किसानलाई थोरै मूल्य दिएर भारतबाट महँगोमा दुध खरिद

यो समाचार 236 पटक पढिएको

काठमाडौं, माघ २७/ सरकारले आयात प्रतिस्थापन गर्ने र निर्यात प्रवर्द्धन गर्ने नीति अघि सारिरहँदा दुग्ध विकास संस्थान(डीडीसी) ले भने स्वदेशी किसानलाई कम मूल्य उपलब्ध गराएर महँगोमा भारतबाट दुध आयात गर्दै आएको छ। डीडीसीले नेपाली किसानबाट ३४ देखि ३६ रुपैयाँमा प्रतिलिटरमा दुध खरिद गर्दै आएको छ। तर, उसले भारतको पटनाबाट प्रतिलिटर ४९ रुपैयाँ ५० पैसामा आयात गर्छ।

DDC Milk,Newsagroयसैगरी धुलो दुध डीडीसीले पाँच सय ५० रुपैयाँ प्रतिकिलोका दरले खरिद गरेर आयात गर्छ। यसअनुसार प्रतिलिटर दुधको लागत खर्च ७० रुपैयाँ पर्छ।

‘भारतबाट महँगो मूल्यमा दुध ल्याउन मिल्छ तर किसानलाई आयात मूल्यसरह रकम उपलब्ध गराउन मिल्दैन?’ केन्द्रीय सहकारी दुग्ध सहकारी संघका उपाध्यक्ष बाबुराम अधिकारीले भने, ‘सरकारले दुध उत्पादक किसानलाई लागत मूल्य उपलब्ध गराउन नसक्दा दुध उत्पादनमा कमी आएको छ।’

उनका अनुसार दुध अभाव भएपछि उपभोक्ताको माग पूरा गर्न भारतबाट दुध आयात गरिएको छ। डीडीसीले ३४ हजार लिटर र निजी क्षेत्रले ६० हजार लिटर दुध भारतबाट दैनिक आयात गर्दै आएका छन्। लागत मूल्य नपाउँदा किसान दुध उत्पादन क्षेत्रबाट विस्थापित हुँदै गएकाले चालू आर्थिक वर्षको कात्तिकदेखि माघसम्म बढी उत्पादन हुने समयमा दुधको चर्को अभाव भएको उपाध्यक्ष अधिकारीले बताए।

बढी दुध उत्पादन हुने यो समयमा झन्डै ४० प्रतिशतको हाराहारीमा दुध अभाव भएको छ। उनका अनुसार आगामी फागुनदेखि असोजसम्म स्वदेशी दुधको झन् चर्को अभाव हुन्छ। ‘यो अवधिमा दुध उत्पादनमा निक्कै ह्रास आउँछ। सरकारले उपभोक्तालाई मार नपर्ने गरी लागत मूल्य बढाउन सकेको भए किसान आकर्षित हुन सक्थे’, उनले भने, ‘यसका कारण केही मात्रामा भए पनि उत्पादन बढेर पूर्ति सहज हुन्थ्यो।’

डीडीसीका निमित्त महाप्रबन्धक रामतपेश्वर चौधरीले पटनाको सुधा कोअपरेटिभबाट दुध खरिद गर्दै आएको जानकारी दिए। उनले कोअपरेटिभले हेटौंडामा प्रतिलिटर ४९ रुपैयाँ ५० पैसामा दुध उपलब्ध गराउँदै आएको जानकारी दिए। ‘किसानले लागत मूल्यअनुसार मूल्य पाउनुपर्छ’, उनले भने, ‘तर त्यो सरकारले निर्णय गर्नुपर्ने हो। सरकारले निर्णय गरेर कार्यान्वयनमा नल्याएसम्म हामीले तत्कालका लागि महँगो मूल्यमा भए पनि भारतबाट दुध आयात गर्नुपर्ने अवस्था छ।’

डीडीसी र निजी क्षेत्रले भारतबाट दुध खरिद गरेर स्थानीय बजारमा प्रतिलिटर औसत गुणस्तरको ५० रुपैयाँ र उच्च गुणस्तरको ५५ रुपैयाँमा बिक्री गर्दै आएका छन्। नेपाल डेरी एसोसिएसनका महासचिव प्रह्लाद दाहालले स्थानीय बजारमा दुध अभाव भएपछि भारतबाट दुध खरिद गर्दै आएको बताए।

‘अहिले नै अभाव भएपछि आगामी फागुनदेखि पूर्ण रूपमा भारतकै कच्चा र धुलो दुधको भर पर्ने अवस्था देखिएको छ’, उनले भने, ‘यसको दिगो निराकरण एउटै छ, उपभोक्ता र उद्योगीलाई मार नपर्ने गरी किसानलाई लागतअनुसारको मूल्य बढाउनुपर्छ। लागत मूल्य नपाएका कारण किसान पशुपालन क्षेत्रबाट विस्थापित हुँदै गएका कारण बजारमा कच्चा दुधको अभाव भएको हो।’

बालाजुस्थित डीडीसीको प्रशोधन केन्द्रका एक अधिकारीका अनुसार डीडीसीले दुई वर्षअघिसम्म ४१ रुपैयाँ प्रतिलिटरमा दुध खरिद गर्दै आएको थियो। किसानलाई तीन वर्षदेखि दुधको लागत उपलब्ध गराइएको छैन। डीडीसीले दुधको अभाव हुन नदिन पाँच सय मेट्रिक टन धुलो दुध आयात गर्न टेन्डर आह्वान गरेको जानकारी गराएको छ।

अन्नपूर्ण पोष्टबाट

रचनात्मक प्रतिक्रिया दिनुहोस् :