‘इजरायली कृषि प्रविधि नेपालका लागि दृष्टान्त’

This post has already been read 246 times!

काठमाडौं, २६ माघ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. रवीन्द्रकुमार शाक्यले कृषि प्रविधिका क्षेत्रमा इजरायलले हासिल गरेको उपलब्धि नेपालका लागि दृष्टान्तका रूपमा रहेको बताउनुभएको छ ।

इजरायलमा शिक्षा, स्वास्थ्य, आमसञ्चार, कृषि, बैंक तथा वित्तलगायत विविध विधामा उच्च शिक्षा हासिल गरी फर्केका नेपालीको सङ्गठन सलोम क्लब र यहाँस्थित इजरायली राजदूतावासले आज यहाँ आयोजना गरेको फोटो प्रदर्शनीको उद्घाटन गर्दै क्लबका अध्यक्ष रहनुभएका शाक्यले दक्षिण एसियाली मुलुकहरू कूटनीतिक सम्बन्ध कायम गर्न हिचकिचाइरहेका बेला दूरदर्शी तत्कालीन प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाले साहसपूर्ण निर्णय गर्दै इजरायलसँग स्थापना गरेको औपचारिक सम्बन्धप्रति कृतज्ञता व्यक्त गर्नुभयो ।

इजरायली राजदूत गोडेरले नेपालको सामाजिक, आर्थिक, शिक्षक, प्राविधिक क्षेत्रमा सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । प्रदर्शनीमा क्लबका सदस्यले इजरायलमा रहँदा त्यहाँका विभिन्न स्थानमा खिंचेका ४४ तस्बिर समावेश गरिएको छ । प्रदर्शनी आगामी फागुन १० गतेसम्म जारी रहने छ ।