मछिनो प्रशोधन उद्योग स्थापनापछि युवालाई रोजगारी

यो समाचार 210 पटक पढिएको

  • जीवन शर्मा

ओखलढुंगा, ६ फागुन/ जिल्लाको पश्चिमी गाविस पोकलीमा मछिनो प्रशोधन उद्योग स्थापना भएको छ । पोकलीको वडा नम्बर ८ मा मछिनो प्रसोधन उद्योग स्थापना भएपछि स्थानीय २० जना युवाले रोजगारी पाएका छन् । दियाले सामुदायिक वन उपभोक्ता समूह र केहि स्थानियहरुको संयुक्त लगानीमा उद्योग स्थापना गरिएको दियाले सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष डेण्डि शेर्पाले बताए ।
गाउँमै उद्योग स्थापना भएपछि रोजगारीको अवसर सिर्जना भएको हो । दियाले सामुदायिक वन समुह र तीन जना स्थानीय लगानीकर्ताहरु रिन्जी शेर्पा, छोङ्कर्मा शेर्पा र डेण्डी शेर्पा समेतको ६ लाख ७५ हजारको लगानीमा उद्योग स्थापना भएको उद्योगका लगानीकर्ता रिञ्जी शेर्पाले जानकारी दिए ।

 

वनमा खेर गएको मछिनाको स्याउला लाइ सदुपयोग गर्दा राम्रो आम्दानी गर्न सकिने भएकाले उद्योग स्थापना गरेर काम थालेको उनको भनाइ छ । मछिनो प्रशोधन उद्योग स्थापना भएपछि मछिनो संकलन गर्ने र प्रशोधन गर्ने काममा स्थानीय २० जनालाई रोजगारी मिलेको सामुदायिक वनका अध्यक्ष डेण्डी शेर्पाले बताए । सुगन्धित तेलका लागी प्रशोधन गरिने मछिनोको स्याउलाबाट सामुदायिक वनलाई समेत प्रतिकिलो २५ पैसा आम्दानी हुनेछ ।
प्रशोधित मछिनोको तेल प्रति लिटर एक हजार १ सय रुपैंयामा बिक्रि हुने गरेको छ । मछिनो प्रशोधन उद्योग स्थापना भएपछि त्यस क्षेत्रका एक दर्जन बढि सामुदायिक वनहरुले समेत मछिनोको स्याउला संकलन गरेर बिक्रि गरी आम्दानी गर्न थालेका छन । मछिनो प्रशोधनबाट सामुदायिक वन तथा लगानी कर्तालाई आम्दानी हुने र स्थानीयलाई समेत रोजगारी दिन सकिने भएकाले उद्योग स्थापना गरिएको छोङ्कर्मा शेर्पाले बताए ।

 

यसभन्दा अघिपनि जिल्लाका विभिन्न ठाँउमा मछिनो प्रशोधन उद्योग स्थापना भएपनि व्यवथापन हुन नसक्दा संचालनमा आउन सकेका छैनन् । अरुको पाठ सिकेर भए पनि उद्योगलाई निरन्तर चलाउने योजना रहेको लगानीकर्ताहरुले बताएका छन । गाउँमै उद्योग संचालनमा आएपछि उपयोगविहिन भएर नास भएको मछिनोको स्याउला प्रयोगमा आउदा स्थानीयलाइ रोजीरोटीको अवसर मिलेकोमा खुसी भएका छन ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :