राजधानीमा चारदिने राष्ट्रिय माछा महोत्सव

This post has already been read 43 times!

काठमाडौं, ७ फागुन । नेपालमै पहिलो पटक राष्ट्रिय रुपमा माछा महोत्सवको आयोजना गरिन लागेको छ । सरकारी तथा विभिन्न गैरसरकारी निकायहरुको सहकार्यमा आगामी शुक्रबारदेखि राजधानीमा राष्ट्रिय माछा महोत्सव तथा परिकार प्रतियोगिताको आयोजना हुन लागेको हो ।

राजधानीमा बुधबार आयोजित पत्रकार सम्मेलनमा यस्तो जानकारी दिइएको हो । नेपालीले अहिले पनि राम्ररी खान नसकेको जानकारी गराउदै फिसरिज सोसाइटीका अध्यक्ष प्राध्यापक डा. माधवकुमार श्रेष्ठले माछालाई तारेर, झोल बनाएर, उसिनेर, मासुको बारालगायतका परिकार बनाएर खान सकिने बताए । उनले खसीको मासुभन्दा माछा मानवस्वास्थयका लागि निक्कै लाभदायक भएकाले साना केटाकेटीदेखि बृद्धसम्मले माछा खानुपर्ने सुझाव दिए ।

 

नेपाल मत्स्य व्यवसायी संघका अध्यक्ष तुलसीराम गिरीले माछा उत्पादन तथा बजारीकरणलाई प्रवद्र्धन गर्न पहिलो पटक माछाको महोत्सवको आयोजना गरिएको बताए । नेपालमा पानीको उपलब्धताका कारण माछा उत्पादन गर्न सक्ने प्रचुर सम्भावना भएको जानकारी गराउदै उनले व्यवसायिक रुपमा माछा पालन, यसका विभिन्न परिकार, उपकरण तथा रोगहरुकाबारेमा सर्वसाधारणलाई जानकारी गराउने उद्देश्यले महोत्सव गर्न लागिएको बताए । “माछाको प्रचुर सम्भावना छ,” उनले भने, “हामी प्राकृतिक रुपमा पानीमा धनी छौं । पानीबाट बिजुलीमात्र होइन, माछा पालन गरेर स्वदेशी माग धान्नुका साथै निर्यात गरेर विदेशी रकम पनि भित्र्याउन सक्छौं ।” उनले माछामा मुलुक आत्मनिर्भर हुन नसक्दा भारतलगायत तेश्रो मुलुकबाट झण्डै ७५ प्रतिशतको हाराहारीमा माछा आयातहुँंदै आएको जानकारी दिए ।

 

 

मत्स्य विकास निर्देशनालयका निर्देशक रामानन्द मिश्रले महोत्सवको माध्यमबाट माछाको व्यवसायिकरण गर्न उद्योगहरुलाई भित्र्याउने योजना रहेको बताए । “व्यवसायिक रुपमा अझै माछाको उत्पादन हुन सकेको छैन्, जसले गर्दा भारतलगायत तेश्रो मुलुकबाट ठूलो परिमाणमा दैनिक माछा आयात हुँदै आएको छ । यो आयातदरलाई घटाउन ठूला व्यवासायिक उद्योगीहरुलाई आकर्षण गर्न आवश्यक छ,” निर्देशक मिश्रले भने । उनकाअनुसार शुद्ध र ताजा माछा चिन्न सक्ने गुण जानकारी नभएका कारण उपत्यकाबासी गुणस्तरहिन माछा खरिद गर्न बाध्य भएको बताए । “हामी महोत्सवमा गुणस्तरयुक्त माछा खरिद गर्ने शिप पनि अवलोकनकर्तालाई सिकाउने व्यवस्था गरेका छौं,” उनले भने ।

 

 

मानव शरीरलाई प्राणि प्रोटिन अतिआवश्यक भएको जानकारी गराउदै उनले यसका लागि सबैभन्दा सर्बोत्तम माध्यम माछा भएको बताए । प्राणि प्रोटिनको अभावमा कुपोषण हुने समस्यालाई समाधान गर्न माछालाई खानाको रुपमा प्रयोग गर्नुपर्ने उनले सुझाव दिए । मानवशरिरलाई दैनिक ४५ ग्राम प्रोटिन आवश्यक पर्छ । त्यसमध्ये १५ ग्राम प्राणी प्रोटिनको मात्रा हुनुपर्छ । “यसको सर्वोत्तम विकल्प माछा हो,” उनले बताए ।

 

निर्देशक मिश्रकाअनुसार विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार नेपालीलाई प्रतिबर्ष २८ किलो माछाको आवश्यक छ । तर अहिले प्रत्येक नेपालीको भागमा दुई किलोमात्र भाग पुग्छ । पछिल्लो समयमा जनसंख्याबृद्धिसँंगै माछाको माग पनि बढेकाले माग पुरा गर्न भारतबाट आयात गर्नुपरेको जानकारी गराउदै उनले माछाको हालको बृद्धिदर बार्षिक साढे ८ प्रतिशतबाट आगामी पांच बर्षमा १७ प्रतिशतमा पुरयाउन सके आयात प्रतिस्थापन गर्नुका साथै निर्यातसमेत गर्न सकिने बताए ।

 

नेपाल फिसरिज सोसाइटी, नेपाल मत्स्य व्यवसायी संघ, मत्स्य विकास निर्देशनालय, नेपाल कृषि अनुसन्धान परिषद(नार्क), कृषि तथा वन विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय तथा कृषि उद्यम केन्द्रको संयुक्त आयोजनामा महोत्सव हुन लागेको छ । पच्चीसभन्दा बढी स्टाल राख्ने व्यवस्था गरिएको महोत्सवमा माछाका परिकार, बनाउने विधि तथा बिक्रि, जिउदो तथा ताजा माछा बिक्रि, एक्वारियम सामाग्री तथा रंगिन माछा बिक्रि, माछा पालनका विविधि प्रविधि प्रर्दशनी तथा जानकारी, पानी परीक्षण तथा माछाको रोग परीक्षण, माछाका दाना, औषधी, उपकरणको बिक्रिको व्यवस्था गरिएको छ ।

 

निर्देशनालयकाअनुसार नेपालमा बार्षिक २ अर्ब रुपैयांभन्दा बढीको करिब ८ हजार ७ सय मेट्रिक टन माछा विभिन्न मुलुकबाट आयात हुन्छ । नेपालमा ८ हजार हेक्टर क्षेत्रफलमा व्यवसायिक रुपमा ५७ हजार मेट्रिक टन माछा उत्पादन हुंदै आएको छ । त्यसमध्ये ३६ हजार मेट्रिक टन व्यवसायिक रुपमा पालेर र बांकी २१ ह्जार मेट्रिक टन प्राकृतिक जलाशयबाट उत्पादन हुन्छ । नेपाल माछा व्यवसायी संघकाअनुसार राजधानीमा दुईसय ५० जना व्यापारीमार्फत दैनिक ६ हजार किलो माछा बिक्रि हुन्छ ।