पकेट क्षेत्रमै मासिँदै सुन्तला

This post has already been read 241 times!

पोखरा, ६ फागुन /  सुन्तला फलाउने ख्याति कमाएका कास्कीका केही गाउँका बगैंचा नष्ट हुँदै गएका छन्। हंशपुर, भरतपोखरी र थुम्की गाविसमा सुन्तलाका बोट धमाधम मासिन थालेको जिल्ला कृषि कार्यालयका वागवानी विकास अधिकृत मनहर कडरियाले जानकारी दिए।

सुन्तला टिप्दै किसान। (तस्बीर: कृष्णमणि बराल)

हंशपुर, पुम्दीभुम्दी, निर्मलपोखरी, कृस्ती, थुम्की, रूपाकोट, कालिका, भरतपोखरी, र सल्यान गाविस जिल्लामा सुन्तलाका पकेट क्षेत्र मानिन्छन्।

 

‘जरा कुहिने रोग र खाद्यतत्त्वको अभावका कारण यस्तो भएको हुन सक्छ’, प्रारम्भिक अध्ययनका आधारमा कडरियाले भने, ‘सिटस ग्रिनिङको पनि समस्या हुनसक्छ। उनले अध्ययन चलिरहेकाले समस्या ठ्याक्कै यही हो भन्न नसकिने बताए।हंशपुरका ९० प्रतिशतभन्दा बढी बगैंचाका सुन्तला बोट नष्ट भएको कडरियाले बताए। भरतपोखरीका ६० र थुम्कीका ५० प्रतिशतभन्दा बढी बगैंचामा बोट मरेका छन्।

 

एक पटक रोपेको बोटलाई बेलाबखत हाल्नुपर्ने मलजल र गर्नुपर्ने हेरचाहबारे किसानको ध्यान नपुगेको पनि कडरियाले औंल्याए। ‘मलजल नहाल्दा सुन्तलाका बोटलाई खाद्यतत्त्व अभाव हुन्छ’, उनले भने। किसानले समयमै खबर गर्दा पनि जिल्ला कृषि कार्यालयबाट समस्या पहिचान नगरिएको र औषधोपचारमा सहयोग नपाएको गुनासो गरेका छन्।

 

‘एक वर्षअघि नै रोग पत्ता लगाउन बोटको नमुना लगियो, त्यसको रिपोर्ट आएन। फेरि चार महिनाअघि पनि लगियो तर दुवै पटक कुनै अत्तोपत्तो भएन’, सुन्तला उत्पादक संघ कास्कीका अध्यक्ष धर्मराज न्यौपानेले भने।

 

किसानका बगैंचा मासिँदै गएकाले चार वर्षअघि तीन लाख रुपैयाँको सुन्तला बिक्री गरेका हंसपुरका थुप्रै किसानको आम्दानी यसपाली लगभग शून्य भएको अध्यक्ष न्यौपानेले जानकारी दिए।

 

‘हंशपुरमा मात्रै चार वर्षअघि तनि करोड रुपैयाँभन्दा बढीको सुन्तला फलेको थियो’, उनले भने, ‘यसपालि डेढ लाखको मात्रै उत्पादन भयो। युवा वैदेशिक रोजगारमा जाने र घरका वृद्धवृद्धाले स्याहारसुसार गर्न नजान्ने हुँदा समस्या आएको न्यौपानेको ठम्याइ छ।

 

भरतपोखरीका किसान चन्द्रप्रसाद पौडेलले टुप्पोबाट बोट सुक्दै जाने समस्या देखिएको जानकारी दिए। ‘१२ वर्ष लगाएर हुर्काएका सुन्तलाका पाँच सय बोटबाट तीन वर्षमात्रै फल लिन पाएँ’, उनले भने।

 

कृषि अनुसन्धान केन्द्र (वागवानी) पोखराका प्रमुख रामबहादुर केसीका अनुसार पोखरा उपत्यका सुन्तलाका लागि ख्यातिप्राप्त सहर थियो। स्थानीय मालेपाटनमा २०१८ सालमा वागवानी स्थापना भएपछि सुन्तला उत्पादनमा किसान व्यावसायिक बन्दै गएका थिए।

 

‘पोखरा सहरभित्रका मालेपाटन, बाटुलेचौर, हेम्जालगायत ठाउँमा सुन्तला उत्पादन राम्रो हुन्थ्यो’, उनले भने, ‘तर टुप्पोबाट बोट सुक्दै जाने समस्या ‘सिटस ग्रिनिङ’ ले छोएपछि भने २०४५ सालदेखि सहरमा सुन्तला बगैंचा मासिएका हुन्।

 

विदेशबाट सुन्तला ल्याउँदा रोग पनि सँगसँगै आएको केसी बताउँछन्। अहिले गाउँतिर देखिएको समस्या पनि सिटस ग्रिनिङ हुन सक्ने उनको अनुमान छ।

 

कास्कीमा वार्षिक सात हजार पाँच सय टन सुन्तला उत्पादन हुन्छ। यो तीन वर्षदेखि घट्दो क्रममा रहेको कडरियाले जानकारी दिए। नेपालमा दुई लाख ४० हजार टन सुन्तला उत्पादन हुन्छ। यसले मागको ५० देखि ६० प्रतिशत धान्ने राष्ट्रिय सुन्तला जात बालीविकास कार्यक्रमका वरिष्ठ वागवानी विकास अधिकृत भरतबहादुर आचार्यले जानकारी दिए।