झिलमिलाफाँटाको जडीबुटी युरोप निर्यात हुँदै

यो समाचार 212 पटक पढिएको

कञ्चनपुर,  २६ माघ/ कञ्चनपुरको रौतेली विचवा–९ झिलमिलाफाँटामा उत्पादन भएको जडीबुटी युरोपतर्फ निर्यात हुन थालेको छ ।किसान मध्यवर्ती सामुदायिक वनमा आबद्ध ३०० उपभोक्ताले संयुक्त रूपमा उत्पादन गरेको लेमनग्रास, मेन्था, पामारोजा, क्यामामाइल लगायतको जडीबुटी व्यापारीले खरिद गरी युरोपतर्फ निर्यात गर्दै आएका हुन् ।सात वर्षदेखि सामुदायिक वनले वनको २५ हेक्टर क्षेत्रफलमा गठन गरेको १० वटा समूहमा आबद्ध उपभोक्ताले जडीबुटी उत्पादन गर्दै आएको बागेश्वरी समूहका अध्यक्ष शिवराज अधिकारीले बताउनुभयो ।Jadibuti, Newsagrocom
वार्षिक रूपमा जडीबुटी उत्पादन गरेर यहाँका उपभोक्ताले रु १० लाखभन्दा बढी आम्दानी गर्दै आएका छन् । वार्षिक रूपमा लेमनग्रास ८० किलोग्राम, पामारोजा ७० किलोग्राम, मेन्था तीन क्विन्टल र क्यामामाइल ७५ किलोग्राम उत्पादन हँुदै आएको अध्यक्ष अधिकारीले बताउनुभयो ।
उत्पादित जडीबुटीलाई सामुदायिक वनमा रहेको प्लान्टमा प्रशोधन गरेपछि काठमाडौँ, बुटवल, नेपालगन्ज र विराटनगरका व्यापारीहरूले खरिद गरेर लैजाने गरेका छन् । जडीबुटीबाट उत्पादित तेल, कस्मेटिक सामग्री, सुगन्धित तेल र औषधिका रूपमा प्रयोग हुने भएकाले व्यापारीले यहाँबाट खरिद गरेर जडीबुटीलाई युरोप पु¥याएर बेच्ने गरेको सामुदायिक वनका अध्यक्ष वीरबहादुर रोकायाले बताउनुभयो ।
सामुदायिक वनमा उत्पादन भएको जडीबुटी प्रतिकिलो रु २० देखि ३५ हजारमा बिक्री हुने गरेको छ । जडीबुटीबाट भएको आम्दानीको २० प्रतिशत सामुदायिक वनलाई र ८० प्रतिशत आम्दानी समूहमा आबद्ध सदस्यहरूले बाँडेर लिने गरेका छन् ।
जडीबुटीबाट आएको आम्दानीबाट यहाँका स्थानीयवासीले आयआर्जन हुने कार्य, घर खर्च र बालबालिकाको विद्यालय खर्चमा लगानी गर्दै आएका छन् । जडीबुटीको आम्दानीको रकम परिचालन गरी यहाँका ३६ जनाभन्दा बढी स्थानीय बासिन्दा स्वरोजगारमूलक कार्यमा संलग्न रहँदै आएका छन् ।
सामुदायिक वनमा गर्दै आएको जडीबुटीखेतीले समूहका सदस्यहरूको आर्थिक अवस्थामा निकै सुधार आउन थालेपछि यहाँका स्थानीयवासीसमेत आफ्नै निजी जग्गामा जडीबुटीखेती गर्न थालेका छन् ।
निजी जग्गामा जडीबुटी लगाउँदै आएका हरिप्रसाद चौधरीले जडीबुटीखेती गरेर वार्षिक रूपमा चार लाख आम्दानी गर्दै आउनुभएको छ । वैदेशिक रोजगारीमा जानका लागि राहदानी बनाए पनि गाउँकै साथीको सल्लाहमा जडीबुटीखेती गर्नुभएका उहाँले वैदेशिक रोजगारबाट प्राप्त हुने रकमभन्दा बढी आम्दानी हुन थालेपछि जडीबुटीखेतीलाई निरन्तरता दिँदै आउनुभएको छ ।
राष्ट्रिय प्रकृति संरक्षण कोष र डब्ल्युुटिएलसिपीको सहयोगमा सामुदायिक वनमा दुईवटा जडीबुटी प्रशोधन प्लान्ट जडान गरिएपछि यहाँका जडीबुटी उत्पादकहरूलाई जडीबुटीको बजार मूल्य पाउन सहज भएको हो । यस वर्षसमेत हरियो वन कार्यक्रमअन्तर्गत सामुदायिक वनमा अर्को अत्याधुनिक जडीबुटी प्रशोधन गर्ने प्लान्ट राख्ने कार्य भइरहेको छ ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :