सुवास नेम्बाङ निर्विरोध संविधानसभा अध्यक्ष निर्वाचित

यो समाचार 197 पटक पढिएको

काठमाडौं, ६ फागुन / नेकपा एमालेका नेता सुवास नेम्बाङ संविधानसभा अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन्। नेम्बाङलाई संविधानसभा अध्यक्ष निर्वाचित गरियोस् भन्ने एमाले संसदीय दलका नेता केपी ओलीको प्रस्ताव मंगलबार बसेको संविधानसभा बैठकले अनुमोदन गरेको हो। प्रस्तावको समर्थक नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला थिए।

Suvashnewsagrocom

संविधानसभाको अध्यक्षता गरिरहेका ज्येष्ठ सदस्य सूर्यबहादुर थापाले नेम्बाङ संविधानसभा अध्यक्ष निर्वाचित भएको घोषणा गरेका थिए।नेम्वाङ विघटित संविधानसभामा पनि अध्यक्ष थिए। संविधानसभा अध्यक्ष व्यवस्थापिका संसद्को पनि सभामुख बन्ने व्यवस्था छ।प्रतिनिधिसभा पुनर्स्थापनादेखि नेम्बाङले लगातार व्यवस्थापिकाको नेतृत्व गर्दै आएका छन्।

संविधानसभाको अध्यक्ष पदका लागि नेम्बाङको मात्र उम्मेदवारी दर्ता भएपछि उनी सभाध्यक्ष हुने निश्चित भएको थियो।

सभाध्यक्ष सर्वसम्मत नभएमा बहुमतीय प्रणालीबाट सभाध्यक्ष चयन गरिने तर एक मात्र उम्मेदवारी परे निर्विरोध हुने व्यवस्था छ। सोमबार भएका छलफलमा एमाओवादीले विगतका नजिरका आधारमा सभामुख आफूले पाउनुपर्ने अडान लिएपछि सर्वसम्मतिको प्रयास विफल भएको थियो। तर मंगलबार बिहान बसेको एमाओवादी केन्द्रीय कार्यालय बैठकले सहमतिकै आधारमा सभाध्यक्ष चयन गर्ने निर्णय गरेपछि नेम्बाङलाई सहज भएको हो।

सोमबार भएको छलफलमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले ‘विगतको नजिर’ भन्दै यसपटक आफ्नो दलले अध्यक्ष पाउनुपर्ने दाबी गरेपछि सर्वसम्मति जुट्न सकेको थिएन। राष्ट्रपति, प्रधानमन्त्री, सभाध्यक्षको निर्वाचनलगायतका विषयमा कांग्रेस र एमालेले एकलौटी निर्णय गरेको भन्दै दाहालले असन्तुष्टि जनाएका थिए।उम्मेदवारी दर्ताका लागि तोकिएको समय दुईबजेभित्रै नेम्बाङको उम्मेदवारी दर्ता भएको थियो। मन्त्रालय बाँडफाँटमा कांग्रेस र एमालेबीच विवाद नसुल्झे पनि कांग्रेसको संसदीय समितिले अध्यक्षमा एमाले उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको थियो। कांग्रेस सभापति सुशील कोइरालाको नेतृत्वमा सरकार बनाउने क्रममा कांग्रेस र एमालेबीचको सातबुँदे सहमतिमा एमालेलाई अध्यक्ष दिने उल्लेख छ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :