तेह्रथुममा २३ करोडको अदुवा, एउटै गाविसमा साढे दुई करोडको बिक्री

This post has already been read 116 times!

म्याङलुङ, ३ फागुन/  तेह्रथुमको एउटै गाविसबाट साढे दुई करोड रुपैयाँभन्दा बढीको अदुवा बिक्री भएको छ। अदुवा पकेट क्षेत्र जलजले गाविसबाट चार हजार क्विन्टल अदुवा बिक्री भएको हो। बीउका लागि अझै साढे दुई हजार क्विन्टल अदुवा किसानसँग छ।GingerNews Agro

शिवजी अदुवा उत्पादन तथा प्रशोधन सहकारी संस्थाका सचिव लेखनाथ दाहालले गाविसमा उत्पादित कुल ६ हजार क्विन्टलअदुवामध्ये चार हजार क्विन्टल बिक्री भएको जानकारी दिए। सबै उत्पादन जोड्ने हो भने जलजले गाविसमा मात्र करिब चार करोड रुपैयाँको अदुवा उत्पादन भएको उनको भनाइ छ। ‘निकासी भएको अदुवाको मात्र हिसाब गर्दा पनि साढे दुई करोड रुपैयाँ बढीको छ’, दाहालले भने, ‘विगत वर्षहरूको तुलनामा यस वर्ष अदुवाले राम्रो मूल्य पाउँदा किसान दंग छन्।’

उत्पादनको पहिलो सिजन कात्तिकमा प्रतिकिलो अदुवा ४५ रुपैयाँमा किनबेच भएको थियो भने त्यसपछि लगातार मूल्य बढ्दै ९० रुपैयाँसम्म पुगेको छ। तेह्रथुममा विगतका वर्षमा अदुवा प्रतिकिलो ४५ रुपैयाँभन्दा माथि पुगेको थिएन। जलजलेका आठ सय घरधुरीमध्ये ६ सय घरधुरीले अदुवाखेती लगाएको सहकारी संस्थाले जनाएको छ।

गाविसको करिब ६ सय रोपनीमा अदुवाखेती लगाइएको दाहालले बताए। उनका अनुसार गाउँमा तीन क्विन्टलदेखि ४२ क्विन्टलसम्म अदुवा बिक्री गर्ने किसान छन्।
अदुवाको मूल्य उच्च भएपछि किसान खेती विस्तार गर्ने योजनामा छन्। गतवर्ष दुई रोपनी जग्गामा अदुवा लगाएका जलजलेका नगेन्द्र थापाले यस वर्ष चार रोपनीमा अदुवा लगाउने योजना बनाएको बताए।

‘यस वर्ष अदुवाखेतीबाट ७२ हजार रुपैयाँ कमाइ भयो’, थापाले भने, ‘अब खेती विस्तार गरी आम्दानी दोब्बर बनाउने योजना छ।’ १८ क्विन्टल अदुवा बिक्री गरेका उनले चार क्विन्टल अदुवा बीउका लागि राखेका छन्।

तेह्रथुम जिल्लामा यस वर्ष २३ करोड रुपैयाँभन्दा बढीको अदुवा उत्पादन भएको छ। जिल्लामा यस वर्ष तीन हजार एक सय १६ मेट्रिकटन अदुवा उत्पादन भएको वरिष्ठ कृषि विकास अधिकृत तपेन्द्रबहादुर शाहले बताए।

उनका अनुसार यो उत्पादन हालको बजारमूल्यअनुसार २३ करोड ३७ लाखको हो। जिल्लाको दुई सय पाँच हेक्टर जग्गामा अदुवाखेती गरिएको छ। ३२ गाविस रहेको तेह्रथुमका २५ गाविसमा व्यावसायिक अदुवाखेती गरिएको छ।