किसानबाट ५६ करोडको धान किन्दै खाद्य संस्थानले

यो समाचार 167 पटक पढिएको

काठमाडौं, ६ फागुन/खाद्य संस्थानले यो वर्ष ५६ करोड ३० लाख रुपैयाँको धान किसानबाट सोझै खरिद गर्ने भएको छ । किसानबाट खरिद गरेको धान संस्थानले आफ्नै मिलमा चामल बनाएर बिक्री गर्छ ।संस्थानले यो वर्ष २ लाख ८५ हजार क्विन्टल धान खरिद गर्न ५६ करोड ३० लाख रुपैयाँ खर्चने भएको हो ।

Foodnewsagrocomयसमध्ये ८१ हजार ८ सय क्विन्टल धान संस्थानले खरिद गरिसकेको जनाएको छ । संस्थानका निमिक्त नायब महाप्रबन्धक इन्द्र सिटौलाका अनुसार यो वर्ष मंसिर अन्तिम साताबाट संस्थानले धान खरिद सुरु गरेको हो । ‘अहिलेसम्म विभिन्न स्थानबाट ८१ हजार ८ सय क्विन्टल धान खरिद गरिसकेका छौँ,’ उनले भने, ‘थप खरिद गर्ने क्रम जारी छ ।’ संस्थानले अघिल्लो वर्ष ०६९/७० मा ३८ हजार ८ सय २२ क्विन्टल र ०६७/६८ मा ५५ हजार ४ सय ८८ क्विन्टल चामल खरिद गरेको थियो ।

चमल बिक्री गर्ने संस्थानले धानमिल राखेर पछिल्लो समय किसानबाट सोझै धान खरिद गर्न थालेको हो । ‘सोझै किसानबाट धान किन्दा संस्थान र किसान दुवैको हित देखिएकाले चामलभन्दा धान किन्नतर्फ अग्रसर भएका हौँ,’ सिटौलाले भने । यद्यपि यो वर्ष संस्थानले थोरै परिमाणमा चामल खरिद गर्ने तयारीसमेत थालेको उनले जानकारी दिए ।

संस्थानले देशभर रहेका क्षेत्रीय कार्यालय र डिपोबाट धान खरिद गरिरहेको हो । हालसम्म महेन्द्रनगरबाट १ सय २२ क्विन्टल र धनगढीबाट ११ हजार ५ सय ३७ क्विन्टल खरिद गर्न लागेको छ ।त्यस्तै, बर्दियाको राजापुरबाट २९ हजार ३ सय क्विन्टल, नेपालगञ्जबाट १० हजार २ सय ४६ क्विन्टल, भैरहवाबाट ११ हजार ८ सय क्विन्टल, वीरगञ्जबाट ४ हजार ९ सय ६८ क्विन्टल, जनकपुरबाट ३१ सय ५५ क्विन्टल र लाहानबाट १० हजार ६ सय ७२ क्विन्टल धान खरिद गरेको सिटौलाले जानकारी दिए ।
संस्थानले मोटा, मकवानपुरे, जिरा मसिनो र बासमती धान किसानबाट खरिद गरेको हो । ‘मोटा प्रतिकिलो १९, मकवानपुरे प्रतिकिलो २०, बासमती प्रतिकिलो ५१ र जिरा मसिनो प्रतिकिलो २८ रुपैयाँ ५० पैसाका दरले खरिद गरेका हौँ,’ सिटौलाले भने ।

संस्थानले किसानबाट खरिद गरेको धान कुटाएर चामल बनाउन महेन्द्रनगर, राजापुर र जनकपुरमा धान मिल राखेको छ । महेन्द्रनगर र जनकपुरका धानमिलले प्रतिघन्टा समान १० क्विन्टल चामल निकाल्छन्् भने राजापुरका धानमिलले प्रतिघन्टा २० क्विन्टल चामल निकाल्छन् ।

संस्थानले चामलको सट्टा धान खरिद गरी अन्य स्थानमा समेत धानमिल खोल्ने योजना बनाइरहेको सिटौलाले जानकारी दिए । ‘अघिल्लो आवदेखि अन्य स्थानमा समेत धानमिल खोल्ने गृहकार्यमा छौँ, बजेटको समस्याले रोकिएको छ,’ उनले भने ।

संस्थानले खरिद गरेको धानलाई चामल बनाएपछि बिक्री मूल्य बजार नहेरी आफैँ निर्धारण गर्दै आएको छ । ‘हाम्रो लागतलाई गणना गरेर चामलको बिक्री मूल्य तय गर्छौं,’ उनले भने ।अहिले काठमाडौंमा जिरा मसिनो चामलको उपभोक्ता मूल्य प्रतिकिलो ४८, मकवानपुरेको प्रतिकिलो ३४ र बासमतीको प्रतिकिलो ७२ रुपैयाँ तोकिएको छ । सस्तो मूल्यको मोटा चामल काठमाडौंभन्दा पहाडी जिल्लामा बढी खपत हुने गरेको छ ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :