डिडिसीको दूध खरिद दर निजीको भन्दा महँगो

यो समाचार 268 पटक पढिएको

काठमाडौं, ३ फागुन/ नेपाली किसानबाट अधिकतम ३५ रुपैयाँ प्रतिलिटरमा दूध खरिद गर्दै आएको दुग्ध विकास संस्थान (डिडिसी)ले भारतबाट ४९ रुपैयाँ ५० पैसा प्रतिलिटरमा दूध खरिद गर्न थालेको छ । डिडिसीले सुधा डेरीबाट ४९ रुपैयाँ ५० पैसा प्रतिलिटरका दरले दैनिक ३२ हजार लिटर दूध खरिद गरिरहेको छ । निजी क्षेत्रले भने भारतबाट हाल दैनिक ६० हजार लिटर दूध ४५ रुपैयाँ प्रतिलिटरका दरले खरिद गरिरहेको जनाएका छन् ।

milk

यो वर्ष दूध उत्पादनमा करिब १५ प्रतिशत गिरावट आएपछि बजार माग धान्न डिडिसीले भारतबाट दूध खरिद गर्न थालेको हो । तर, टेन्डर नगरी भारतको पटनास्थित सुधा डेरीसँग ‘सोझो डिल गरी’ दूध खरिद गर्दा डिडिसीले चर्को मूल्य तिर्नुपरेको छ ।

 

‘मागअनुसार आन्तरिक उत्पादनले धान्न नसकेपछि निजी क्षेत्रले हाल भारतबाट दैनिक ६० हजार लिटर दूध खरिद गरिरहेका छौँ,’ नेपाल डेरी एसोसिएसनका महासचिव प्रह्लाद दाहालले भने, ‘भारतीय दूधको मूल्य प्रतिलिटर ४५ रुपैयाँ पर्छ ।’ हाल दैनिक करिब लाख लिटर दूध भारतबाट आयात भइरहेको छ ।

 

उत्पादन घटे पनि आपूर्ति परिमाण सन्तुलित गर्न डिडिसीले भारतबाट दूध ल्याउनुपरेको डिडिसीका अध्यक्ष डा. प्रभाकर पाठकले जानकारी दिए । उनले पाउडर दूध किन्नुको साटो भारतबाट तरल दूध आयात गरी आपूर्ति परिमाण सन्तुलनमा राख्नु उपयुक्त देखिएको बताए ।

 

‘दूध उत्पादन घटेर मागअनुसार आपूर्ति गर्न सकिएन, त्यसैले भारतबाट आयात गर्नुपरेको हो,’ पाठकले भने । स्रोतका अनुसार चालू आवको पहिलो चौमासिकमा करिब ४ करोड नाफामा रहेको डिडिसी भारतबाट दूध ल्याउन थालेपछि चालू महिनासम्म आइपुग्दा नाफाविहीन भएको छ ।

 

भारतबाट दैनिक ३२ हजार लिटर दूध आयात गर्दा मात्रै १५ लाख ८४ हजार रुपैयाँ बगिरहेको छ । पाउडर दूध खरिद गर्दा झन् महँगो पर्छ । हाल २५ किलो पाउडर दूधको १३ हजार रुपैयाँ पर्छ । एक किलो पाउडर दूधबाट १२ किलो तरल दूध बनाइन्छ । पाउडर दूध खरिद गर्न महँगो देखिएपछि भारतबाट दूध आयातको विकल्प रोजिएको पाठकले जिकिर गरे ।

 

‘मागअनुसार दूध उत्पादन नभए पाउडर दूध पानीमा घोलेर तरल बनाई बिक्री गरिने गरिएको छ,’ डिडिसी स्रोतले भन्यो । स्रोतका अनुसार पाउडरलाई घोलेर तरल दूध बनाउँदा करिब ७० रुपैयाँ प्रतिप्याकेट लागत पर्छ । तर, बिक्री मूल्य अधिकतम ५५ रुपैयाँ मात्र छ ।

 

भारतबाट चर्को मूल्यमा दूध ल्याउने डिडिसी व्यवस्थापनले नेपाली किसानबाट भने प्रतिलिटर १५ रुपैयाँ भारतीय दूध मूल्यभन्दा कममा खरिद गर्दै आएको छ । डिडिसीले एक वर्षदेखि नेपाली किसानले पाउने दूधको मूल्य बढाएको छैन ।

 

भारतबाट चर्को मूल्यमा दूध किन्न सक्ने डिडिसीले नेपाली किसानलाई उत्पादन बढाउन प्रोत्साहन मिल्ने गरी झन् बढी मूल्य तिर्नुको साटो लागतसमेत उठ्न नसक्ने गरी थोरै पैसा दिएको भन्दै दुग्ध किसानले गुनासो गरेका छन् । ‘भारतलाई ४९ रुपैयाँ ५० पैसा प्रतिलिटर दूधको मूल्य तिर्न तयार हुने डिडिसी व्यवस्थापनले नेपाली किसानबाट भने अधिकतम ३५ रुपैयाँ प्रतिलिटरका दरले दूध उठाइहेको छ,’ केन्द्रीय दुग्ध सहकारी संघका उपाध्यक्ष बाबुराम अधिकारीले भने ।

 

लागतअनुसारको डिडिसीले दूधको मूल्य कायम गरे उत्पादन बढ्ने संघका अध्यक्ष माधव कोइरालाले दाबी गरे । ‘अहिले किसानको लागत प्रतिलिटर दूधमा ४२ रुपैयाँ पर्छ, लागतअनुसारको मूल्य नपाउँदा दुग्ध किसान निराश छन्,’ उनले भने, ‘डिडिसीले किसानले पाउने दूधको मूल्य लागतअनुसार कायम गरिदिने हो भने उत्पादन बढाउन सकिन्छ ।’

 

डिडिसीले दैनिक २ लाख २५ हजार लिटर दूध किसानबाट संकलन गर्दै आएको छ । तर, यसपटक जाडो महिना सुरु भएदेखि नै उत्पादन घटेपछि डिडिसी व्यवस्थापनले बजार मागअनुसार आपूर्ति गर्न भारतबाट दूध खरिद गर्न थालेको हो । डिडिसीका अनुसार उसले काठमाडौं उपत्यकामा मात्रै दैनिक १ लाख ४० हजार लिटर दूध बिक्री गर्छ ।

 

त्यस्तै, विराटनगरमा १५ हजार लिटर, हेटौँडामा ८ हजार लिटर, ढल्केबरमा ३ हजार लिटर, बुटवलमा ४ हजार लिटर, बाँकेमा २ हजार लिटर र धनगढीमा १ हजार लिटर दूध दैनिक बिक्री हुने गरेको डिडिसीले जनाएको छ ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :