मकै रोप्ने मेसिनको परीक्षण तथा प्रदर्शन

This post has already been read 194 times!

वीरगन्ज, ३ फागुन । कृषि औजार अनुसन्धान केन्द्र वीरगन्जले ट्र्याक्टरबाट सञ्चालित मकै रोप्ने मेसिन ‘ज्याबसिडर’ को पहिलो पटक परीक्षण तथा प्रदर्शन गरेको छ । नेपालको खेती प्रणालीमा सुहाउँदो र कम लागतमा मकैको उत्पादन र उत्पादकत्व बढाउने खालको उक्त मेसिन पहिलोपटक नेपाल भित्रिएको केन्द्रको दाबी छ ।

tractor

यसको प्रयोगबाट किसानलाई मकै रोप्ने खर्चमा ३० देखि ४० प्रतिशत फाइदा पुग्ने अनुमान कृषि वैज्ञानिक तथा प्राविधिकको छ । यस क्षेत्रका किसान, मकै अनुसन्धानकर्ता र प्राविधिकको रोहबरमा केन्द्रले पहिलोपटक बाराको भलुई भरबलिया गाविसका किसान पारस ठाकुरको खेतमा उक्त मेसिनको परीक्षण तथा प्रदर्शन गरिएको हो । चिनमा निर्मित र त्यहाँबाट मुलुकमै पहिलो पटक आयातित उक्त मेसिनले मल, बीउ र बीउलाई माटोले छोप्ने कार्य एकै साथ गर्छ ।

उक्त प्रविधियुक्त मेसिनमा बीउ र मलका छुट्टाछुट्टै प्लेट रहेका छन् । ट्र्याक्टरमा जोडेर चलाउन सकिने अर्धस्वचालित यो उपकरणबाट प्रतिघन्टा १५ कट्ठा खेतमा मकै रोप्न सकिने दाबी केन्द्रको छ । परम्परागत तरिकाभन्दा यो उपकरणले खेती गर्दा मकैको उत्पादन र उत्पादकत्व झन्डै तीन/चार गुणा बढी हुने अनुमान गरिएको छ, कृषि औजार अनुसन्धान केन्द्र वीरगन्जका प्रमुख ईश्वरीप्रसाद उपाध्यायले भन्नुभयो, “मकैको व्यावसायिक खेतीका लागि केन्द्रले यो मेसिन खरिद गरेर नेपालमा पहिलोपटक परीक्षण गरेको हो ।” यसको प्रभावकारिता हेरेर अगामी दिनमा यस प्रविधिलाई किसानको घरदैलोसम्म पुयाउने योजना केन्द्रले लिएको जानकारी प्रमुख उपाध्यायले दिनुभयो ।

 

यस प्रविधिबाट खेती गर्दा समयमा बीउ रोप्न सकिन्छ, कृषि इन्जिनियर मिश्रले भन्नुभयो, “समयमा बीउ रोप्न सकिने हुँदा यसको उत्पादन पनि बढी हुन्छ ।” कम पानीको आवश्यकता, मकैको रोपाइँ खर्चमा लगभग दुई तिहाइ बचत, श्रम र श्रमिकको बचत, बीउ र मलको समुचित प्रयोग र यसको प्रभावकारितामा वृद्धि तथा माटोको उर्वरा शक्तिमा सन्तुलन भई उत्पादनमा अत्यधिक वृद्धि जस्ता कारणले यो प्रविधि किसानका लागि उपयोगी सिद्ध हुने जानकारी इन्जिनियर मिश्रले दिनुभयो ।

 

परम्परागत तरिकाबाट मकैखेती गर्दा एक दिनमा प्रतिकट्ठा क्षेत्रफलमा दुई/तीन जना मजदुर लाग्नेमा यो प्रविधिबाट खेती गर्दा एक घन्टामा १५ कट्ठा क्षेत्रफलसम्ममा मकै रोप्न सकिन्छ । यो उपकरणले किसानको खेती लागत ह्वातै घटाइदिन्छ, केन्द्रका कृषि इन्जिनियर सचिन मिश्रले भन्नुभयो, “खेत नजोतिकन पनि बीउ रोप्न सकिने र यो उपकरणबाट एक पटकमा तीन लाइनमा मकै रोप्न सकिन्छ ।” यो प्रविधिबाट खेती गर्दा ३० देखि ४० प्रतिशतसम्म उत्पादन बढ्ने अनुमान मकै अनुसन्धानकर्ताको छ ।

 

सो प्रदर्शनी हेरेपछि बारा भलुही भरबलियाका मकै कृषक पारस ठाकुरले कृषि मजदुरको बढ्दो अभावबाट यो उपकरणले मुक्ति दिलाउन र उत्पादन लागतमा उल्लेखनीय कमी ल्याउँछ भन्नुभयो । त्यसैले मकै कृषकका लागि उपयोगी सिद्ध हुने यो मेसिनको खरिदमा राज्यले अनुदान उपलब्ध गराउनुपर्ने माग उहाँको छ ।