व्यावसायिक च्याउ खेती पुस्तक बजारमा

यो समाचार 1128 पटक पढिएको

 काठमाण्डौ । नेपालमा परम्परागत कृषि पद्धतिको साटो नगदे एवं आधुनिक कृषि व्यवसायमा आकर्षण बढिरहेको छ । शिक्षित युवा समुदाय पनि संस्थागत कृषि उद्यममा होमिने क्रम बढ्नु निश्चय नै खुसीको कुरा हो । कृषि परनिर्भरता घटाउन कृषिको व्यावसायिकीकरण हुनु र त्यसमा युवा सहभागिता हुनु अति आवश्यक छ ।

 

तर नेपालमा धेरैजसो व्यवसाय लहडमा हुने गर्दछ । अध्ययन, विश्लेषण र अनुभवविना व्यवसाय थाल्नेहरु धेरै छन् । फलस्वरुप, निकै उत्साह र ऋण गरी थालिएको व्यवसाय छोटो समयमै असफल बन्न पुग्छन् । अनि मुलुकले व्यावसायिक वातावरण दिएन भन्दै उनीहरु पलायन हुन्छन् । कृषिको क्षेत्रमा यस्तो दूर्घटना बढी हुने गरेको छ ।
कृषि आफैंमा प्राविधिक व्यवसाय हो । गुजारा पद्धति अहिलेको जमानामा व्यवहारिक छैन । झन् कृषिलाई उद्यमकै रुपमा अघि बढाउने हो भने त आफूले अपनाउन लागेको अध्ययन र व्यावसायिक योजना विश्लेषण नगरी लगानी गर्दा दूर्घटना हुने सम्भावना बढी हुन्छ नै ।  अहिले नेपालका किसानले भोगेको मुख्य समस्या कृषिको उत्पादन पद्धति, कच्चा पदार्थको उपलव्धता, बजारको चाहना र बजारीकरण प्रक्रिया आदिबारे व्यवहारिक जानकारी नपाउनु हो । उत्पादन पद्धतिमा पनि देखासिकी र अनुमानको भर पर्ने धेरै छन् ।

नेपालमा अहिले कृषि उत्पादनमा विविधता आइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा उपभोग र माग भइरहेको कृषि उत्पादनमा नेपाली किसान पनि आकर्षित भइरहेका छन् । तर तिनीहरुको उत्पादन प्रक्रियाबारे वस्तुगत जानकारी र व्यवहारिक सीपको सूचना दिने पुस्तकहरुको अभाव छ । उपभोक्ताको आधुनिक खानपिनमा लोकप्रिय भइरहेको च्याउको खेती पनि थालिएको छ । तर यसको बारेमा व्यवहारिक ज्ञानको अभावले धेरै किसानहरु डुबेका पनि छन् । कतिपयले लगानी र मेहनतअनुसार लाभ लिन पाएका छैनन् ।
त्यसो त अहिले कन्ये, गोब्रे र पराले च्याउको व्यावसायिक खेती भइरहेको छ । कम लागत र मेहनतमा घरैमा बसी गर्न सकिने हुँदा यी च्याउको लोकप्रियता बढेको हो । तर ग्यानोडर्मा, सिताकेजस्ता बहुमूल्य च्याउको खेती सफलतापूर्वक गर्न सकिने भएपनि यसतर्फ आकर्षण खासै आएको छैन । उत्पादन पद्धतिको बारेमा जानकारीको अभावले पनि हो ।
अहिले धेरैजसो किसानले गुजाराको लागि च्याउ खेती गर्ने गरेका छन् । स्थानीय तथा अन्तर्राष्ट्रिय बजारसमेत भएकोले विभिन्न च्याउको खेती प्रवद्र्धन गर्न सके किसानको मात्र होइन, राष्ट्रिय उद्यमशीलता र आयस्रोतमा टेवा पुग्न सक्छ । यही तथ्य आंकलन गर्दै नेपालमा सम्भावना भएका विभिन्न च्याउको खेती, प्रशोधन र बजारीकरणबारे पर्याप्त व्यवहारिक ज्ञान दिने उद्धेश्यले ‘व्यावसायिक च्याउ खेती’ नामक पुस्तक बजारमा आएको छ । कृषि उद्यमी एवं सञ्चारकर्मी सुमन पन्तले किसानको लागि किसानी शैलीमा यो पुस्तक लेखेका हुन् । पाँचपोखरी प्रकाशन गृह, काठमाण्डौले प्रकाशन गरेको पुस्तकको मूल्य दुई सय रुपैंयाँ छ ।

पुस्तकमा च्याउको इतिहास, नेपालमा च्याउ खेतीको सम्भावना, च्याउको पौष्टिक तथा औषधीय विश्लेषणबारे जानकारी दिइएको छ । नेपालमा व्यावसायिक सम्भावना भएको कन्ये, पराले, गोब्रे, सिताके र ग्यानोडर्मा च्याउको उत्पादन पद्धति, व्यावसायिक योजना, बजार सूचना र च्याउमा लाग्ने रोग तथा नियन्त्रण उपायबारे पनि उल्लेख गरिएको छ । त्यस्तै, च्याउको प्रशोधन र भण्डारण, च्याउको विष लागेमा गर्नुपर्ने उपचार, च्याउको परिकार निर्माण आदिबारे पनि यथेष्ट सूचना दिइएको छ

रचनात्मक प्रतिक्रिया दिनुहोस् :