स्ट्रबेरी निर्यातमा समस्या

This post has already been read 291 times!

नुवाकोट, ५ फागुन/  नेपालको मुख्य बजार र भारतमा बिक्री हुँदै आएको स्ट्रबेरी तेस्रो मुलुकमा पुर्‍याउने तयारी गरिए पनि भाषा र प्रक्रिया बुझ्न नसक्दा किसान समस्यामा परेका छन्।पूर्वी नुवाकोटमा पर्ने ककनी, ओखरपौवालगायतका क्षेत्रका किसानले उत्पादन गरेको स्ट्रबेरी तेस्रो मुलुकमा निर्यात गर्ने योजना पूरा हुन सकेको छैन।

StraberyNewsagrocom

सरोकारवाला निकायले तेस्रो मुलुकमा स्ट्रबेरी निर्यात गर्न सुझाउ दिए पनि आवश्यक ज्ञानको अभावमा तामाङ समुदायका स्ट्रबेरी उत्पादक किसान रनभुल्ल छन्। नुवाकोटको क्षेत्र नं. १ स्थित ओखरपौवा गाविस वडा नं. ६ हिलेभित्ताआसपासका सयौं रोपनी जग्गामा अधिकांश तामाङ समुदायले स्ट्रबेरी खेती गर्दै आएका छन्।
उत्पादित स्ट्रबेरी भारतबाहेक अन्य देशमा लैजान कानुनी भाषा तथा प्रवेशाज्ञालगायतका समस्या रहेको गुनासो किसानको छ। ‘साक्षर नभएको हुँदा झनै समस्या परेको छ’, स्ट्रबेरी उत्पादक कान्छाराम तामाङले भने, ‘विश्वसँग प्रतिस्पर्धा गर्नु छ। त्यसैले गुणस्तरमा ध्यान दिएका छौं तर लैजाने पो कसरी  ?’

बहुउपयोगी र जुनसुकै अवस्था र उमेर समूहका व्यक्तिले खान मिल्ने चिनीरहित स्ट्रबेरी तेस्रो मुलुकमा पनि निर्यात गर्नुपर्ने कृषि विज्ञको भनाइ छ। यसबाट आयातमुखी अर्थतन्त्रमा केही राहत पुग्ने उनीहरू बताउँछन्।

नुवाकोटको ककनी, ओखरपौवा र चाउथे गाविसमा दुई दशकदेखि तीन सय किसान स्ट्रबेरी खेतीमा संलग्न छन्। नेपालमै पहिलो पटक सफलतापूर्वक खेती सुरु भएको ओखरपौवामा पनि अहिले लघु उद्यम विकास कार्यक्रमले स्ट्रबेरीको विकास र प्रवर्द्धनमा सहयोग गर्दै आएको छ।

किसानको हितका लागि सरकारले स्ट्रबेरी उत्पादन गरिरहेका किसानलाई सहुलियतमा ऋण उपलब्ध गराउनुका साथै स्ट्रबेरीको खेतीलाई राष्ट्रिय फलफूलखेती बालीको रूपमा सूचीकृत गरिनुपर्ने जिल्ला लघु उद्यमी संघको भनाइ छ।

साथै स्ट्रबेरी विदेशी नाममा भएको र नेपालमा यसको सफलतापूर्वक खेती सम्पन्न गरिएकाले यसको नेपाली नाम कायम गरिनुपर्ने पनि किसानको भनाइ छ।बिरुवा रोपिएको दुई महिनामा उत्पादन सुरु हुने स्ट्रबेरी बजारमा प्रतिकिलो दुई सयदेखि तीन सय रुपैयाँसम्म पर्ने गरेको छ। स्ट्रबेरी व्यवसायीले सरकारले स्ट्रबेरीका लागि आवश्यक मलखाद र बिउबिजन उपलब्ध गराउनुपर्ने माग गरेका छन्।

– देवचन्द्र भट्ट