सय हेक्टरमा लिची लगाउने तयारी

This post has already been read 299 times!

तनहुँ, ९ फागुन / तनहुँको १ सय हेक्टर क्षेत्रफलमा यस वर्ष लिचीखेती विस्तार गरिने भएको छ । जिल्ला कृषि विकास कार्यालयले यसका लागि कृषकलाई अनुदान र प्रोत्साहनमूलक कार्यक्रम घोषणा गरेको छ ।

LichiNewsagrocom

हाल १ सय ३ हेक्टर क्षेत्रफलमा भइरहेको लिचीखेतीलाई दोब्बर पार्न जिल्लाको व्यास नगरपालिकासहित ११ स्थानमा लिची प्रवर्द्धन कार्यक्रम शुरू गर्न लागिएको कार्यालय प्रमुख वरिष्ठ कृषि विकास अधिकृत राजेन्द्रकुमार मल्लले जानकारी दिए । उनले कार्यक्रमअन्तर्गत कृषकलाई आवश्यक बिरुवा, औषधिमा अनुदान र निःशुल्क प्राविधिक सेवा दिइने बताए ।
कार्यालयले कार्यक्रम सञ्चालन गर्नुपूर्व कृषकलाई यस विषयमा जानकारीसमेत दिएको छ । कृषकले लिचीको बजारमूल्य राम्रो भएकाले आकर्षण बढेको भन्दै आवश्यक कीटनाशक औषधि र अन्य सहयोग पाए खेती गर्ने भएका छन् ।

 

जिल्लाभर थप १ सय हेक्टरमा १५ हजार बेर्ना लगाउने तयारी 
दमौली । वार्षिक रू. २ करोडभन्दा बढीको सुन्तला विक्री हुने बगैंचाबाट लाख रुपैयाँ आम्दानी गर्न पनि गाह्रो भएपछि तनहुँ, आँबुखैरेनीका कृषक लिचीखेतीतर्फ आकर्षित भएका छन् । केही वर्षयता देशभर देखापरेको बोट डढ्ने रोगका कारण सुन्तला बगैंचा नै सखाप भएपछि कृषकले विकल्पमा लिची रोजेका हुन् । २ वर्षअघि वार्षिक साढे २ करोड रुपैयाँसम्मको सुन्तला बेचेका आँबुखैरेनी २, का किसानले यस वर्ष रू. ४ लाख मात्र हात पारेको कृषक श्रीराम भट्टराईले बताए । २ वर्षअघि सुन्तला बेचेर ३० हजार रुपैयाँसम्म आम्दानी गरेका उनले यस वर्ष रू. ४ हजारमा चित्त बुझाउनुपर्‍यो ।
उनी मात्र होइन आँबु २, को बरादी, समस्तिपुर, डुम्रिडाँडालगायत गाउँमा धेरैजसो बगैंचा डढेर सखाप भएका छन् । डढिसकेको बोटको उपचार सम्भव नभएपछि लिचीखेतीमा धेरैले चासो देखाएको उनले जानकारी दिए । जिल्ला कृषि विकास कार्यालय, तनहुँले पनि लिची खेती प्रवर्द्धनका लागि ‘लिची प्रवर्द्धन कार्यक्रम’ शुरू गरेको छ ।
कार्यक्रमले जिल्लाभर यस वर्ष थप १ सय हेक्टरमा १५ हजार बेर्ना लगाउने लक्ष्य राखेको छ । कार्यालयको प्राथमिकतामा परेको क्षेत्र भएको र सुन्तला बगैंचा नष्ट भएकाले त्यहाँका किसानलाई लिचीखेतीका लागि प्रोत्साहन गरिएको कृषि सम्पर्क केन्द्र, बरादीका प्रमुख खितकुमार श्रेष्ठले बताए ।

 

कृषकले समूह नै गठन गरेर सामूहिक रूपमा लिचीखेती शुरू गरेका छन् । कृषि कार्यालयको सहयोग आश्वासन पाएपछि समूह गठन गरिएको समूहका अध्यक्ष दुर्गाप्रसाद पौडेलले बताए । कृषकलाई आवश्यक बेर्ना र औषधिमा अनुदान तथा निःशुल्क प्राविधिक सेवा उपलब्ध गराउने कृषिप्रमुख श्रेष्ठको भनाइ छ ।