पूर्वाञ्चलमा बाली बिमा असफल

This post has already been read 52 times!

विराटनगर, ११ फागुन / सरकारले निर्देशिका जारी गरी कृषिमा आकर्षण बढाउन र किसानको लगानी सुरक्षाका लागि भन्दै एक वर्षअघि ल्याएको बाली बिमा कार्यक्रम पूर्वाञ्चलमा असफल भएको छ। सरकारले बाली तथा पशु सेवा बिमा निर्देशिका २०६९ अनुसार बिमा कार्यक्रम ल्याएको थियो।

bima

किसानमा बाली बिमासम्बन्धी चेतनाको अभाव, नीतिगत अन्योल, बिमा कम्पनीको आनाकानी र सरकारले बिमाका बारेमा प्रस्ट पार्न नसक्दा कार्यक्रम असफल बनेको हो।

 
पूर्वाञ्चलमा अहिलेसम्म एकजनाले पनि यस्तो बिमा गराएका छैनन्। यो कार्यक्रम २०६९ माघ १ गते लागू भएको थियो। पशु बिमा पनि नगन्य मात्रामा गरिएपछि यो कार्यक्रम पनि निष्प्रभावी देखिएको छ। लगानी सुरक्षाको हिसाबले पशु तथा खेतीका लागि ऋण लगानी गरेका ब्यांक तथा वित्तीय संस्थाले लगानीको बिमा गर्ने गरे पनि यसअघि किसानले भने बाली र पशुको बिमा गर्ने गरेका थिएनन्।

 

 

कार्यक्रमअनुसार न्यूनतम एक कट्ठा जमिनमा खेती गर्ने किसानले आफ्नो खेतीका लागि लाग्ने लागतको पाँच प्रतिशत प्रिमियम बुझाएर बालीको बिमा गर्न सक्छन्। त्यसमा सरकारले ५० प्रतिशत अनुदान दिने व्यवस्था छ। त्यसका लागि सरकारले चालू वर्षमा देशभरका लागि १३ करोड रुपैयाँ छुट्याएको थियो। यो रकमबाट पाँच अर्ब २० करोड रुपैयाँबराबरको बालीको बिमा गर्न सकिन्छ।

 

 

बाली बिमाका लागि बिमा समितिले निर्जीवन बिमा कम्पनीलाई निर्देशन दिए पनि किसान इच्छुक नदेखिएपछि बिमा गराउन नसकिएको कम्पनीहरूले जनाएका छन्।

 
सगरमाथा इन्सुरेन्स विराटनगरका प्रमुख पुष्पराज बस्नेतले सरकारले दिने भनेको अनुदानबापतको रकम कसरी बिमा कम्पनीले पाउँछन्, बिमा गरिएको बाली कुन समयमा नष्ट भएमा कति क्षतिपूर्ति दिनुपर्ने, कुनकुन बालीको उत्पादन लागत कति लाग्ने भन्ने निर्धारण कसरी गर्ने भन्नेलगायतका विषयमा अन्योल भएकाले पनि समस्या परेको बताए।

 
नेसनल इन्सुरेन्स विराटगरका प्रमुख अभयकुमार दासले बिमा अभिकर्ता कमिसनका बारेमा संस्थानले केही नभनेकाले अभिकर्तालाई कृषकको घरदैलोमा पठाउन नसकिएको बताए। ‘सरकारले कृषकलाई जागरुक बनाएर बिमा गर्न पठाए हामी बाली बिमा गरिदिन्छौं’, उनले भने, ‘कृषि मन्त्रालयका कर्मचारी नै यसबारेमा प्रस्ट छैनन्, त्यसैले यो कार्यक्रम सफल बन्न नसकेको हो।’

 
किसानले बिमा एउटा सिजनका लागि, एउटा बालीमा मात्र वा वर्षभरिकै लागि पनि गर्न सक्ने व्यवस्था छ। बिमा गरेपछि बाढी पहिरो, भूक्षयलगायतका प्राकृतिक विपत्ति, रोगव्याधी वा कीरा लागेर बाली नष्ट भएमा कृषि प्राविधिकले मूल्यांकन गरेर बिमा कम्पनीले अधिकतम ९० प्रतिशतसम्म क्षतिपूर्ति दिनुपर्ने उल्लेख छ।

 

क्षेत्रीय र जिल्ला कृषि विकास कार्यलयहरूमा बिमा फोकल पर्सन तोकिए पनि किसानले सेवा लिएका छैनन्। क्षेत्रीय कृषि निर्देशनालयका बिमा फोकल पर्सन राम सोगरत शाहले छिटपुट रूपमा किसान बाली बिमाको बारेमा बुझ्न आएपनि कसैले अहिलेसम्म बिमा नगराएको बताए।

 

‘बिमाका बारेमा उचित ज्ञानका कारण किसानले लाभ लिन सकेका छैनन्’, उनले भने, ‘बिमा कम्पनीले पनि बाली बिमा गराउनलाई खासै चासो दिएको पाइएको छैन।’ जिल्ला कृषि विकास कार्यालय मोरङका प्रमुख मनोजकुमार यादवले चेतनाको अभावले बाली बिमा हुन नसकेको बताए।