माछा महोत्सव सम्पन्न

यो समाचार 115 पटक पढिएको

  •  कूल क्षमताको ३ प्रतिशत मात्रै माछा उत्पादन
  • ५०  लाखको कारोबार सोही अनुपातमा अवलोकनकर्ता

काठमाडौं , फागुन १२  । नेपालमा कुल क्षमताको तीन प्रतिशत मात्रै माछा उत्पादन हुँदै आएको छ । माछा उत्पादनमा आधुनिक प्रविधिको प्रयोग हुन नसक्नु,  नेपालीहरूमा माछा खाने बानीका विकासमा कमी तथा माछा व्यवसायीमैत्री नीति नभएकाले क्षमताअनुसार उत्पादन गर्न नसकिएको नेपाल मत्स्य व्यवसायी सङ्घका अध्यक्ष तुलसीराज गिरीले बताए ।

 

हाल नेपालमा बार्षिक रुपमा ५७ हजार ५ सय मेटिक  टन माछा उत्पादन हुँदै आएको छ,’ उनले भने, ‘यो कूल उत्पादन क्षमताको तीन प्रतिशत मात्रै हो ।’ मत्स्य विकास केन्द्रले माछा पालन व्यवसायलाई विस्तार गर्न विभिन्न कार्यक्रम ल्याएपनि प्रभावकारी रुपमा कार्यान्वयन नहुँदा सोचेअनुरुप माछा उत्पादन हुन नसकेको माछा व्यवसायीहरूको भनाइ छ । अध्यक्ष गिरीका अनुसार नेपालमा उत्पादित माछा काठमाडौंमा विक्रीका लागि ल्याउन सकिएको छैन । तराइ तथा पहाडका केही जिल्लामा व्यावसायिक रुपमा माछा पालन गरिँदै आएको भएपनि त्यहाँको उत्पादन देशका ठूला शहरमा जान नसकेको मत्स्य विकास केन्द्रका प्रमुख रमानन्द मिश्रले जानकारी दिए ।

 

 

अहिले चितवन, धादिङ, मकवानपुरको कुलेखानी, भैरहवा, दाङ, बर्दिया, सुर्खेतलगायतका जिल्लामा व्यावसायिक रुपमा माछा पालन हुँदै आएको छ । तर, त्यहाँको उत्पादनले स्थानीयस्तरको मागलाई पनि पूरा गर्न नसकेको व्यवसायीहरूले बताएका छन् । कृषि विकास मन्त्रालयअन्तर्गतको व्यावसायिक कृषि तथा व्यापार आयोजना (प्याक्ट)ले देशका विभिन्न जिल्लामा व्यावसायिक रुपमा माछा पाल्नका लागि रकम अनुदान समेत दिएको छ ।

 

 

सङ्घका अध्यक्ष गिरीले सरकार तथा विभिन्न कृषिक्षेत्रमा काम गर्ने संस्थाले माछा पालन व्यवसायलाई प्रवद्र्धन गरे आगामी ५ वर्षभित्र नेपाललाई माछामा आत्मनिर्भर गराउने सकिने बताए । ‘व्यवसायी एकलैले केही गर्न सक्दैनन्,’ उनले भने, ‘ तर राज्यको आर्थिक एवम् प्राविधिक सहयोग भएका माछामा नेपाललाई आत्मनिर्भर गर्न सकिन्छ, ।’ शुक्रवार देखि राष्टिय सभागृहमा सञ्चालित प्रथम माछा महोत्सवको समापन कार्यक्रममा बोल्दै सहभागिहरूले माछाको उत्पादन वृद्धि गरी निर्यात गर्न पहल गर्ने बताए ।

 

 

कार्यक्रममा गिरीले तीनदिन भित्र ५० हजार मानिसले मेलाको अवलोकन गरेको जानकारी दिए । त्यसैगरी मेलाअवधिभर करीब ५० लाखको कारोबार भएको सङ्घले बताएको छ । नेपाल मत्स्य व्यवसायी सङ्घ, नेपाल फिसरिज सोसाइटी तथा राष्टिय मत्स्य विकास केन्द्रको सयूक्त आयोजनामा महोत्सव आयोजना गरिएको हो ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :