तीनगुणा मासु बढ्ने नेपाली बाख्राको विकास

यो समाचार 231 पटक पढिएको

दमौली, ६ फागुन। प्रचलित जातको भन्दा तीन गुणा बढी मासु हुने नेपाली बाख्राको जाति विकास गरिएको छ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गत रहेको तनहुँको बन्दीपुरस्थित बाख्रा अनुसन्धान केन्द्रले ४ वर्ष लगाएर उक्त नयाँ जातिको विकासमा सफलता पाएको हो । विदेशबाट सिमेन मगाएर बोअरलाई नेपाली स्थानीय जातसँग क्रस गरी विकास गरिएको जातिलाई ‘नेपाली बोअर’ नाम दिइएको छ । परीक्षणका क्रममा देखिएको नतीजाले यो जाति नेपाली माटोका लागि निकै उपयुक्त हुने केन्द्रका प्रमुख कृषि वैज्ञानिक राम घिमिरेले जानकारी दिए । विकसित नयाँ जात तराईदेखि पहाडको ११ सय मिटरको उचाइँसम्म पाल्नका लागि उपयुक्त हुने उनले बताए ।BakhraNewsagrocom

स्थानीय जातका बाख्रामा मासु बढ्ने क्रम ढिलो हुने भएकाले स्थानीय हावापानीमा उपयुक्त धेरै मासु दिने जातको खोजीका क्रममा ‘नेपाली बोअर’ विकास गरिएको घिमिरेले उल्लेख गरे ।
नयाँ विकसित जातको मासु छिटो बढ्छ,’ उनले भने, ‘नेपालको मध्यपहाडी भेगका लागि यो उपयुक्त पाइएको छ ।’ नेपालमा पाल्ने गरिएको स्थानीय बाख्राका जातको विकास गति दैनिक सरदर ५० ग्राम रहने गरेको छ । तर, विकसित नयाँ जातको वृद्धिदर भने दैनिक १ सय ५० ग्राम छ । यसले गर्दा नेपाली हावापानीमै स्थानीय जातसरह गरिने पालनपोषणले पनि धेरै फाइदा दिन सक्ने देखिएको छ । शुद्ध बोअर जात सीधै नेपालमा ल्याउँदा यहाँको हावापानीमा उपयुक्त नहुने भएकाले लामो समय लगाएर स्थानीय जातसँग क्रस गरिएको कृषि वैज्ञानिक घिमिरेले बताए ।

यहीँ विकास गरिएका कारण नयाँ विकसित जातमा रोग प्रतिरोधक क्षमता बढी हुने वैज्ञानिकहरूको भनाइ छ । परीक्षणका क्रममा उपयुक्त पाइएपछि नार्कले मध्यपहाडी क्षेत्रमा यसलाई पाल्नका लागि सिफारिश गरेको छ । यो जातका बाख्रा चराउनभन्दा बाँधेर पाल्न उपयुक्त हुने बताइएको छ । विभिन्न ठाउँबाट यसको माग हुने सम्भावनालाई ध्यानमा राखी गोरखाको बक्राङ, तनहुँ, लमजुङ र दाङमा प्रजनन पनि थालिएको छ । चाँडै धेरै क्षेत्रमा पुर्‍याउने गरी ती केन्द्रहरूले प्रजननमार्फत पाठापाठी उत्पादन गरिरहेको केन्द्र प्रमुख घिमिरेले बताए ।

थप जात विकास क्रममा
सम्पूर्ण मध्यपहाडी क्षेत्रको बाख्रासम्बन्धी अनुसन्धान र सिफारिशको जिम्मा पाएको उक्त केन्द्रले नेपाली हावापानीका लागि उपयुक्त दूध र मासु दुवै दिने खालको जातको पनि विकास गर्ने तयारी गरिरहेको छ । यस विषयमा डेढ वर्षयता अनुसन्धान चलिरहेको केन्द्र प्रमुख घिमिरेले बताए । यस्तै, दूधमात्र दिने प्रजातिको पनि विकास थालिएको छ ।

– पवन पौडेल

रचनात्मक प्रतिक्रिया दिनुहोस् :