कृषि उत्पादनका ३२ सय पकेटक्षेत्र

यो समाचार 171 पटक पढिएको

काठमाडौं, १० फागुन  /मुलुकभर कृषि उत्पादनसँग सम्बन्धित पकेट क्षेत्रको संख्या ३ हजार २ सय ९ पुगेको छ । सरकारले जुन क्षेत्रमा जे कृषि उपजको उत्पादन बढी हुन्छ, त्यस्तो क्षेत्रलाई सम्बन्धित उत्पादनका लागि पकेटक्षेत्र मान्ने गर्छ । कृषि विकास मन्त्रालयअन्तर्गतको कृषि विभागले पकेटक्षेत्रमा विशेष कार्यक्रम तय गर्ने गर्छ ।

Pocket areanewsagrocom मुलुकभर पकेटक्षेत्रले ढाकेको क्षेत्र ४ लाख ३० हजार हेक्टर रहेको कृषि विभागको तथ्यांक छ । घोषित पकेटक्षेत्रमध्ये अधिकांश क्षेत्र फलफूल तथा तरकारी उत्पादनसँग संलग्न छन् भने केही हिउँदे मकैका लागि परिचित छन् । आलु, केरा, सुन्तला, स्याउ, कागती, गोलभेंडालगायत उत्पादन बढी हुने जिल्ला, गाविस वा वडाका विभिन्न क्षेत्रलाई पकेटक्षेत्रको रूपमा घोषणा गरिँदै आएको छ । पकेटक्षेत्र घोषणा गर्नुअघि सम्बन्धित जिल्ला कृषि विकास कार्यालयले अध्ययन गरी सरकारलाई सिफारिस गर्छ ।

 
सरकारको नवौं पञ्चवर्षीय योजनापछि विशेष उत्पादन क्षेत्रमा केन्द्रित गरेर कार्यक्रम गर्ने योजनाअनुसार पकेटक्षेत्रको अवधारणा आएको हो । निश्चित बालीको उत्पादन बढाउनुका साथै बजारीकरण सहज बनाउन र सरकारी सहयोग व्यवस्थित बनाउन पकेटक्षेत्र सहयोगी हुने विज्ञले बताउँदै आएका छन् । तर, नेपालमा भने पकेटक्षेत्र घोषणामै सीमित हुने गरेको छ ।

 

 
पकेटक्षेत्रमा कृषकलाई तालिम, संकलन केन्द्र तथा बीउ भण्डारण केन्द्र स्थापनाजस्ता कार्यक्रम सरकारी तवरबाट सञ्चालनमा ल्याई बृहत् कार्यक्रम गर्नुपर्ने भए पनि त्यस्ता कार्यक्रम पर्याप्त हुन नसकेको सरकारका उच्च अधिकारी स्वीकार्छन् । “पकेटक्षेत्र विकास गर्न जिल्ला तथा केन्द्रस्तरबाट कार्यक्रम भइरहेका छन्,” कृषि विभागअन्तर्गतको बाली विकास निर्देशनालयका प्रमुख सुरोज पोखरेल भन्छन्, “पकेटक्षेत्रमा उत्पादित वस्तुको बजारीकरणका लागि पनि त्यत्तिकै कार्यक्रम आवश्यक छ । तर, हाम्रो कार्यक्रम थोरैमात्र छ ।”

 

 
मुलुकभर सबैभन्दा बढी पश्चिमाञ्चल विकासक्षेत्रमा १ हजार १ सय १२ र मध्यमाञ्चल विकासक्षेत्रमा ८ सय २ पकेटक्षेत्र छन् । त्यसैगरी पूर्वाञ्चलमा ६ सय ३१, मध्यपश्चिमाञ्चलमा ४ सय ३५ र सुदूरपश्चिमाञ्चलमा २ सय २९ पकेटक्षेत्र छन् । पश्चिमाञ्चलका जिल्लामा कृषि सहकारी, कृषक समूह, बीउ उत्पादन समूहलगायतका गतिविधि अन्य भेगमा भन्दा बढी भएकाले सो क्षेत्रमा पकेट संख्या बढी भएको पोखरेलको भनाइ छ ।

 

 
काभ्रे तथा धादिङ जिल्लाका राजमार्गवरपरका क्षेत्र तरकारी पकेट, चितवनका कतिपय क्षेत्र केरा पकेट, सुर्खेतका केही गाविसका क्षेत्र मसुरो पकेट, मध्य पहाडी इलाका कोदो पकेट, कास्कीको भरतपोखरी क्षेत्र टमाटर पकेटजस्ता विभिन्न पकेटक्षेत्र नेपालमा चर्चित पकेटक्षेत्र छन् । तर, पकेट क्षेत्रमा उत्पादित वस्तुको प्रशोधन, बजारीकरण, ढुवानीजस्ता समस्या सो क्षेत्रका जनताले भोगिरहेका छन् ।

 

 
हरेक पकेटक्षेत्रमा एउटा कृषि सेवा केन्द्र, संकलन केन्द्र, प्रशोधन केन्द्र, बीउबिजन वितरण केन्द्र, मलखाद वितरण केन्द्र, पकेट क्षेत्रभर सिँचाइको सुविधा र यातायातको सुविधासमेत त्यत्तिकै आवश्यक हुन्छ । उत्पादित वस्तु सो स्थानवरपर उपभोग गरेर समेत बचेपछि निर्यात गर्न सक्ने अवस्थामा सम्बन्धित क्षेत्रलाई पकेटक्षेत्र घोषणा गर्ने गरिन्छ । तर, पकेटक्षेत्र भएर पनि यातायातका साधन नहुँदा जुम्लाका स्याउ बोटमै खेर जाने समस्या हटेको छैन ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :