अदुवाको परिकारका बजार राम्रो

यो समाचार 168 पटक पढिएको

पर्वत,  २ फागुन  ।उत्पादन भएको अदुवा विक्री नभएर चिन्तित पर्वतका कृषकहरू यतिबेला अदुवाको विभिन्न परिकार उत्पादनमा जुटेका छन् । अदुवाभन्दा त्यसबाट बनेका परिकारले सजिलै बजार पाउन थालेपछि कृषकहरू त्यसतर्फ आकर्षित भएका हुन् । व्यावसायिक रूपमा अदुवा खेती गर्दै आएका देउपुर, कुर्घा, आर्थर, मुडिकुवालगायत गाविसका कृषकले अदुवाको क्याण्डी, सर्बत र धूलो विक्री गरेर राम्रै आम्दानी गर्न थालेका छन् । 
ginger 2 Newsagrocomउनीहरूले गरेका यस्ता उत्पादन पर्वत, पोखरा र काठमाडौंका डिर्पाटमेण्ट स्टोरसम्म पुग्न थालेको कृषकहरू बताउँछन् । ‘पर्वतबाट वार्षिक १० लाख रुपैयाँको अदुवाका परिकार विक्री हुन्छ,’ सामुदायिक खाद्य उद्योग पर्वतका सञ्चालक थानेश्वर भुसालले भने ‘सबैभन्दा बढी माग क्याण्डीको छ ।’ अदुवाको क्याण्डी बिरामीका लागि र चिसोबाट बच्नका लागि पनि उत्तम मानिन्ने हुँदा माग बढेको कुर्घाका कृषक दानबहादुर क्षेत्रीले बताए । ‘अदुवाबाट सर्बत पनि तयार पार्न थालिएको छ,’ क्षेत्रीले भने, ‘जाडो मौसममा यस्तो सर्बतको माग बढी हुन्छ ।’ यसलाई तातोपानीसँग मिलाएर पिउँदा शरीरलाई फाइदा पुग्ने उनले बताए । अदुवाका परिकार बन्न थालेपछि विक्रीका लागि समस्या नभएको भुसाल बताउँछन् ।

उनीहरूलाई व्यावसायिक बनाउन जिल्ला विकास समिति, कुर्घा गाउँ विकास समिति, लघु उद्यम विकास कार्यक्रम, स्थानीय विकास कोषलगायत सङ्घसंस्थाले तालीम प्रदान गर्दै आएका छन् । उद्यमीका लागि थप सहयोग र बजारको खोजी गर्न सहयोग पाए अदुवाखेती गर्न छाड्नुनपर्ने वरिष्ठ कृषि विकास अधिकृत वासुदेव रेग्मीले बताए ।
– गणेश पौडेल

रचनात्मक प्रतिक्रिया दिनुहोस् :