उखु रोप्ने उपकरणको सफल परीक्षण

This post has already been read 58 times!

वीरगन्ज,२ फागुन / माघ- कृषि मजदुरको भरमा हुँदै आएको उखुखेती अब आधुनिक उपकरणले हुन थालेपछि सजिलो हुने भएको छ । उखु रोप्ने मेसिन मुलुकमै पहिलोपटक भित्रिएर यसको सफल परीक्षणपछि कृषकलाई उखुखेती गर्न सहज हुने भएको छ । 

उखु रोप्ने उपकरणको सफल परीक्षणकृषि औजार अनुसन्धान केन्द्र वीरगन्जले ट्रयाक्टरबाट सञ्चालित उखु रोप्ने मेसिनको परीक्षण गरेको हो । जीतपुरस्थित उखुबाली अनुसन्धान परिसरमा शनिबार यस क्षेत्रका अगुवा उखु कृषक, सञ्चारकर्मी, कृषि प्राविधिक, चिनी मिलका प्रतिनिधिको उपस्थितिमा उपकरणको सफल परीक्षण र प्रदर्शन गरिएको छ ।
उपकरणको प्रदर्शनपछि यस क्षेत्रका कृषक हौसिएका छन् । मेसिनको परीक्षण हेरेर चकित भएका पर्सा वीरन्चीवर्वाका कृषक माधव चौहानले उपकरणले कृषिको लागत घटाउने बताए । कृषि मजदुरको बढ्दो पलायनका कारण उखुखेतीमा हुँदै आएको मजदुर अभावबाट मुक्ति पाउन पनि यो उपकरणले धेरै मद्दत हुने उनको विश्वास छ ।कम खर्चमा बढी उखु उत्पादन हुने भएकाले कृषकका लागि यो उपकरण बरदान साबित हुने रिलायन्स सुगर मिल बाराका इन्चार्ज महम्मद फैयाजले बताए ।

नगदे बाली उखुको मुलुकमा हालसम्म व्यावसायिक खेती फस्टाउन नसकेको सन्दर्भमा उपकरणले कृषकलाई उखुखेती गर्न हौस्याउने कृषि औजार अनुसन्धान केन्द्रका प्रमुख इन्जिनियर इश्वरी उपाध्यायले बताए । मुुलुकमा अहिले ६४ हजार हेक्टरमा उखुखेती भइरहेको छ । कृषिमा नयाँ पुस्ताको आकर्षण घटिरहेको सन्दर्भमा यस्ता उपकरणको प्रयोगले परम्परागत कृषिलाई विस्थापित गर्ने उपाध्यायको दाबी छ ।
उपकरण प्रदर्शन गर्न आएका उपकरण उत्पादक कम्पनीका व्यवस्थापक नरेन्द्रसिंह मोगाले उपकरणले ७ घण्टामा डेढ हेक्टर अर्थात् १ घण्टामा ६ कठ्ठा खेतमा उखु रोप्न सक्ने बताए । यसले कृषकको उखु उत्पादन लागत ७० प्रतिशतसम्म घटाउने पनि उनले दाबी गरे ।
भारतको मेरठस्थित मोगा इन्जिनियरिङ वक्र्सले उत्पादन गरेको उपकरणको मूल्य २ लाख ९९ हजार रुपैयाँ छ । ट्रयाक्टरमा जोडेर चलाउन सकिने अर्धस्वचालित उपकरण चलाउन ३ जना चाहिन्छ । उपकरणले उखु रोप्न नाला बनाउने, उखुको कटिङ गर्ने, बीउ रोप्ने, मल झार्ने र माटोले उखुको बीउ छोप्ने काम एकैसाथ गर्छ ।