जुट खेती घटेसँगै कच्चा पदार्थमा परनिर्भरता बढ्यो

यो समाचार 196 पटक पढिएको

विराटनगर, ६ फागुन / जुट खेती कम हुन थालेपछि जुट उद्योग कच्चा पदार्थका परनिर्भर हुने क्रम बढेको छ । स्थानीय उत्पादन पर्याप्त नभएपछि भारत र बंगलादेशबाट आयात बढेको छ ।यहाँका जुट उद्योगले दशकयता बर्सेनि झन्डै अढाई अर्ब मूल्य बराबरको कच्चा जुट भारत र बंगलादेशबाट आयात गर्दै आएका छन् । जुटविज्ञ मोहनचन्द्र घिमिरका अनुसार एकताका कच्चा जुट निकासी गर्दै आएका जुट उद्योग दुई दशकयता कच्चा जुटमा परर्निभर छन् ।

JutNewsagrocomजुट बाली विकास संघ कायम रहँदा २०४१ सम्ममा नेपालमा वाषिर्क सरदर ६५ हजार टन कच्चा जुट उत्पादन हुँदा भारत निकासी हुन्थ्यो । घिमिरेका अनुसार जुट खेती हुन छाडेपछि नौवटा जुट उद्योगलाई आवश्यक ८० प्रतिशत कच्चा जुट आयात हुने गरेको छ ।

 

दुई दशकअघि मुलुकमा झन्डै ५० हजार हेक्टरमा जुट खेती हुँदा निकासी पनि हुने गरेको थियो । ‘पछिल्लो समयमा १० हजार हेक्टरमा मात्र यसको खेती छ,’ घिमिरेले भने, ‘स्थानीय उत्पादनले उद्योगको आवश्यकता २० प्रतिशत मात्र धान्छ ।’ मुलुकका नौवटा जुट उद्योगलाई वाषिर्क करिब ९० हजार टन कच्चा जुटको आवश्यकता पर्छ ।

 

११ वटा जुट उद्योगमध्ये ९ वटा चालू छन् भने दुइटा बन्द छन् । राष्ट्र बैंकको प्रतिवेदन अनुसार ती उद्योगमा २ अर्ब ६१ करोड ६३ लाख लगानी छ । व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका अनुसार गत आर्थिक वर्ष यहाँका जुट उद्योगले भारत र बंगलादेशबाट २ अर्ब ५७ करोड मूल्यको कच्चा जुट आयात गरेर करिब ५ अर्ब बराबरका तयारी वस्तु निकासी गरेका थिए ।
जुट उद्योगमा करिब २० हजारले प्रत्यक्ष रोजगार पाएका छन । नेपाल जुट संघका अध्यक्ष राजकुमार गोल्छाका अनुसार कच्चा जुटमा परनिर्भरता अनि ऊर्जा समस्याका कारण ६० प्रतिशतमात्र उत्पादन गर्न बाध्य छन् ।
उत्पादित जुट वस्तुको ९५ प्रतिशत बजार भारत हो । भारतबाट कच्चा जुट आयात गरी तयारी वस्तु भारतमै बेच्नुपर्ने बाध्यता छ । गोल्छाका अनुसार भारत र बंगलादेशमा जुट उद्योगलाई ऊर्जा र निकासीमा नगद सहुलियत छ । यहाँ ऊर्जामा सहुलियत भए पनि निकासीमा नगद छुट छैन । त्यसैले विदेशी उत्पादनसँग प्रतिस्पर्धा गर्न गाह्रो पर्ने उनको भनाइ छ ।

-विनोद भण्डारी

रचनात्मक प्रतिक्रिया दिनुहोस् :