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कृषकहरुले यस्ता प्रदर्शनी जिल्ला जिल्लामा आयोजना गर्नुपर्नेमा जोड दिएका छन् । यस्तै आज रत्ननगर कला मन्दिरले साँगितिक कार्यक्रम प्रस्तुत गरेको थियो । कृषि यन्त्रीकरण प्रदर्शनिमा यन्त्र उपकरणको मोलमोलाई गर्दै कृषकहरु ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :