उखुको मूल्य निर्धारणमा सरकारलाई मध्यस्ता गर्न आग्रह

यो समाचार 168 पटक पढिएको

काठमाडौं,   ७ फागुन / चिनी उद्योगी र उखु किसानबीच उखुको मूल्य निर्धारण हुन नसकेपछि सरकारलाई मध्यस्थता गरी दिन कृषक र उद्योगीले आग्रह गरेका छन् । चालू आवको उखु क्रसिङ सकिँदा पनि उद्योगी र किसानबीच भएका पटक–पटक वार्ता विफल भएपछि दुवै पक्षबाट सरकारको मध्यस्तामा उखुको मूल्य निर्धारण गर्नेे सहमति भएको हो ।Sugarcane, Newsagrocom
माघ महिनाको चिनीको मूल्यको आधारमा उखुको मूल्य निर्धारण गर्ने गरी चिनी उद्योगी र उखु किसानबीच सहमति भए पनि गत साता उद्योगी र कृषकबीच सहमति हुन नसकेपछि सरकारलाई मध्यस्ता गरिदिन आग्रह गरिएको हो । उद्योगीले चिनीको मूल्य घटेको भन्दै गत वर्षको मूल्य दिन नसकिने र किसानले लागत बढेको भन्दै गत वर्षको मूल्य कायम हुनुपर्ने अडान लिएपछि वार्ता असफल भएको नेपाल उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनी मैनालीले जानकारी दिए ।

 

 

उनका अनुसार किसानको उखु उत्पादनमा ज्याला मल विजनमा लागत बढेकोले कृषकले गत वर्षको भन्दाको भन्दा कम मूल्य तोकिनु हुदैन । गत वर्ष उखुको मूल्य भ्याटसहित ४ सय ८१ रुपैयाँ प्रति क्विन्टल थियो ।
नेपालमा भन्दा भारतमा उखुको मूल्य प्रतिक्विटल करिब ७३ रुपैयाँले सस्तो हुँदा चिनीको लागत मूल्यमा प्रतिकिलो करिब ११ रुपैयाँ बढी पर्न जाने र खुला सिमानाका कारण सस्तो चिनीको अवैध पैठारीलेस्वदेशी चिनीको बिक्री वितरणमा संकट आउने भन्दै उखुको मूल्य गत वर्षको जति पनि दिन नसकिने नेपाल चिनी उद्योगका अध्यक्ष शशिकान्त अग्रवाल बताउँछन् ।
“गत वर्ष यही समयमा मूल्य अभिवृद्धि करसहित चिनी प्रतिकिलो ७० रुपैयाँ रहेकामा हाल ५७ रुपैयाँमा झरिसकेकाले गत वर्षको जति मूल्य दिन सकिन्न,” उनले भने ।
गत वर्षको तुलनामा चिनीको मूल्य घट्दै गएको र यस वर्ष २० प्रतिशतले चिनी उत्पादन बढेकाले गत वर्षको मूल्यमा समेत घटाउनु परेको अग्रवालले बताउँछन् । उनका अनुसार नेपालको उखुको मूल्य भारतको मूल्यको आधारमा निर्धारण गरिन्छ भारतमा समेत उखु र चिनीको मूल्य घटिरहेको छ । “अहिले भारतमा चिनी प्रतिकेजी ३० रुपैयाँ भारु छ, गत वर्ष यो समयमा ४० थियो,” अग्रवालले भने, “भारतको चिनीको मूल्यसँग प्रतिस्पर्धा गर्नुपर्छ, हामीले कसरी उखुको मूल्य बढी तिर्न सक्छौं ?” गत वर्ष नै भारतको बिहारको मूल्यभन्दा नेपाली उखु किसानले २० रुपैयाँ बढी पाएको पनि उनी बताउँछन् ।
गत पुसमा कृषक र उद्योगीबीच भएको वार्ताबाट तत्कालका लागि उखुको शून्य मूल्य निर्धारण गरी चिनीमील सञ्चालन गर्न र मूल्य निर्धारण नभएसम्म उद्योगको गेटसम्म उखु पु¥याउने किसानलाई प्रति क्वीन्टल ४ सय र उद्योगले तोकेको केन्द्रसम्म उखु पु¥याउने किसानलाई प्रतिक्वीन्टल ३ सय ७५ रुपैयाँ पेस्की स्वरूप दिने सहमति भएको थियो ।
लामो सयमदेखिको दुवै पक्षको अडानले उखुको मूल्य निर्धारण हुन सकिरहेको छैन । बर्सेनि उखुको सिजनमा यो विवाद आउने गरेको छ । उखुको मूल्य निर्धारणमा सरकारी हस्तक्षेप नहँुदा बर्सेनि यो समस्या बढ्दै गएको छ ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :