व्यापार घाटा कम गर्न कृषिजन्य क्षेत्रमा लगानी गर्न निर्देशन

यो समाचार 167 पटक पढिएको

काठमाडौँ, १० फागुन । सरकारले बढ्दो व्यापार घाटा कम गर्न लक्ष्य तोकी समन्वयात्मक ढङ्गले काम गर्न सरोकार भएकाहरुलाई निर्देशन दिएको छ ।

Vegetable market

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज बसेको व्यापार घाटा कम गर्ने विषयमा आयोजित बैठकमा नेपालबाट निकासी बढाउन र आयात प्रतिस्थापन गर्न ठोस कार्ययोजना बनाउनुपर्नेमा जोड दिइएको थियो । बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्यालयका सचिव कृष्णहरि बाँस्कोटाले आयात प्रतिस्थापन गर्नका लागि ठोस कार्य योजना निर्माण गरी निकायगत लक्ष्य तोकी समन्वयात्मक ढङ्गले काम गर्न उच्चस्तरीय कार्यदल नै गठन गर्न निर्देशन दिनुभयो ।
नेपालको उत्पादन कच्चा पदार्थको रुपमा निकासी हुने र सोही कच्चा पदार्थको प्रशोधनबाट उच्च मूल्यमा वस्तु नेपाल भित्रिने हुँदा व्यापार घाटा चिन्ताजनक स्थितिमा पुगेको भन्दै सचिव बाँस्कोटाले कृषिजन्य उत्पादन, मासु एवं माछाजन्य उत्पादन र जडिबुटीको प्रशोधन गर्ने कारखाना स्थापना गर्न र यस्ता उद्योगमा सरल व्याज दरमा ऋण प्रवाह गर्न र करको दरमा छुट दिनुपर्नेमा जोड दिनुभयो ।

 

वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव माधव रेग्मीले नेपाल व्यापार एकीकृत रणनीति–२०१० मा समावेश भएका १९ वस्तु र सेवाको निकासी वृद्धि गर्न भर मजदुर प्रयास भइरहेको बताउनुभयो ।
नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक मीनबहादुर श्रेष्ठले चालु आवको पहिलो छ महिनामा रु ४५ अर्ब १४ करोडको निकासी भएकामा रु तीन खर्ब ३३ अर्ब ९१ करोडको आयात भएकाले व्यापार घाटा वृद्धिदर २४.४% ले बढेको देखिए तापनि शोधनान्तर बचत रु ७७ अर्ब १९ करोड पुगेकाले साह्रै चिन्तित हुनुपर्ने अवस्था छैन भन्नुभयो ।
उहाँले चालु आबको पहिलो छ महिनामा रु दुई खर्ब ६६ अर्ब विप्रेषण, रु २० अर्ब निवृत्तिभरण र रु २२ अर्ब वैदेशिक अनुदानबाट विदेशी मुद्रा प्राप्त भएको जानकारी गराउनुभएको थियो । उहाँका अनुसार चालु आवको अन्त्यसम्ममा विप्रेषणबाट रु पाँच खर्ब १० अर्ब, निवृत्तिभरणबापत रु ४५ अर्ब र वैदेशिक अनुदानबापत रु ५० अर्व वैदेशिक मुद्रा प्राप्त हुने अनुमान गरिएको जानकारी गराउनुभएको थियो ।
बैठकमा जडिबुटी प्रशोधन केन्द्र, सङ्कलन केन्द्र र अदुवा पखाल्ने पोखरी निर्माण गर्न, प्रयोगशालाको स्तरोन्नति गर्न, प्राङ्गारिक उत्पादनको प्रमाणिकीकरण गर्न, सामूहिक व्यापारचिह्न तयार गर्न र विभिन्न देशमा नेपाली व्यापारचिह्न दर्ता गर्न सरकारी पहल गर्नुपर्नेमा जोड दिइएको थियो ।

 
वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागका महानिर्देशक नारायणप्रसाद बिंडारीले नेपालमै उत्पादनको सम्भावना रहेको खाद्यान्न, हरियो तरकारी, फलफूल र माछामासुमा मुलुक आत्मनिर्भर हुने दिशामा गएको भन्दै जनतामा प्रतिकूल असर नपर्ने वस्तुको आयातमा कडाइ गर्नुपर्ने बताउनुभयो ।
भन्सार विभागका उपमहानिर्देशक दामोदर रेग्मीले सुन, चाँदी, सुपारी, मोटर, मोटरका पार्टपुर्जालगायतको पैठारी वृद्धि हुँदै गएकामा चिन्ता व्यक्त गर्नु भयो । निर्यात प्रर्वद्धन केन्द्रका कार्यकारी निर्देशक ईश्वरीप्रसाद घिमिरेले गुणस्तरीय वस्तुको उत्पादन र देशगत निकासी विविधीकरणमा जोड दिनुभयो ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :