कृषकले सामूहिक चियाखेती गर्न सकेनन्

यो समाचार 137 पटक पढिएको

Taranath Sharma, Newsagrocom
– तारानाथ शर्मा
पूर्वप्रमुख,चिया तथा कफी विकास बोर्ड

०२८ सालमा कन्याम चियाबगानमा चिया रोपाएका तारानाथ शर्मा अहिले पनि व्यावसायिक चियाखेतीका उत्तिकै लागि क्रियाशील छन् । जीवनको उर्वर समय चियाखेतीमा बिताएका उनी चिया तथा कफी विकास बोर्डका प्रमुख पनि भए । चिया नीतिको मस्यौदा निर्माणलगायतका काममा समेत उनको भूमिका महत्वपूर्ण छ । उमेरले ६७ काटिसक्दा पनि चियाक्षेत्रमा केही गर्ने उत्साह उनमा छ । अहिले टि सेक्टर सर्भिस सेन्टर नामक गैसस खोलेर उनले कृषकलाई चियाखेती प्रविधिबारे सहयोग पु¥याइरहेका छन् । इलामको पञ्चकन्या–४, माघेका तारानाथ शर्मासँग तोयानाथ भट्टराईले गरेको कुराकानीको सम्पादित अंश :

चियाखेतीको सुरुवात कसरी भयो ?

दार्जिलिङमा जब अंग्रेजहरूले चिया रोप्न थाले, त्यसको प्रभाव इलाममा पनि प¥यो । यसरी हेर्दा, इलाममा जग्गा हुनेहरूले चिया रोप्न थालेको करिब डेढ सय वर्ष पुगिसकेको छ । सुरुमा गजराज सिंह थापाले ठूलो क्षेत्रमा चिया रोपेको बताइन्छ । तर त्यसको स्याहार हुन सकेन । करफोकमा स्वामी स्वमेश्वरा आएर स्कुल स्थापना गर्दा पनि पुराना–पुराना चियाका बुटा देखिन्थे रे ! पछि, ०२३ सालमा तत्कालीन श्री ५ को सरकारले नेपाल चिया विकास निगम स्थापना ग¥यो । इलाम चिया कमान र सोक्तिम चिया कमानलाई निगम स्थापनाको आधार बनाइएको थियो । निगमले कन्याममा जग्गा खरिद गरेर कन्याम चिया बगानको सुरु ग¥यो । लगत्तै बर्ने, टोकला, वारणासी आदि पुराना र नयाँ गरेर ७ वटा बगान स्थापना भए । निगमले नै स्विट्जरल्यान्ड र बेलायतमा पनि व्यापार थालेको थियो ।

नेपाल चिया विकास निगमको अवस्था पहिलेको भन्दा कमजोर बन्दै गएको छ । यस्तो कसरी भयो ?

०४६ सालमा मुलुकमा बहुदल आयो । निगमलाई पनि बहुदल लाग्यो । निगमका मजदुरको बुइ चढेर राजनीति गर्न थालियो । व्यवस्थापनले स्वतन्त्र रूपमा काम गर्ने अवसर पाएन । दलका कार्यकर्तालाई जबर्जस्ती कर्मचारी बनाइयो । कुनैबेला नाफामा गएर बोनस खान थालेको निगम पछि निरन्तर घाटामा जान थाल्यो ।

निगमलाई उकास्न कस्ता प्रयास भए त ?

०४५ सालपछि म मन्त्रालय तानिएँ । राष्ट्रिय चिया विकास बोर्डको ऐन मस्यौदा बनाउनतिर लागेँ । केही वकिलको सहयोगमा मस्यौदा तयार गरियो । पारित भयो । ऐन आयो । त्यसअघि २०३० सालदेखि कृषकको स्तरदेखि नै चिया रोप्ने चर्चा सुरु भएको थियो, जतिबेला म कन्याममा ‘सकेन्ड मेन’को रूपमा काम गर्थें । एकजना विदेशी सल्लाहकारले मलाई त्यसप्रकारको उपाय बताएको थियो । मेरो दिमाग त कसैले भरिदियो तर म ‘व्यवस्थापनलाई कन्भिन्स गराउन’ ३ वर्ष लाग्यो । अन्ततः ०३३ सालमा कृषि विकास बंैक र निगम मिलेर कृषकलाई बैंकले ऋण दिने र निगमले प्राविधिक सल्लाह दिने सहमतिपछि ४ जना कृषकबाट चिया उत्पादन सुरु भयो । हाल करिब १८ हजार घर–परिवार चिया कृषक रहेको अनुमान छ । अलैंची मासिएपछि चियाखेतीलाई विकल्पको रूपमा रोज्न खोज्ने कृषकले भने उचित ज्ञानको अभावमा दुःख पाएका छन् । चिया विस्तार योजनासँग सम्पर्क गरेर खेती गर्नेहरूलाई समस्या छैन । ०३९ सालमा राजा वीरेन्द्रको पूर्वाञ्चल विकासक्षेत्र भ्रमणको क्रममा झापा, इलाम, पाँचथर, तेह्रथुम र धनकुटालाई चियाक्षेत्र घोषित गरियो । घोषणापछि यो सबै क्षेत्रमा चिया विस्तारको जिम्मेवारी मलाई दिइयो ।

चिया कृषकको खास समस्या के हो ?

कृषकले सामूहिक रूपमा खेती गर्न सकेनन् । व्यक्तिगत रूपमा गर्नेले कुनै प्राविधिकबाट अनुगमन, निरीक्षण गराउन सक्दैनन् । अर्को ठूलो समस्या भनेको खाडी मुलुक भइदियो । वैदेशिक रोजगारीले गर्दा काम गर्नसक्ने पाखुराले गाउँ छाडे । चिया टिपाइ, बोटको हेरचाह, संरक्षण र प्रवद्र्धन सबै लथालिंग छ । महँगो कामदार लगाएर छिटोभन्दा छिटो उत्पादन गर्नु बाध्य छन् कृषक । जथाभावी कडा बिषादी र रासायनिक मल प्रयोग भइरहेको छ । कृषकलाई पर्यावरण प्रदूषणको अर्थ थाहा छैन । कृषकमा प्रविधिबारे जानकारी नहुनु अर्को समस्या हो । कृषकस्तरबाट वार्षिक ३५–४० लाख किलो चिया उत्पादन हुनथालेको छ । तर, सामूहिक व्यापारको प्रयास कहिल्यै गरिएन । त्यसको फाइदा केही चिया उद्योगले लिएका छन् ।

चिया कृषक र कारखानाबीच झन् ठूलो समस्या छ नि हैन ?

कृषक र कारखानाबीच हितैषी सम्बन्ध हुनुपर्ने थियो । यी एक–अर्काका समपूरक हुनुपथ्र्यो तर त्यस्तो भएन । कृषकले कारखानालाई शोषक देखे । कारखानाले पनि चिया कृषकको चियाबारी घुम्ने र समस्या समाधानको प्रयास गर्नेतिर सोचेनन् । कतिपय कारखाना मालिक चियालाई ‘ग्रिन डलर’ ठानेर आएका छन् । ‘कृषकले आवाज उठाए भने बन्द गरिदिन्छु’ भन्दै हिँड्ने उद्योगहरू पनि छन् । उनीहरूका कारण पनि धेरै समस्या आएको छ ।

कृषककै कारखाना हुनुपर्छ भन्न खोज्नुभएको हो ?

कृषककै कारखाना होस् । केन्या, श्रीलंकालगायत देशको अवलोकन, भ्रमणका क्रममा देखिएको कुरा हो । ती देशमा सरकारले सहुलियत दिएर संस्थागत रूपमा चिया रोप्न लगाउँछ । कृषकले आफू आबद्ध कारखानामा चिया बेच्छ । आवश्यक ‘रनिङ पुँजी’ पाउँछ, कारखानाबाट । त्यहाँ एक किलो चियाको मूल्य कति पनि हुँदैन । अन्त्यमा, कृषकले नाफा र बोनससहित चियाको मूल्य पाउँछ । त्यहाँ आफ्नै कारखानामा मात्र चिया बेच्छन् कृषक । त्यो नेपालमा कहिल्यै भएन । यहाँ त कृषकलाई पनि विकल्प बढी भएकाले त्स्यस्तो अभ्यास हुन नसकेको हो ।

चियाको समस्या समाधान गर्न सरकारले गर्नुपर्ने कुरा के–के छन् ?

चियाको समस्या समाधान गर्न राष्ट्रिय चिया नीति– २०५७ र नीतिको कार्यान्वयन निर्देशिका बनेको छ । त्यसको कार्यान्वायन हुनुपर्छ ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :