२० करोडको आलु बिक्री

This post has already been read 116 times!

ढिकुरे (नुवाकोट), ३ फागुन/ राम्रो मौसम र उचित मूल्य पाएपछि यस वर्ष नुवाकोटको केही गाउँमा फलेको आलुबाट २० करोड रुपैया भित्रिएको छ। गत वर्षको तुलनामा बजार भाउ बढेपछि आलु खेती गरेका अधिकांश किसान खुसी भएका छन्। आलुको पकेट क्षेत्र रहेको खानी गाउँ गाविसबाट सबैभन्दा बढी आलु बिक्री गरिएको किसानको भनाइ छ।Potato seedNewsagrocom

हाल नुवाकोटका किसानलाई खेतबारीमा उत्पादित आलु खन्ने चटारो छ। यतिखेर आलुको पकेट क्षेत्रका किसान बिहानैदेखि बेलुकीसम्म आलु खन्ने काममा व्यस्त हुन्छन्। कतिपयले आलु खनेर भण्डारणको तयारी गरिरहेको र कतिपयले खेतबारीमै व्यापारी बोलाएर आलु बिक्री गरिरहेका छन्।

१५ वर्षपहिले धान र गहुँमात्र लगाउने खानीगाउँका किसानलाई पछिल्ला केही वर्षदेखि आलु खेतीले आर्थिक स्तर उकासेर निकै ठूलो राहत दिएको छ।

खानीगाउँ गाविस वडा नं. ५ लवलेका किसान रामकृष्ण लामिछानेका अनुसार पहिले आलु खान मन लागेमा हिमाली भेगमा बसोवास गर्नेसँग धान, गहुँ र कोदोमा लेकाली आलु साटेर खान्थे। अहिले आफ्नै खेतमा ६० किलोग्राम आलुको बीउ रोप्दा एक हजार दुई सय किलोग्राम उत्पादन हुने गरेको उनले सुनाए।

व्यापारीले निलो आलु प्रतिकिलोग्राम १६/१७ रुपैयाँमा किनेर बजारमा महँगोमा बिक्री गर्दा किसान मर्कामा पर्ने गरेको अर्का किसान माधवप्रसाद लामिछानेले गुनासो गरे। उनले भने, ‘रातो आलु पनि व्यापारीलाई प्रतिकिलोग्राम १८ देखि २० रुपैयामा नै बिक्री गर्न किसान बाध्य भएका छन्।’

हिउँदे बालीको रूपमा लगाइने आलु खेतीका लागि नुवाकोटका विभिन्न भूभागमा उपयुक्त हावापानी र उर्बरा माटो भएकोले किसान आलुखेतीतर्फ आकर्षित भएका हुन्। एक दशकअघिमात्र नुवाकोटका किसानले व्यावसायिक आलु खेती अँगालेका हुन्।

किसानले एमएस फोर्टी टु र कार्डिनल जातको निलो आलु लगाउने गरेका छन्। खासगरेर नुवाकोटका खानी गाउँ, थानसिंङ, थानापति, चौघडा, कविलास, मदानपुर, रालुकादेवी, सुन्दरादेवी, समुद्रटार, सूर्यमती, जिलिङ, रातमाटे, गणेशस्थान, बेलकोटलगायत गाविसका किसान यस खेतीमा संलग्न छन्। यहाँ उत्पादित आलु काठमाडौं, चितवन र पोखराका शीतभण्डारमा पुर्‍याइन्छ। हाल किसानले तीन महिनामा उत्पादन हुने निलो र ६५ दिनमा उत्पादन हुने रातो आलुको खेती गरेका छन्।

जिल्लामा गत वर्ष करिब ४४ हजार मेट्रिक टन आलु उत्पादन भएको र सो आलु किसानले व्यापारीमार्फत देशका विभिन्न भागमा निर्यात गरी झन्डै २०/२५ करोड रुपैयाँ खुद आम्दानी गरेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ। यस वर्ष आलुको उत्पादन पनि वढेको र मूल्य पनि राम्रो भएको कारण ३०/३५ करोड रुपैयाँ खुद नाफा हुने किसानको दाबी छ।