दुग्ध उत्पादक किसान सडक संघर्षको तयारीमा

यो समाचार 169 पटक पढिएको

चितवन,  माघ २४/ चार बर्षदेखि दुधको मुल्य नबढ्दा लागत बराबर पनि मुल्य नपाएको भन्दै चितवनका दुग्ध उत्पादक कृषक सडक संघर्ष गर्ने तयारीमा जुटेका छन् ।

Chitwan Milk,Newsagrocomउनीहरुले चनौलीमा पत्रकार सम्मेलन गरी पटक पटक भएका बार्तामा दिइएका आश्वासन पुरा नभएकाले भन्दै अब माग पुरा नभए सम्म आन्दोलन ससक्त पार्दै लैजाने चेतावनी पनि दिएका छन् ।दुग्ध उत्पादक कृषकले बिक्री गर्ने मुल्य र उपभोक्ताले दुध खरिद गर्ने मुल्यमा ठुलो अन्तर रहेको भन्दै उनीहरुले यो अन्तर १० रुपैयाँमा सिमित गर्नु पर्ने माग गरेका छन् । अहिले दुध उपभोक्ताले खुद्रा बजारमा प्रतिलिटर ५० देखि ६० रुपैयाँसम्म तिर्दै आएका छन् भने दुग्ध उत्पादक कृषकले औसतमा २८ रुपैयाँमा दुध बिक्री गर्दै आएको बताउँछन् ।

चितवन दुग्ध उत्पादक सहकारी संघ चितवनका अध्यक्ष रामहरि दुवाडीले अहिले चितवनका दुग्ध उत्पादक कृषकले दुध उत्पादन गर्दा प्रतिलिटर ३७ रुपैयाँ ४० पैसा लाग्ने भएपनि कृषकले २८ रुपैयाँमा बेच्नु परेकाले ३३ प्रतिशत मुल्यबृद्धीको माग राखेर आन्दोलन अगाडी बढाउन लागिएको जानकारी दिनुभयो । चितवनलाई तीन क्षेत्रमा बिभाजन गर्दै छुटटा छुटटै क्षेत्रीय समिति र छुटटा छुटटै संघर्ष समिति निर्माण गरी आन्दोलनको तयारी थालेको उहाँले जानकारी दिनुभयो । ब्यवसायिक दुग्ध उत्पादक कृषक समाजका अध्यक्ष आनन्द न्युरेले चारबर्ष अघिदेखि दुधको मुल्य नबढेपनि दाना र चापटको मुल्य दोब्बर भैसकेकाले अब दुधको मुल्यबृद्धीको बिकल्प नभएको बताउनुभयो ।

यस बिषयमा दुग्ध बिकास संस्थानलाई पटक पटक ध्यानाकर्षण गराएपनि फाईल मन्त्रालयमा पठाएको र मन्त्रालयबाट कुनै निर्णय नभए सम्म दुधको मुल्यबृद्धी गर्न नसकिने भन्दै झुलाई रहेकाले अब आन्दोलनबाट माग पुरा गरिने जानकारी दिनुभयो ।

मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीले आफूले अब सरकार हस्तान्तरणको तयारीमा रहेकाले नयाँ सरकार निर्माण भएपछि मात्र माग पुरा हुने जवाफ दिएको उहाँले बताउनुभयो । नेपाल दुग्ध उत्पादक सहकारी संघका पूर्व केन्द्रिय सदस्य एक नारायण पौडेलले २०४२ साल देखिनै कृषकहरु आफ्नो लागत अनुसारको मुल्यका लागि संघर्षमा रहे पनि अहिलेसम्म कृषकका समस्याको सम्बोधन हुन नसकेको बताउनुभयो । चनौली दुग्ध चिस्यान केन्द्र स्तरीय संघर्ष समितिका संयोजक तथा चितवन दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष शंकरराज राजभण्डारीले किसानले दुधको उचित मुल्य नपाउँदा चितवनमा दुधको उत्पादन घट्ने क्रममा रहेको दाबी गर्नुभयो । उहाँले माघ २४ गते जिल्ला प्रसासन कार्यालय मार्फत सरकारको ध्यानाकर्षण गराउने र फागुन १ गतेसम्म पनि आफूहरुको माग सम्बोधन नभए शसक्त आन्दोलनका कार्यक्रम अगाडी बढाउने चेतावनी पनि दिनुभयो ।

दुधको ३३ प्रतिशत मुल्यबृद्धी तथा उपभोक्ता र उत्पादकको मुल्यबीचको दुरी १० रुपैयाँमा सिमित गर्नु पर्ने सहित कृषकले १५ वटा माग अगाडी सारेका छन् । ब्यवसायिक पशुपालनमा संलग्न हुने कृषकलाई सात प्रतिशत ब्याजमा ऋण उपलब्ध गराउनु पर्ने, दुग्ध उत्पादक कृषकलाई परिचय पत्र उपलब्ध गराई दाना चोकर तथा औषधीमा सहुलियत प्रदान गर्नु पर्ने, बिभिन्न दाना उधोगबाट उत्पादित दानाको गुणस्तरको छड्ने निरिक्षण गर्नु पर्ने, पशु बिमाको प्रिमियमको थप २५ प्रतिशत रकम राज्यले अनुदानका रुपमा उपलब्ध गराउनु पर्ने, दैनिक पाँच सय लिटर दुध उत्पादन गर्ने एकल वा सामुहिक पशुपालन फार्मलाई निशुल्क चिस्यान मेसिन उपलब्ध गराउनु पर्ने उनीहरुको माग छ ।

दुध उत्पादनको लागत कम गर्न घाँसमा आधारित पशुपालन विकासका लागि प्रति बिगाहा बार्षिक ५० हजार अनुदान, मेशिनरी खरिदका लागि ५० प्रतिशत अनुदान, चितवन जिल्लामा कम्तिमा चार जना बिज्ञ पशु चिकित्सकको ब्यवस्था र पशुपालक कृषकको ज्ञान र क्षमता अभिबृद्धीका लागि बैदेशिक भ्रमणको ब्यवस्था समेत गराउनु पर्ने कृषकका माग छन् । चितवनमा दैनिक २ लाख लिटरको हाराहारीमा दुध उत्पादन हुँदै आएको छ । चितवनमा दुग्ध उत्पादन गर्ने कृषकले संचालन गरेका सहकारीको संख्या १ सय ४५ छ भने १० वटा भन्दा बढि पशु पालन गर्ने ब्यवसायिक दुग्ध उत्पादक कृषको संख्या १ सय ५१ छ ।
– मोहन बस्याल

रचनात्मक प्रतिक्रिया दिनुहोस् :