आयआर्जनको बाटो बन्दै फूलखेती

यो समाचार 212 पटक पढिएको

इलाम, माघ २५ / पशुपतिनगर–४ की इन्दिरा श्रेष्ठले आँगनको एक छेउमा लगाएको फूलबाट महिनामा २० हजार रुपैयाँ आम्दानी गर्छिन् । उनले लगाएको बेगुनीया फूल धरान तथा काठमाडांैका मात्र नभई भारतका पारखीले घरमै पुगेर खरिद गर्छन् । पारखीहरू गाडी नै लिएर उनको वाटीकामा पुग्छन् । एउटा फूलको ‘पट’को मूल्य ५० देखि १ हजार रुपैयाँसम्म पर्छ । पहिले घर सजाउन मात्र लगाउने गरेको फूल अहिले आयआर्जनको पनि स्रोत बनेकोमा श्रेष्ठ दंग छिन् ।

Nursary, Newsagrocom
पशुपतिनगरसँगै पूर्वका गोर्खे, श्रीअन्तु, समाल्बुङलगायत गाविसमा व्यावसायिक फूलखेती गर्नेको संख्या बढ्दै गएको छ । नेपालमा फूल तथा फूलजन्य वस्तुको वार्षिक कारोबार १५ प्रतिशतसम्मले बढिरहेको अनुमान सरोकारवालाको छ । हिमाल, पहाड र तराई सबै क्षेत्रमा फूलको व्यवसाय गर्न सकिने सम्भावना रहेको विज्ञहरू बताउँछन् ।
व्यावसायिक रूपमा फूलखेती प्रोत्साहन गर्दै यसको विकास गर्ने उद्देश्यले कृषि विकास मन्त्रालयले ‘पुष्प प्रवद्र्धन नीति ०६९’ ल्याएको छ । व्यावसायिक फूलखेतीको सम्भावना भएका क्षेत्रमा फार्म स्थापना गर्ने नीतिमा उल्लेख छ । शिक्षित बेरोजगार तथा सेवानिवृत्त व्यक्ति वा समूहलाई फूल तथा फूलजन्य व्यवसाय स्थापना तथा सञ्चालनका लागि प्रोत्साहन गर्ने नीतिको उद्देश्य छ । व्यावसायिक रूपमा फूलखेती भएका पकेटक्षेत्रका लागि विभिन्न सुविधा तथा सहुलियत दिने व्यवस्था नीतिमा छ ।
नेपालको १ सय २० हेक्टर क्षेत्रफलमा व्यावसायिक फूलखेती हुँदै आएको अनुमान छ । ३५ जिल्लामा करिब ६ सयभन्दा बढी कृषक फूलखेतीमा संलग्न रहेको र ४० हजारभन्दा बढी स्वरोजगार भएको मन्त्रालयले जनाएको छ ।
फूलखेतीलाई उच्च मूल्यको बालीका रूपमा लिइए पनि स्पष्ट नीतिको अभावमा लगानी बढ्न नसकेको व्यवसायीको तर्क छ । सरकारले ढिलो गरी ल्याएको नीतिको स्वागत गरे पनि कार्यान्वय पक्षमा भने उनीहरुले आशंका गरेका छन् । फूलखेतीबाट आर्थिक वर्ष ०६८/०६९ मा करिब १ अर्ब रुपैयाँको आर्थिक लाभ भएको तथ्यांक छ । यसमध्येको करिब २० प्रतिशत विदेश निर्यात भएको थियो ।
– तोयानाथ भट्टराई

फस्टाउँदै घुम्ती फूलखेती

भैरहवा, विभिन्न किसिमका फूल काँधमा बोकेर बिक्री गर्दै हिड्नु भारत उत्तर प्रदेशका १८ वर्षीय तेजराम सरोजको अहिले दैनिकी बनेको छ । तौलिहवाको दिलासा नर्सरीमा कार्यरत उनी बिहानै खाना खाएर खाँचीमा विभिन्न जातका फूलका बिरुवा राखेर बिक्रीका लागि हिड्न थालेको ३ महिना भइसक्यो । तौलिहवा बजारका अतिरिक्त भैरहवा, लुम्बिनी र बुटवल तथा रुपन्देही र कपिलवस्तुका ठूला बजारमा समेत तेजराम र उनका ३ जना साथीहरू फूल र बिरुवा बोकेर हिड्ने गरेका छन् ।
तेजराम यो कामबाट राम्रो आम्दानी भइरहेको बताउँछन् । “महिनामा १० हजारसम्म कमाइ हुन्छ । यसले खान र बस्न पुगेको छ,” तेजराम भन्छन् । तेजरामजस्ता मोबाइल विक्रेताका मुख्य ग्राहक गृहिणी हुन् । घरघरमा फूल बिरुवा रोप्ने आकर्षण बढेकाले माग र बिक्री बढेको छ । यसका साथै वित्तीय तथा गैरसरकारी संस्थाले पनि फूलका बिरुवा खरिद गर्ने क्रम बढेको छ ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :