खोरेतको महामारी नियन्त्रणमा

This post has already been read 128 times!

 बनेपा, माघ २५  । काभ्रेका पशुमा देखिएको खोरेतको महामारी नियन्त्रणमा आएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले खोरेत रोगप्रति चासो देखाएर त्यस विरुद्ध घरदैलो कार्यक्रम सञ्चालन गरेपछि सो रोग नियन्त्रणमा आएको जिल्ला पशु सेवा कार्यालय काभ्रेले जनाएको छ ।Animal Desease,Newsagro

‘खोरेत रोग नियन्त्रणमा आइसकेको छ, पहिले जस्तो गाउँ सङ्क्रामक भएको अवस्था छैन’– पशु सेवा कार्यालय काभ्रेकी प्रमुख डा सम्झना काफ्लेले भन्नुभयो । उहाँले करिब ११ गाविसमा नयाँ पशु बिरामी भएको नदेखिएको उल्लेख गर्दै केही गाविसमा भने अत्यन्त न्यून मात्रामा खोरेत देखिएको बताउनुभयो ।

 

 

खोरेत रोग प्रभावित उग्रचण्डी नाला गाविस– ५ का कृषक रामगोपाल खत्रीले मर्ने अवस्थामा पुगेका दुई वटा गाईको खोरेत रोग पूर्णरुपमा निको भएको बताउनुभयो । ती गाईको उपचार गर्न झन्डै रु १२ हजार खर्च भएको जानकारी दिँदै कृषक खत्रीले भन्नुभयो, “यो रोग लागेपछि निको हुन समय लाग्दो रहेछ ।” पशु स्वास्थ्य निर्देशनालय, पशु उत्पादन निर्देशनालय, पशु सेवा क्षेत्रीय निर्देशनालय मध्माञ्चल र जिल्ला पशु सेवा कार्यालय काभ्रेको संयुक्त आयोजनामा सञ्चालन गरिएको घरदैलो कार्यक्रममा करिब रु तीन लाख ५० हजारबराबरका विभिन्न खालका औषधिसमेत प्रयोग गरेर रोग नियन्त्रणमा लिइएको सो कार्यालयले जनाएको छ ।

 

 

यही माघ १४ देखि २० गतेसम्म जिल्लाको कुशादेवी, पात्लेखेत, उग्रचण्डी नालालगायत खोरेत रोग प्रभावित २० गाविसमा घरदैलो कार्यक्रम सञ्चालन भएको थियो । नौ वटा प्राविधिक टोलीमा करिब ७० जना परिचालन गरेर झन्डै एक हजार ५०० पशुको उपचार भएको समेत सो कार्यालयले जनाएको छ । काभ्रेमा देखिएको खोरेतको महामारीबाट अहिलेसम्म ६५ वटा पशु मरेका छन् भने झन्डै एक हजार ५०० को हाराहारीमा पशु बिरामी परेका थिए । खोरेत रोगका कारण जिल्लामा झन्डै ५ प्रतिशतले दूध उत्पादनमा समेत कमी आएको थियो ।