कोदो र फापरबाहेक सबै खाद्यमा विषादी

This post has already been read 156 times!

काठमाडौं,    बजारमा बिक्री हुने कोदो र फापरबाहेकका सबै सामग्री विषादीयुक्त रहेको पाइएको छ। कृषि विकास मन्त्रालयका अनुसार कोदो र फापरमात्रै विषादी प्रयोग नगरिएका खाद्यान्न हुन्। बाली संरक्षण निर्देशनालयले चामल, गहुँ, मकै, दलहन, तेलहन, चिया, अदुवा, अलैंची, फलफूल, तरकारी, सागपातलगायत सबैप्रकारका खाद्य पदार्थमा विषादी प्रयोग हुँदै आएको जनाएको छ। निर्देशनालयका कार्यक्रम निर्देशक डिल्लीराम शर्माले बाली उत्पादन गर्ने बेलामा विषादी प्रयोग गर्दै आएका किसानले उत्पादित कृषि उपज बजारमा लैजानुपूर्व पनि विषादीको झोलमा डुबाउने गरेको जानकारी दिए।Pestiide Vegrtable

‘अहिलेको बजारमा दुई पदार्थबाहेक कुनै पनि विषादीमुक्त छैनन्’, निर्देशक शर्माले भने, ‘आफूखुसी विषादी प्रयोगका कारण नेपाली उपभोक्ता नजानेर क्यान्सर, पक्षाघात, अन्धोपनलगायत जटिल रोग निम्त्याउन बाध्य भएका छन्।’ विषादीयुक्त खाद्य पदार्थको सेवन

र विषादीको सम्पर्कका कारण मुख्यगरी महिला तथा बालबालिका प्रभावित हुँदै आएका छन्। निर्देशनालयका अनुसार नेपालमा प्रतिहेक्टर एक सय ४२ ग्राम विषादी प्रयोग भइरहेको छ। आयात हुने कुल विषादीको ८५ प्रतिशतभन्दा बढी सघन तरकारी बालीमा प्रयोग हुँदै आएको छ। किसानले प्रतिहेक्टरमा एक हजार चार सय ग्राम विषादी तरकारी बालीमा प्रयोग गर्दै आएको शर्माको ठहर छ।

‘कृषि प्रसारमा १५ प्रतिशतको हाराहारीमा मात्र किसानको पहुँच छ’, उनले भने, ‘कृषि प्रसारमा पहुँच पुगेका किसानले कृषि प्राविधिकको सहकार्यअनुसार विषादीको प्रयोग गर्दै आएका छन्। तर, पहुँचभन्दा टाढा रहेका सबै किसान नजिकको एग्रोभेटबाट प्रतिबन्धित तथा स्वीकृत विषादी खरिद गरेर आफूखुसी परिमाणमा तरकारीलगायतका अन्य खाद्य पदार्थमा प्रयोग गर्दै आएका छन्।’

सबैभन्दा बढी मध्यमाञ्चलका बारा, चितवन, धादिङ, काठमाडौं, काभ्रे, रूपन्देही, सर्लाही, नवलपरासीलगायतका जिल्लामा यस्तो विषादीको प्रयोग बढी हुने गरेको पाइएको छ। ‘यी जिल्लामा व्यावसायिक रूपमा मौसमी तथा बेमौसमी तरकारीको बढी उत्पादन भएकाले विषादी पनि सोही अनुपातमा प्रयोग हुँदै आएको छ’, शर्माले भने, ‘यसलाई नियन्त्रण गर्ने एकमात्र उपाय जैविक र वनस्पतिबाट निर्माण गरिएका विषा

दीको प्रयोग गर्नु हो।’ विश्व बैंकले हालै तयार गरेको एक प्रतिवेदनअनुसार विश्वभर वार्षिक तीन लाख ५५ हजार व्यक्तिको यस्ता खालका विषादीका कारण मृत्यु हुने गरेको छ। प्रतिदिन सात सयभन्दा बढीको मृत्यु हुने गरेको प्रतिवेदनले देखाएको छ। यसैगरी विश्व खाद्य संगठनका अनुसार प्रतिवर्ष ३० लाख घटनाले विषादीसँग सरोकार राख्छन्। यसका साथै आत्महत्याको घटनामा विषादीको ३१ प्रतिशत भूमिका रहने मानिएको छ।

अनियन्त्रित विषादीको प्रयोगका कारण पछिल्लो समयमा मौरीको संख्यामा कमी आउनुका साथै पानीको स्रोत, माटो र हावाको माध्यमबाट समेत मानव, जनावर, पन्छीलगायतलाई हानि गर्दै आएको छ। अध्ययनअनुसार रासायनिक विषादीको बिक्री र प्रयोगमा एसिया महादेश अगाडि आउँछ। गत वर्षमात्रै नेपालमा विभिन्न प्रकारको तीन सय ४५ मेट्रिक टन विषादी भित्रिएको थियो। यो मध्ये कीटनाशक ३३।२५ प्रतिशत, रोगनाशक ४८।३४ प्रतिशत, झारनाशक १५।५ प्रतिशत र अन्य विषादीको हिस्सा २।८ प्रतिशत थियो।

अन्नपूर्ण