भोटेचौरको चिया बगान पर्यटक आकर्षणको केन्द्र

This post has already been read 170 times!

सिन्धुपाल्चोक,  ६ फागुन/ भोटेचौरस्थित चिया बगान पर्यटकका लागि आकर्षणको केन्द्र बनेको छ। यहाँको चियाले व्यावसायिक उत्पादन दिन थालेपछि आन्तरिक पर्यटकका लागि यो क्षेत्र आकर्षणको केन्द्र बनेको हो। राजधानीबाट ४२ किलोमिटर दूरीमा अवस्थित भोटेचौरमा सयौं रोपनी जग्गामा चिया लगाइएको छ।

VotechorNewsagrocomचिया बगान हेर्न राजधानी र आसपासका बासिन्दा आउने गरेको स्थानीय बताउँछन्। ‘राजधानीनजिकै चिया बगान हेर्न पाइने भएपछि चिया खेती हेर्न इलाम पुग्नुपर्ने बाध्यता भएन। त्यसैले पनि राजधानीका मान्छे आउने गरेका छन्’, स्थानीय राजनीतिक कर्मी बद्री चौलागाईंले भने, ‘चिया खेतीले भोटेचौरको मुहार परिवर्तन गर्ने अपेक्षा लिएका छौं।’उनले आन्तरिक पर्यटक बढेको र बाह्य पर्यटनको सम्भावना पनि उत्तिकै भएको बताए।
‘विशाल चिया बगान हेर्दा इलामको झल्को आउँछ’, सदरमुकाम चौताराबाट बगान हेर्न पुगेका सुरेश बुढाथोकीले भने, ‘साँच्चै सुन्दर रहेछ भोटेचौरको चिया बगान।’बगान बनाउनुअघि बँदेलले अनाज खाएर स्थानीय बासिन्दा हैरान थिए। अहिले चिया बगान हेर्न पर्यटक आउन थालेपछि उनीहरू उत्साहित भएका छन्।

बगान हेर्न आउनेको जमात बढ्न थालेपछि स्थानीय ध्रुव खतिवडासमेत तीनजनाले ३० लाख रुपैयाँभन्दा बढी खर्च गरेर बेम्बो कटेज स्थापना गरेका छन्। खतिवडाका अनुसार शुक्रबार र शनिबार बगान हेर्न आउनेको घुइँचो लाग्छ।भोटेचौर गाविसको एक हजार दुई सय रोपनीभन्दा बढी जग्गामा चिया खेती गरिएको छ। १७ वर्षअघि सुरु गरिएको खेतीबाट तीन वर्षदेखि व्यावसायिक उत्पादन हुन थालेको एभरेस्ट चिया बगानका कार्यकारी अध्यक्ष सोमप्रसाद गौचनले बताए। अझै अघिबाट उत्पादन हुनुपर्ने भएपनि व्यवस्थापनको कमजोरीले उत्पादन ढिला भएको उनी बताउँछन्।

बगान अवलोकन गर्न आउने आन्तरिक पर्यटकको संख्या बढेपछि होटल र रिसोर्ट खोल्न अन्य पनि उत्साहित भएर लागेका छन्। चिया बगानमात्र हैन, अन्य हिसाबले पनि उक्त क्षेत्र पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण भएको खतिवडाको भनाइ छ। नजिकै रहेको पाताल गुफा, चमेली माई गुफा र यहाँबाट देखिने हिमशृंखलाले सुनमा सुगन्ध थपेको उनको तर्क छ।

अध्यापन गर्ने क्रममा घुम्न आएका गौचनले इलाम र दार्जिलिङजस्तै ठाउँ देखेपछि चिया खेती हुने अनुमान गरेर १७ वर्षअघि स्थानीयको जग्गा भाडामा लिएर खेती सुरु गरेका हुन्।अर्थोडक्स जातको उन्नत हाइब्रिड चिया लगाएको गौचनले जानकारी दिए। बगानमा विभिन्न रोगमा प्रयोग हुने उच्चस्तरको ‘ग्रिन टि’ उत्पादन भइरहेको गौचनको दाबी छ।

गौचनका अनुसार त्यहाँ उत्पादित चियाको मुख्य बजार जर्मनी हो भने युरोपका अन्य मुलुक र अमेरिकामा पनि केही मात्रामा निर्यात हुन थालेको छ। उत्पादित चियाको प्रतिकेजी एक हजार पाँच सय रुपैयाँसम्म मूल्य पर्ने गौचनले जानकारी दिए।बगान व्यवस्थित बनाएर उत्पादन सुरु गर्दासम्म गौचनसहितको समूहले सात करोड लगानी गरिसकेको छ।

– युवराज पुरी