कृषि अनुदान नै लिदैनन् किसान

This post has already been read 298 times!

  • सुरजकुमार भुजेल

मकवानपुर, माघ २२  / मकवानपुरको व्यवशायिक कृषि प्रवद्र्धनको लागि सरकारले दिएको अनुदान सुविधा नै किसानले नलिएको पाइएको छ । कृषकको खेतबारीको माटो उर्वर बनाउनको लागि कृषि चुनको ढुवानी शुल्क सरकारले नै अनुदान दिने भनिए पनि किसानले सो सुविधा लिएका छैनन् ।

Agro money, Newsagro

उत्तरी मकवानपुरको ९ गाविस सेवाक्षेत्र रहेको कृषि सेवा केन्द्र पालुङमा सरकारले दिने अनुदानको लागि एउटा पनि अनुरोध नआएको केन्द्रका जेटिए मधुसुदन आचार्यले बताए । कृषि सेवा केन्द्र स्तरीय तथा अन्य भेटघाट र बैठकहरुमा जानकारी गराउँदा पनि किसानहरुले वास्ता नगरेको जेटिए आचार्यको भनाइ छ । 

जिल्ला कृषि विकास कार्यालय मकवानपुरले वि.सं. २०६९ सालबाट शुरु गरेको अनुदान जिल्लाका सबै गाविसले लिन सक्नेछन् । कृषक समूहमा आवद्ध कृषकहरुलाई मध्येनजर गरेर ल्यायएको अनुदान किसानले व्यक्तिगत रुपमा पनि सेवा केन्द्रमा अनुदानका लागि निवेदन दिन सक्छन् । अहिले तत्काललाई दुई ट्रक कृषि चुन ढुवानी अनुदानका लागि रकम भएको कृषि सेवा केन्द्र पालुङले जनाएको छ ।

केन्द्र प्रमुख महेश चौधरीले भने– ‘अनुदानका लागि अहिलेसम्म सिफरिस नै गर्न पाएनौं ।’ बजारमा ४ देखि ५ रुपियाँ प्रतिकिलो पाइने कृषि चुन प्रयोग गर्ने बानी नै नभएको प्रमुख चौधरीले बताए । २०/ ३० रुपियाँ किलो तरकारी बेच्ने किसान ४/५ रुपियाँ किलो पाइने चुन प्रयोग गर्दैनन्, कृषि प्राविधिकहरु बताउँछन् । गतवर्ष भने चित्लाङले साँढे ११ टन, बज्रबाराही गाविसका किसानले ६ टन तथा दामनको चर्तुमुखी महिला कृषक समूहले जम्मा २ टक कृषि चुन ढुवानी अनुदानका ल्याएका थिए । रसायनिक मलको सिफारिसको तुलनामा चुनको सिफारिस शुन्य नै रहेको कृषि सेवा केन्द्र पालुङको अभिलेख छ ।