तेह्रथुममा सुन्तलाबाट २९ करोड भित्रियो

यो समाचार 320 पटक पढिएको

 तेह्रथुम, माघ २४/  किसानले यस वर्ष सुन्तलाबाट करिब २९ करोड आम्दानी गरेका छन् । उनीहरुले जिल्लाको ८ सय ७० हेक्टर जग्गामा सुन्तला उत्पादन गरेर यति धेरै आम्दानी गर्न सफल भएका हुन् ।

Orange,Newsagrocom

जिल्लामा यस वर्ष ६ हजार ८ सय ९२ मेट्रिक टन सुन्तला उत्पादन भएको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत डा तपेन्द्रबहादुर शाहले जानकारी दिनुभयो । यो हालको थोक बजार मूल्य २८ करोड ९४ लाख ६ हजार ४ सय बराबरको आम्दानी भएको अधिकृत शाहले जानकारी दिनुभयो ।

 

जिल्ला कृषि विकास कार्यालयका अनुसार उत्पादनको करिब ३० प्रतिशत जिल्लामै खपत हुने गरेको छ भने ७० प्रतिशत सुन्तला जिल्ला बाहिर निर्यात हुने गरेको छ । तेह्रथुममा उत्पादित सुन्तला धरान, इटहरी, विराटनगर, काँकडभित्ताका साथै काठमाडौँसम्म निर्यात हुने गरेको छ । जिल्लाका बजारमा हाल सुन्तलाको खुद्रा मूल्य प्रतिकिलो ८० सम्म पुगेको छ ।

 

यस वर्ष जिल्लामा सुन्तलाको उत्पादनमा भने गिरावट आएको छ । गत वर्षको भन्दा सुन्तला उत्पादनमा ३.६३ प्रतिशतले कमी आएको अधिकृत शाहले जानकारी दिनुभयो । गएको वर्ष जिल्लामा करिब ३० करोड मूल्य बराबरको सात हजार १ सय ५२ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । यस वर्ष फूलमा झिँगा लाग्नुका साथै बोटै मर्ने रोगका कारण सुन्तला उत्पादनमा कमी आएको तम्फूला– ९ खाल्डेका किसान तारावीर मगरले बताउनुभयो ।

 

यस वर्ष जिल्लाको साब्ला, तम्फूला, म्याङ्लुङ, जल्जले, सुङ्नाम, छातेढुङ्गा, ईवा, सुदाप, दाँगपा, ह्वाकूलगायतका सुन्तला पकेट क्षेत्रमा पनि सदाजसो सुन्तला नफलेको किसानले बताएका छन् । जिल्ला कृषि विकास कार्यालय तेह्रथुमका अनुसार जिल्लाका ३२ गाविसमध्ये २८ भन्दा बढी गाविसमा सुन्तला उत्पादन हुने गरेको छ ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :