जनशक्ति अभावमा एउटै गोरुले खेती

यो समाचार 193 पटक पढिएको

ताप्लेजुङ,  माघ २२ / घरमा दम्पतीमात्रै रहेको दोखु १ का दुर्गाप्रसाद गौतमले आफूसँग हल गोरु र जनशक्ति नभएकाले मकै छर्ने बाँझो जग्गा जोताउन सकेका छैनन् । पुस मसान्तसम्म जोताएर माघ पहिलो साता डल्ला फुटाउँदै छेउकुनाको बाँझो काँटाले खनेपछि बल्ल मल बोक्न तयारी हुन्छ ।डोकामा बोकेको मल पँजाएर पटाहा लगाउँदै माटो धूलो बनाएपछि मकै छर्न उपयुक्त बन्छ । छ हल गोरु लाग्ने उनका लागि यी सबै काम फत्ते गर्न कम्तीमा छ हजार रुपैयाँ खल्तीमा लिएर बस्नुपर्छ । त्यसमा पनि अरूको काम सकिएपछि बल्ल आफ्नो पालो आउँछ ।GoruNewsagroदुई सन्तानमध्ये छोरो झापामा बस्ने र छोरी विवाह गरेर गएपछि दम्पतीमात्रै भएका उनका लागि खेती निकै महँगो बन्दै गएको हो । विकल्पविहीन पेसा भएकाले कोही छिमेकीसँग मिलेर एक/एक गोरु पाल्ने मनस्थितिमा छन् ।

गौतमको घरबाट आधा घन्टा पैदलको साप्तेलका पारस बरालले अघिल्लो वर्षदेखि एउटामात्रै गोरुले जोत्न थालेका छन् । हल गोरु पाल्न नसकेका कारण खेतीको विकल्प खोज्न थालेका उनले चितवनमा एउटै गोरुले जोतेको समाचार रेडियोबाट सुनेर पत्रिकामा तस्बिर हेरेपछि त्यसको नक्कल गर्दै हलो बनाए । पहिला बाँसको भाटाबाट बनाएको हरिस भाँचिएपछि अहिले दुईतिर हाँगा भएको सिसौ हरिसका रूपमा प्रयोग गरेका छन् । आठ हलको बारी भएका उनी आफ्नो खेती उतार्न त्यही गोरुको प्रयोग गर्दैछन् ।

खोक्लिङकी लाक्पा शेर्पाले बेंसी किनारको खेत गत वर्षबाट आफैंले जोत्न थालेकी छन् । श्रीमान् विदेशिएपछि र गाउँघरमा जोत्ने मान्छे नपाएपछि हल गोरु नार्न बेंसीमा पुग्ने उनी आवाज ननिकालीकनै स्याप्प स्याप्प सिर्कनाले गोरु पिट्दै मेलो चलाउँथिइन् । छोराछोरी र आफ्नै पालनपोषणका लागि खेती स्थायी आम्दानी भएकाले हलो समाउने हिम्मत गरेकी उनले पछिल्लो समय जोत्नैका लागि कसैलाई गुहार्नुपरेको छैन ।

गोरु नभएका दोखु ९ का प्रेमसिंह तामाङले यो वर्ष पहिलोपटक हाते ट्याक्टर प्रयोग गरे । सदरमुकाम फुङलिङबाट चार किलोमिटरमा घर भएका उनले मेची राजमार्गमा गुडाउँदै ल्याए र २ दिनसम्म जोतेर पुर्‍याइदिए । तोक्मेका दिलकुमारलाई पहिलोपटक ‘परीक्षण गर्छु, काम दिँदोरहेछ भने किनेर लैजान्छु’ भन्दै ल्याएका उनका लागि मसिना गरामा जोत्न र उकाल्न ओराल्न निकै समस्या लाग्यो । कम्तीमा ५५ हजार मूल्य पर्ने ट्याक्टर उनका लागि अब अन्तिम विकल्प छ । ‘पहिला धेरै गोरु मरे, घाँस दिनु पनि परेन, दिनहुँ खानले मर्‍यो भन्नु पनि परेन, अब यही खरिद गर्नुपर्छ जस्तो छ,’ तामाङले भने, ‘घाँस दिनु पनि परेन, मर्छ कि भन्ने डर पनि भएन ।’

रचनात्मक प्रतिक्रिया दिनुहोस् :