खेतमा बसेर कम्प्युटर

यो समाचार 224 पटक पढिएको

सुर्खेत,  ६ फागुन/ तरकारी र अन्नबालीमा कीरा लागोस् कि अरु कुनै समस्या देखियोस्, पोखरीकाँडाका तेजबहादुर श्रेष्ठलाई कुनै चिन्ताले सताउने छैन। खेतबारीमा समस्या देखिए कृषिविज्ञ खोज्दै भौंतारिनु पर्ने अवस्थाबाट उनी मुक्त भएका छन्। ‘आफूले खोजेको जानकारी गाउँमै बसेर कम्प्युटरबाट पाइने भएपछि अब ‘टेन्सन’ छैन,’ उनी भन्छन्, ‘हामी किसानको लागि यस्तो दिन पनि आउँदो रहेछ।’

खेतमा बसेर कम्प्युटर

 कृषि मन्त्रालयले नेपालमै पहिलोपटक सुर्खेतका तीन गाउँमा ‘इ–एग्रिकल्चर’ प्रविधि प्रयोगमा ल्याएपछि यहाँका किसान प्रफुल्लित छन्। इ–एग्रिकल्चरमा किसानले कम्प्युटर सफ्टवेयरको माध्यमबाट गाउँमै बसेर कृषिसम्बन्धी जानकारी हासिल गर्न सक्नेछन्।
कृषि मन्त्रालयअन्तर्गत माटो व्यवस्थापन निर्देशनालयका माटोविज्ञ चन्द्र रिसाल यो प्रविधिले किसानलाई सानोतिनो समस्या लिएर सहरतिर भौंतारिनु पर्ने अवस्थाबाट मुक्त गर्ने बताउँछन्। ‘अहिले हामीले यसलाई परीक्षणको रुपमा ल्याएका छौं,’ उनले भने, ‘प्रभावकारी भयो भने सबै किसानको पहुँचमा पुर्याीउन प्रयास गर्नेछौं।’इ–एग्रिकल्चरमा मृतिका, अंकुर, प्रोतिकार र भिस्टार गरी चार किसिमको सफ्टवेयर राखिएको छ। रिसालका अनुसार किसानले माटो परीक्षण, मल छनोट र प्रयोगको लागि मृतिका सफ्टवेयरको सहयोग लिन सक्ने छन्।
त्यसैगरी बालीको बीउ छनोट गर्न अंकुर नामक सफ्टवेयर राखिएको छ। ‘बालीनालीमा रोग वा कीरा लागेमा त्यसबारे जानकारी लिन र आवश्यक औषधी खरिद गर्न प्रोतिकार सफ्टवेयर विकास गरिएको छ,’ उनले भने, ‘भिस्टार सफ्टवेयरले किसानलाई कुन बाली कहिले भिœयाउने र त्यसको बजारीकरण कसरी गर्ने भन्नेबारे आवश्यक जानकारी दिन्छ।’ यो प्रविधिले किसानलाई किसानमा सीमित नराखी ‘कृषि व्यवसायी’को रुपमा स्थापित गर्ने मूल मर्म बोकेको उनले बताए।
कृषि मन्त्रालयद्वारा सञ्चालित उच्च मूल्य कृषि आयोजनाले अहिले यो प्रविधि सुर्खेतका सानोसुर्खेत, पोखरीकाँडा, मेहलकुना र उत्तरगंगा गाविसमा प्रयोग गरेको छ। प्रविधि प्रयोगको जिम्मा सबै गाविसका एक/एकवटा कृषि सहकारीलाई दिइएको छ। आयोजनाका अनुगमन तथा मूल्यांकन विज्ञ कृष्ण थापा सहकारीका अगुवा किसानलाई प्रविधि सञ्चालनबारे तालिम प्रदान गरिएको बताउँछन्।
‘अब उहाँहरुले सहरमा बस्ने कृषि विज्ञको कुरा गाउँमै बसेर सुन्न र बुझ्न सक्नुहुनेछ,’ उनले भने, ‘प्रविधि सुरु भएको एक हप्तामै किसानले धेरै कुरा सिकिसक्नुभएको छ।’ यो प्रविधि सुर्खेतमा सफल भए आयोजना लागू भएका अन्य जिल्ला दैलेख, जाजरकोट, अछाम, जुम्ला, कालिकोट र सल्यानमा लगिने उनले बताए।
हाल यो सफ्टवेयर अंग्रेजीमा राखिएको छ। एक साताभित्र यसलाई नेपालीमा रुपान्तरण गरिनेछ। लाटीकोइलीस्थित सानो सुर्खेत कृषि सहकारी समूहका व्यवस्थापक कर्णबहादुर रास्कोटी इ–एग्रिकल्चरले आफूजस्ता किसानलाई सुविधा भएको बताउँछन्। ‘नेपालीमा अनुवाद भएपछि यसले थप राहत मिल्नेछ,’ उनले भने, ‘गाउँमै बसेर कृषिविज्ञका सल्लाह, सुझाव पाउनु हाम्रो लागि त भाग्य हो।’ एउटा कम्प्युटरबाट समूहका एक सय ३६ किसान लाभान्वित भएका उनले जानकारी दिए।

कहाँबाट भित्रियो इ–एग्रिकल्चर?

सन् २००६ का नोबेल शान्ति पुरस्कार विजेता मोहमद युनुस संस्थापक रहेको बंगलादेशको ग्रामीण नामक कृषि संस्थाले अमेरिकी कम्पनी इन्टेलको साझेदारीमा यो प्रविधि विकास गरेको हो। सुर्खेत आएका ग्रामीणका सामाजिक सहकार्य अधिकृत पावेल हकले बंगलादेशको प्रविधि लागू भएको क्षेत्रमा कृषि उत्पादन वार्षिक १५ देखि २५ प्रतिशत बढेको जानकारी दिए। दुई वर्षअघि सुरु भएको प्रविधि अहिले त्यहाँका ५० वटा कृषि समूहमा विस्तार भएको छ। ‘किसानले यसमा रुचि देखाएका छन्,’ उनले भने, ‘यसले हामीलाई पनि उत्साहित बनाएको छ।’ उनले यो प्रविधि प्रयोग गर्न सामान्य साक्षर भए पुग्ने बताए।
इ–एग्रिकल्चर बंगलादेश, नेपाल, भारत, कम्बोडियालगायत देशमा प्रयोग गरिएको छ। इन्टेलका भारतस्थित सोसियल बिजनेस एक्स्पर्ट श्रीनिवास गरुडाचर यसको माध्यमबाट किसान आफैंले आफ्नो माटो कस्तो छ, कुन माटोमा कुन बाली लगाउन मिल्छ भनेर जाँच्न सक्ने बताउँछन्। यसको लागि किसानलाई कम्प्युटरसँगै माटो परीक्षण बाकस पनि दिइएको छ। ‘किसानको लागि माटो मुटु हो, योसँग उनीहरुको भविष्य जोडिएको हुन्छ,’ उनले भने, ‘त्यसैले किसानलाई आधुनिक प्रविधितिर लग्नुपर्छ।’
नागरिक दैनिकबाट

रचनात्मक प्रतिक्रिया दिनुहोस् :